‘पाहुना आउँदा दिनमा हजार/पन्ध्र सय खर्च हुन्छ’

बिहान सजिलो होस् भनेर श्रीमती बेलुकै दुध चिया बनाएर थर्मसमा राख्ने गर्छिन्

चैत्र १, २०८१

पदमकुमार विश्वकर्मा

``It costs a thousand/fifteen hundred a day when a guest comes''

ताप्लेजुङ — ताप्लेजुङको फुङलिङ नगरपालिका–९, हाङदेवामा जन्मिए पनि अहिले वडा नम्बर ८ को दोखुमा बसोबास छ । उमेरले ४९ वर्षको भएँ । घरमा श्रीमती सरस्वतीसित बसिरहेको छु । दुई छोरा र एकछोरी भने झापाको दुधेमा बस्छन् ।

दैनिकी गुजारा चलाउन पनि हातपाखुरा खियाउनु परिरहेको छ । ७ बजेभित्र काठको मुडाबाट चपरी निकाल्ने (भेनियर) ठाउँमा पुगिसक्नु पर्छ । त्यसैले सबेरै हातमुख धोएर चिया पिएपछि घरबाट निस्किन्छु । 

बिहान सजिलो होस् भनेर श्रीमती बेलुकै दुध चिया बनाएर थर्मसमा राख्ने गर्छिन् । चिया पकाउन र दही जमाउन भनेर दिनकै ७० रुपैयाँ तिरेर एक लिटर दुध किन्छौं । बिहान साढे ९ बजे घर आएर खाना खाइसकेपछि १० बजेसम्म काममा नफर्किए ज्याला काटिन्छ । दुई जनाका लागि साँझ–बिहान पुग्ने एक किलो चामललाई १ सय ३० रुपैयाँ पर्छ । दिउँसो २ बजे खाजा खाने समयमा सरस्वतीले कहिले साग हालेर चाउचाउ त कहिले भात भुटेर खुवाउँछिन् । कहिलेकाहीँ थुक्पा पनि खाइन्छ । दिनमा २५/३० रुपैयाँ खाजा खर्च लाग्छ ।

अम्मल नभए पनि साताभरिको ज्याला बुझेका दिन मदिरा किनेर खाँदा ५ सयजति खर्च हुन्छ । अघिपछि आफूलाई र पाहुनालाई सत्कारमा टक्र्याउन श्रीमतीले कोदो, चामल, मकै र खुँदो मिलाएर जाँड बनाउँछिन् । ५ किलो खुँदोको ३ सय ७५ रुपैयाँ छ । एक पाथी कोदोको दाम २ सय ५० र मकैको २ सय छ । जाँड बनाउन चाहिने मर्चा लगायतको हिसाब गर्दा एक पटकमा एक हजारको अन्न पकाउनु पर्छ । बुढाबुढीले सातामा एकदिन ५ सय तिरेर एक किलो मासु खाइन्छ । यसका अलावा चिनी, चिया रङ, मरिच, जिरा, मेथी, ज्वानु लगायत मसला दोकानबाटै ल्याउनुपर्छ । दुई रोपनी जमिनमा साग, आलु लगायत तरकारी फलाइन्छ ।

एक दर्जन साबुनको ५ सय रुपैयाँ पर्छ । काठका चपरी निकाल्दा लुगा मैलो हुने भएकाले हरेक दिन फेर्नुपर्छ । नुहाउने साबुनका लागि महिनाको ८० रुपैयाँ खर्च हुन्छ । पाहुना आउँदा मासु र तोङ्बा दिनैपर्ने प्रचलन छ । अचेल तोङ्बा नखाने तर रम या बियर चाहिने पहुना आउँछन् । एक दिनको पाहुना खर्च हजारदेखि १५ सय रुपैयाँसम्म हुन्छ । पाहुनाका लागि मिठोमसिनो पकाउँदा १ सय २५ रुपैयाँको एकपोका तेल ३/४ दिनमै सकिन्छ । 

छोरी–चेली, भान्जा–भान्जी आएर फर्किने बेलामा उनीहरूलाई खर्च दिने चलन छ । केही दिनअघि फिदिमबाट कान्छी दिदी आउँदा २ हजार बाटो खर्च दिएँ । दुई हजारको नयाँ कपडा दिएँ । भेनियरको काम महिनाभरिलाई चल्यो भने खर्च कटाएर त्यही दुइ/चार हजार बचाउँछु । बचत भएको पैसा छोरीलाई पठाउँछु ।

भेनियरवालाले पहिले दिनको १२ सय ज्याला दिन्थ्यो भने अहिले घटाएर हजार बनाएको छ । दैनिक एक हजारका दरले खुरुखुरु काम पाइने हो भने त महिनाको ३० हजार कमाइ हुन्थ्यो । तर, सधैं काम नहुने भएकाले कमाइको ठेगान छैन । अहिलेसम्म बैंक खाता खोलेको छैन । ज्याला मिल्ने बित्तिकै ल्याएर सरस्वतीको हातमा थमाइदिन्छु । 

प्रत्येक ६/६ महिनामा भेस्ट, सर्ट, पाइन्ट, जाँगे, कट्टु–गन्जी गरेर एक पटकमा पाँच/सात हजारको लुगा किन्नुपर्छ । गाउँ घरमा हुने विवाह, बर्खान्त लगायतमा दक्ष्िँणा, भेटीका लागि नगदै चाहिन्छ । त्यसका लागि एक हजार रुपैयाँ घरमा च्यापेरै राख्नु पर्छ । नाता सम्बन्ध, आफ्नो साइनो अनुसार २ सय ५० देखि एक हजार रुपैयाँसम्म यस्ता कार्यमा जाँदा लेखाउने चलन छ । 

पहाडमा पहिला हिँडेरै आउजाउ गर्दा खासै खर्च हुन्थेन । अहिले घरबाट सदरमुकाम फुङलिङ पुग्दा एकतर्फी अटो भाडा ७० रुपैयाँ लाग्छ । कहिलेकाहीँ अरू यात्रु भएनन् भने २/३ सय रुपैयाँ लिएर रिजर्भ गर्न लगाउँछन् । दिनहुँ काम हुँदा ऋण त लाग्दैन तर बचत पनि हुँदैन ।

छोराछोरी हुर्किसकेकाले पढाइमा खर्च छैन । एकपटक मजदुरी गर्न भनेर तराई झरेको थिएँ । त्यहाँ दिनको ज्याला आठ सय मिल्थ्यो । पहाडमा काठको काम गर्दा दैनिक दुई सय रुपैयाँ बढी ज्याला मिल्ने भएकाले गाउँ नै फर्किएको हुँ । दुःख गरेर भएको बचतले तीन वर्षअघि तीन लाख रुपैयाँमा दुई रोपनी जमिन जोडेँ । एक लाख जति खर्चेर त्यही जमिनमा घर बनाएँ ।  

प्रस्तुति : आनन्द गौतम  

पदमकुमार

Link copied successfully