घरको जेठो छोरो भएकाले ममाथि पारिवारिक दायित्व अलिक बढी छ
पर्सा — वीरगन्ज महागनरपालिका–२३ प्रसौनीवीर्तामा मेरो पुर्ख्यौली घर छ । अहिले ३९ वर्षको भएँ । वीरगन्जको पावरहाउस चोकमा ठेलामा तरकारी बेच्न लागेको पनि ३० वर्ष पुग्यो ।
यही पावरहाउस चोकमै मेरो जवानी बित्यो । पहिले बुवाले तरकारी बेच्नु हुन्थ्यो । उहाँलाई सघाउन आउन थालेपछि यही पेसामा मेरो पनि रस बस्यो । ९ वर्षमा २ कक्षामा पढ्दै गर्दा यस पेसामा लागेको थिएँ, कति छिट्टै समय बित्यो पत्तै भएन ।
बुवाको २ वर्षअघि मृत्यु भयो । आमा दमको रोगी र पत्नी मुटुरोगी छन् । पत्नीको गत माघ १० मा मात्रै सहिद गंगालाल अस्पतालमा ओपन हार्ट सर्जरी गरिएको हो ।
चार छोराछोरी छन् । जेठी छोरी हेल्थ असिस्टेन्टको दोस्रो वर्षमा पढ्दैछिन् । दुई छोराछोरी ९ कक्षामा पढ्छन् । कान्छो छोरो ७ कक्षामा पढ्छ । चारै जना छोराछोरीको पढाइमा मात्र मासिक १० देखि १२ हजार रुपैयाँ खर्च छ ।
बुवाका तीन छोरामध्ये जेठो भएकाले ममाथि पारिवारिक दायित्व अलिक बढी छ । दुई भाइ छुट्टिएर आ–आफ्ना बालबच्चा हुर्काउँदै छन् । म आमा र आफ्ना बालबच्चासहित छु । आमा बर्सेनि बिरामी पर्दा गाह्रो छ । उहाँको उपचार गराउँदा आर्थिक र मानसिक दुवै तनाव झेल्नु परिरहेको छ ।
३ सय ६५ दिन नै खोल्नु पर्ने पसल एक दिन पनि बन्द हुँदैन । जाडो, गर्मी, वर्षा, शीतलहर केही नभनी बिहान ५ देखि राति १० बजेसम्म तरकारी पसल चलाउनु पर्छ । व्यापार राम्रो चल्यो भने दैनिक ८ सयदेखि १ हजार रुपैयाँसम्म कमाइ हुन्छ ।
बुवा हुँदा उहाँको उपचार, आमाको उपचार, पत्नीको उपचार खर्च र घर व्यवहारमा समेत गरी ५ वर्षको दौरानमा मेरो टाउकोमाथि २० लाख रुपैयाँभन्दा बेसीको ऋणको भारी छ । सगोलमा १५ कट्ठा खेत छ । त्यसको उब्जनीले मुस्किलले भात–रोटी खान पुग्छ । तर नुन, तेल, मसलादेखि लत्ताकपडा र अन्य खुद्रा खर्चको भार त्यसभन्दा अति धेरै छ । बालबच्चा सातामा एक पटक भए पनि माछामासु खान रहर गर्छन् । त्यसमै मासिक २ हजारसम्म खर्च हुन्छ । मासिक कमाएको २५ देखि ३० हजार रुपैयाँले घरखर्च धान्नै गाह्रो छ ।
कुनै ठूलो व्यवहार वा औषधोपचार गर्न पर्दा ऋणको थप भारी नबोकी धरै छैन । सीमित कमाइले घर–व्यवहार चलाउनेदेखि मासिक रूपमा थोरै भए पनि ऋणको भार घटाउँदै जानुपर्ने पनि चिन्ता छ ।
घरखर्च चलाउन सहज हुन्छ भनी गाई पाल्ने गरेको थिएँ । दूध बेचेर राम्रो कमाइ होला भनी सपना देख्थेँ । २०७९ सालको कात्तिक महिनामा गोठमा आगलागी हुँदा चारवटा गाई जलेर मरे । गाईको बिमा गर्नुपर्छ भन्ने थाहा पनि थिएन । कतैबाट क्षतिपूर्ति पाउने कुरै भएन । मेरा लागि त त्यो अपूरणीय क्षति थियो । एउटा बाच्छी बाँचेको छ । त्यसैलाई हुर्काउँदै छु । कहिलेकाहीँ त गरिबको थाप्लोमा पीडामाथि पीडा मात्रै पो खप्टिने रहेछ कि भन्ने पनि लाग्छ ।
जीवन लामो छ । अझै छोराछोरीको पढाइदेखि बिहेवारीसम्मको सबै जिम्मेवारी बाँकी नै छ । आफूले पढ्न सकिएन । तर छोराछोरी पढेर ‘मान्ने मान्छे’ भएको हेर्ने तीव्र इच्छा छ । छोरीले स्वास्थ्यकर्मी बनेर अरुको उपचार गरेको हेर्ने ठूलो धोको छ ।
ऋणमाथि ऋण थपिँदै गएर त्यसको भारले कहिले थिचेर सिध्याउँछ कि जस्तो पनि लाग्छ । बिहानको खाना दिउँसो १ बजे र रातिको खाना राति १० बजे खानु मेरो ३० वर्षयताको दैनिकी हो । दिनरात गोरु जोतिएजस्तो जोतिएकै छु । ज्वरो त मेरा लागि कुनै रोग नै होइन । ज्वरोलाई पचाउँदै काम गर्नुपर्छ । कहिलेसम्म यसरी अथक मिहिनेत गर्ने हो, थाहा छैन । अनि कहिलेदेखि आराम होला, त्यो पनि थाहा छैन ।
प्रस्तुति : शंकर आचार्य
