‘पैसा नहुँदा छालाका जुत्ता बनाउने सीप खेर गयो’

काम निश्चित भए पनि दिनभरि जुत्ता–चप्पल सिएर यत्ति नै कमाइ हुन्छ भन्ने यकिन हुँदैन

चैत्र ६, २०८१

राजु सार्की

'Without money, the skill of making leather shoes was wasted'

कञ्चनपुर — भीमदत्त नगरपालिका–११ भुजेलामा मेरो बसोबास छ । ५५ वर्षको भएँ । कुनै दिन थकाइ लाग्यो भन्न पाएको छैन । हरेक दिन बिहान ९–१० बजे पुरानो साइकल चढेर महेन्द्रनगर बजार पुग्छु । दिनभरि मदन चोकमा बसेर जुत्ता–चप्पल सिउने काम गर्छु । साँझपख घर फर्किन्छु । 

मैले यो काम सुरु गर्ने बेला महेन्द्रनगर बजारको केन्द्र मदन चोकमा कतै पक्की त कतै कच्ची सडक थियो । त्यही बेलादेखि मदन चोकमा बसेर यस्तो काम गर्न थालेको हुँ । पहिले त सडक छेउमा मोचीहरूका लागि बस्न भनेर छाप्रो बनाइएको थियो । अहिले छाप्रो भत्काएपछि ओत लाग्ने ठाउँसम्म छैन । चर्को घाम र पानी परेका बेला धेरै समस्या हुन्छ । 

यो काम गर्न थालेको २० वर्ष भइसक्यो । त्यसैले मेरो काम निश्चित भए पनि दिनभरि जुत्ता–चप्पल सिएर यत्ति नै कमाइ हुन्छ भन्ने यकिन हुँदैन । त्यही दिनमा सरदर दुई/तीन सयसम्म आम्दानी हुन्छ । कहिलेकाहीँ २०/३० रुपैयाँ कमाइ भएका बेला निराश बनेर घर फर्किनुपर्छ । चोकमा आएपछि साथीहरूसित गफै गरेर भए पनि दिन कट्ने गर्छ । धेरथोर आम्दानीले घरखर्च चलाउन सजिलो भएको छ । 

ठेगानको जागिरजस्तो नभए पनि यही कामको भरमा श्रीमान्, श्रीमती र पाँच छोराछोरीका लागि दुई छाक खाना र नाना पुर्‍याइरहेको छु । सामान्य लेखपढ गरेका दुई छोरा र एक छोरी बेरोजगार छन् । यत्तिकै घरमा बसेका छन् । एक छोरी र एक छोरा भने सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्नातक तहअन्तर्गत पहिलो वर्षको प्रथम सेमेस्टरमा अध्ययन गरिरहेका छन् । छोराछोरीका लागि महिनामा ८/१० हजार शुल्कदेखि किताब, कापी र कलममा खर्च चाहिन्छ ।

हामीजस्ताका लागि सन्तान पढाउनु पनि सजिलो छैन । फेरि आफ्नो कमाइ नभएपछि रोजेको ठाउँमा ढुक्कसित पढाउन पनि सकिन्न । अहिलेको जमानामा छोराछोरीलाई शिक्षित तुल्याउनुपर्छ भनेर ऋणधन गरेरै भए पनि पढाइरहेको छु । बर्सेनि ऋण थप्दा थप्दै तिर्न नसकिने भइसक्यो । मेरो मात्र कमाइले नुन, तेल, साग, तरकारी र कहिलेकाहीँ छोराछोरीको कापी–किताबको खर्च जुटाउनै धौधौ हुन्छ । 

अहिले त २५ किलो चामलको मूल्य पनि २५ सय हाराहारी पुगिसक्यो । एकछाक हरियोपरियो तरकारी खान पनि सय/डेढ सय रुपैयाँ नभइ हुँदैन । साताभरि काम गरेर कुखुराको एक किलो मासु खान पनि ४/५ सय रुपैयाँ चाहिन्छ । नुनकै पोकाको २५ रुपैयाँ पुग्यो । नयाँ लुगा किन्ने कुनै तालिका छैन । सके दसैंका बेला फेर्ने हो, नत्र पुरानै लुगाले काम चलाउने हो । कहिलेकाहीँ लाज छोप्न टालेर पनि गुजारा चलाउँछु । थोरै जमिन भएकाले वर्षभरि धान र गहुँ किन्नु पर्दैन । 

जुत्ता–चप्पल सिलाउने काम गर्नुभन्दा अगाडि भारत गएर होटलमा भाँडा माझ्थेँ । त्यहाँ पनि राम्रो आम्दानी नभएपछि घरमै बसेर यही काम गर्न थालेँ । मैले समय मिले छालाका राम्रा जुत्ता पनि बनाउन सक्छु । तर त्यसका लागि लगानी चाहिन्छ । अहिने परिवारको दैनिक खर्चसमेत जुटाउन सक्ने अवस्था छैन । कहाँबाट लगानी जुटाउने ? 

अलिकति पैसा भयो भने कतै कोठा भाडामा लिएर छालाको जुत्ता बनाउन सुरु गर्ने थिएँ । त्यसमा बेरोजगार बसेका छोराहरूलाई पनि जोड्थेँ । त्यसपछि परिवारको आम्दानी बढ्थ्यो । मेरो सीप पनि काम लाग्ने थियो । तर अहिले यो सपनामात्रै भएको छ । यो कुरा सोच्दा सोच्दै बुढो भइसकेको छु । 

अहिले पनि हामी बस्ने सडक किनारमा बसोबासका लागि उचित व्यवस्था भइदिए राम्रो हुन्थ्यो । धेरै घाम लागे छाताको साहारा लिनुपर्छ । पानी परे पनि त्यस्तै छ । बर्खामा त बस्ने ठाउँ नभएर काम गर्नै गाह्रो हुन्छ । सरकारले हाम्रो बसोबासका लागि उचित व्यवस्था गरिदिए राम्रो हुन्थ्यो । 

प्रस्तुति : भवानी भट्ट

राजु सार्की

Link copied successfully