‘श्रीमान‍्को किरिया गर्दा लागेको ऋण तिर्न सकिनँ’

भूकम्प गएको वर्ष २०७२ फागुनमा श्रीमान् खस्नुभयो

चैत्र ५, २०८१

भुन्टिमाया बसेल

”I couldn't pay my husband's debt”

गोरखा — मेरो पुख्यौली थलो सहिद लखन–६, घैरुङको बास्कोट हो । ८० वर्षकी भएा । भूकम्प गएका वर्ष २०७२ फागुनमा श्रीमान् मते बसेल खस्नुभयो । हाम्रा तीन छोरा र चार छोरी हुन् । छोरीहरू विवाह गरेर आ–आफ्नो घर गए । जेठो छोरा मुन्थले पनि गोरखाको नाम्जुङमा गएर बसेको छ । माइलो छोरो भारतको पन्जाब गएको ३० वर्ष भइसक्यो । बावुको किरिया गर्न पनि फर्किएन, अत्तोपत्तो छैन । बुढेसकालको साहारा बन्ला भनेको कान्छो छोराको पनि तीन वर्षअघि मृत्यु भयो ।

अहिले घरमा म एक्लै छु । खेत नभएकाले पाखोबारीमा कहिलेकाहीँ मकै र कोदो लगाउँछु । बारीमा रोप्न सकेमात्र अलिअलि उब्जनी हुने हो । एक दिन गोरु जोताउन परे दुई हजार रुपैयाँ ज्याला लिन्छन् । पानी बोकेर पिउन नसक्ने अवस्थाकी म बारीको काम त कसरी गर्नु ? सरकारले दिने भत्ता बुझेपछि बारी जोत्न बोलाउँछु । भूकम्पले खरले छाएको घर भत्काएपछि त्यही जगमा नयाँ टहरो निर्माण गरे । भूकम्पपीडित भनेर सरकारले दिएको तीन लाख अपुग भएपछि घर अधुरै छ । जस्तापाता खप्टाएर छाडेकाले पानी परेका बेला चुहिन्छ । मझेरी चिसै हुन्छ ।

सरकारले दिएको रकममध्ये आधा त पुरानो घर भत्काउँदै सकियो । त्यसपछि ऋण धन गरेर ओत लाग्न मिल्ने मात्र बनाउँदा पनि चार लाख खर्च भयो । छिमेकी र छोरीसित लिएको ढाई लाखजति ऋण बाँकी छ । श्रीमान् रोगी हुनुहुन्थ्यो । महिनामा दुई/तीनपटक अस्पताल लैजानुपर्ने हुन्थ्यो । पैसा नभएकाले नियमित जँचाउन सकिनँ । रोगले थलिँदै गएपछि मेरो काखैमा बुढा खस्नुभयो । उहाँको उपचार र किरिया गर्दा एक लाख ऋण लाग्यो । गाउँले र छोरीसँग लिएको त्यहीँ ऋणको ब्याज पनि तिर्न सकेकी छैन । अब त आफैं भगवानलाई प्यारी हुने बेला भइसक्यो । 

दुईवटा माउ बाख्रा छन् । तिनले पाठा पाएपछि बेचेर गाउँघरबाट लिएको ऋणको सावा–ब्याज तिर्ने गरेको छु । तीन/तीन महिनामा १२ हजार भत्ता आउँछ । त्यसैले नुन, तेल चामल किन्ने हो । पाहुनापाछा आउँदा पसलबाट उधारोमा ल्याएको सामानको पैसा तिनुपर्ने भएकाले भत्ताको रकम पनि बुझेकै दिन सकिन्छ । छोरीहरूले लुगाफाटो किनेर ल्याइदिन्छन् । गाउँमा कान्छो छोराका साथीहरू विदेशबाट फर्किए भने हजार/पाँच सय दिन्छन् । एक्लै ज्यान भए पनि महिनामा १० हजार घरखर्च लाग्दो रहेछ । महिना दिनमा बिजुलीको ९० रुपैयाँ तिर्नुपर्छ । 

एक्लोपन हटाउन रेडियो, टीभी भइदिए हुन्थ्योझैं लाग्छ । त्यही किन्नलाई पैसा नभएकाले मूल्य पनि सोधेकी छैन । छोराछोरीले पढेनन्, जागिर छैन । म पनि प्रेसर र स्याँ–स्याँको औषधि खान्छु । नजिकै हेल्थपोस्ट भएकाले पैसा लाग्दैन । कहिलेकाहीँ पाता (हात) दुखेका बेला गोरखा अस्पताल जँचाउन जाँदा दुईदेखि ५ हजार खर्च हुन्छ । गाउँमा सहयोग मागेर गोरखा अस्पताल जान्छु । 

घरबारी बेचेर ऋण तिरेर यतै आउनूस् भनेर छोरीहरूले बोलाइरहेका छन् । तर, मलाई थातथलो छोड्नै मन लाग्दैन । घर बनाउँदा, बुढाको किरिया र उपचार गर्दा लागेको ऋण तिर्न पाए आनन्दले मर्न हुन्थ्यो जस्तो लाग्छ । तर, पैसा आउने बाटो छैन, कसरी तिरुँ ? उमेर छँदा पनि बेस्सरी दुःख खप्यौं । दुई माना कोदोका लागि पनि निबेक गर्न जानुपर्थ्यो । सधैं पैसाको अभाव हुँदा अरूकै मेलापात गरेर खाइयो । सबै परिवार साथै भएका बेला निबेकै गरेर खाँदा पनि मन आनन्दित हुन्थ्यो । 

प्रस्तुति : हरिराम उप्रेती

भुन्टिमाया

Link copied successfully