फलाम पिटेको आवाजले वरीपरीका मानिसलाई असर गरे पनि मेरा लागि यही काम सबथोक हो
सल्यान — कामकाजीबाहेक सल्यानको शारदा नगरपालिका–२, विश्वकर्मा टोलका बासिन्दा निद्रामै हुन्छन् । बिहान पाँच बजे नै आँखा नखुल्ने भएकाले मोबाइलमा अलार्म लगाएर सुत्ने गरेको छु ।
बिहान उठ्ने बित्तिकै हातमुख धोइवरी चिया पिउनासाथ दायाँबायाँ नसोची आरनतिर छिरेर आगो बाल्छु । गोल बलेपछि त्यस दिनका लागि अर्डरबजोजिमका खुकरी, खुडा, चुलेसी र चक्कु बनाउन थाल्छु । सबेरै फलाम पिटेको आवाजले वरिपरिका मानिसलाई असर गरे पनि मेरा लागि यही काम सबथोक भएकाले नगरी हुन्न । बिहान ९ बजेसम्म काम गरेपछि खाना खाएर एक घन्टा आराम गर्छु । त्यसपछि साँझसम्मै आराम हुँदैन ।
यसपालि ३६ वर्ष पूरा भएँ । गोलमा फलाम गालेर आकार दिएपछि आधुनिक मेसिन प्रयोग गरेर खुकुरी र खुँडामा धार लाउँछु । जति घोटिए पनि एउटा हतियार बनाउन दुई दिन त लागिहाल्छ । अचेल एउटा खुकुरी वा खुँडा बिक्री गर्दा २ हजार ५ सयदेखि ३ हजारसम्म कमाइ हुन्छ । बिक्री नभएका दिन खाली हात बस्नुपर्छ ।
पुर्खाबाट सिकेको काम गरेरै महिनामा त्यही ४० देखि ५० हजारसम्म आम्दानी गरिरहेको छु । आम्दानी अनुसारै खर्च पनि हुन्छ । महिनाभर दुःख गरेर भएको यही कमाइले बल्लतल्ल चार जनाका लागि घरखर्च धान्न पुग्छ । चार जनालाई खाने, बच्चालाई पढ्ने, बिरामी पर्दाको उपचार खर्च र दिनकै चाहिने खाद्यान्न जोहो गर्दैमा महिनामा ३० हजारभन्दा बढी खर्च भइहाल्छ ।
महिनामा चार जनालाई २ हजार ५ सयको एक बोरा चामल चाहिन्छ । ७ सय ५० रुपैयाँको तीन लिटर तेल चाहिन्छ । २५ रुपैयाँको एक किलो नुन लाग्छ । एक किलो दाललाई १ सय ५० देखि १ सय ६० रुपैयाँ पर्छ । सबैजसो तरकारीको प्रतिकिलो ८० देखि १०० रुपैयाँ हाराहारी मूल्य छ ।
फलाम गाल्न कोइला प्रयोग हुन्छ । एक ढ्वाङ कोइलाको ५० रुपैयाँ तिर्नुपर्छ । एक महिनामा ३० ढ्वाङ भन्दा बढी कोइला खर्च हुन्छ । बिहानदेखि बेलुकीसम्म काम गर्दाको थकान मेटाउन मासु र यसो एक/दुई चुस्की मदिरा लिनै पर्यो । छोराछारी स्कुल फिस, खानेपानी, बिजुलीको बिल लगायत तिरनतारन सकेर पनि महिनामा २० हजारजति बचत भए पनि अगडमबगडम र उपचार खर्च लगायतमा खर्च हुने भएकाले महिनामा यत्ति नै रकम जोगिन्छ भन्ने पनि छैन ।
गतिलो बास भएन भनेर खुकुरी, खुँडा, चुलेसी, हँसियाँ, चक्कु बिक्री गरेर जोरजाम गरेको पैसा र ऋणधन गरेर ७ लाखमा घर किनेँ । तर, मर्मत गर्दागर्दै १४ लाख खर्च पुग्यो । त्यसमध्ये १० लाख रुपैयाँ सम्झिएर रातभरि निद्रै लाग्दैन । यत्रो ऋण कसरी चुकाउने होला भन्ने सम्झिँदै घन ठोक्दै दिन कट्छन् । यही ऋणले गर्दा श्रीमती र छोराछोरी पनि चिन्तामा हुन्छन् ।
तत्कालीन माओवादी विद्रोहका कारण स्थानीय प्रशासनले खुकुरी बनाउन कडाइ गरेपछि पेसा धरापमा पर्यो । घरखर्च जुटाउन कठिनाइ भएपछि २०५७ सालमा पढाइ छाडेर १२ वर्षको उमेरमा साथीहरूसँग भारतको कालापहाड हान्निएँ । भारतका विभिन्न स्थानमा ६ वर्ष बसेर काम गर्दा बस्ने र खानेभन्दा केही कमाउन सकिनँ । मुलुकमा शान्ति स्थापना भएपछि २०६३ मा घर फर्किएदेखि यही पेसामा छु । पहिलाभन्दा खुकुरी र खुँडाको माग आइरहेकाले कमाइ राम्रै भए पनि पैसा बचाउन भने सकिएको छैन ।
प्रस्तुति : विप्लव महर्जन
