‘श्रीमती र छोराछोरीलाई पनि ऋणकै चिन्ता छ’

फलाम पिटेको आवाजले वरीपरीका मानिसलाई असर गरे पनि मेरा लागि यही काम सबथोक हो

चैत्र ३, २०८१

राजु विक

”Wife and children are also worried about debt”

सल्यान — कामकाजीबाहेक सल्यानको शारदा नगरपालिका–२, विश्वकर्मा टोलका बासिन्दा निद्रामै हुन्छन् । बिहान पाँच बजे नै आँखा नखुल्ने भएकाले मोबाइलमा अलार्म लगाएर सुत्ने गरेको छु ।

बिहान उठ्ने बित्तिकै हातमुख धोइवरी चिया पिउनासाथ दायाँबायाँ नसोची आरनतिर छिरेर आगो बाल्छु । गोल बलेपछि त्यस दिनका लागि अर्डरबजोजिमका खुकरी, खुडा, चुलेसी र चक्कु बनाउन थाल्छु । सबेरै फलाम पिटेको आवाजले वरिपरिका मानिसलाई असर गरे पनि मेरा लागि यही काम सबथोक भएकाले नगरी हुन्न । बिहान ९ बजेसम्म काम गरेपछि खाना खाएर एक घन्टा आराम गर्छु । त्यसपछि साँझसम्मै आराम हुँदैन ।

यसपालि ३६ वर्ष पूरा भएँ । गोलमा फलाम गालेर आकार दिएपछि आधुनिक मेसिन प्रयोग गरेर खुकुरी र खुँडामा धार लाउँछु । जति घोटिए पनि एउटा हतियार बनाउन दुई दिन त लागिहाल्छ । अचेल एउटा खुकुरी वा खुँडा बिक्री गर्दा २ हजार ५ सयदेखि ३ हजारसम्म कमाइ हुन्छ । बिक्री नभएका दिन खाली हात बस्नुपर्छ । 

पुर्खाबाट सिकेको काम गरेरै महिनामा त्यही ४० देखि ५० हजारसम्म आम्दानी गरिरहेको छु । आम्दानी अनुसारै खर्च पनि हुन्छ । महिनाभर दुःख गरेर भएको यही कमाइले बल्लतल्ल चार जनाका लागि घरखर्च धान्न पुग्छ । चार जनालाई खाने, बच्चालाई पढ्ने, बिरामी पर्दाको उपचार खर्च र दिनकै चाहिने खाद्यान्न जोहो गर्दैमा महिनामा ३० हजारभन्दा बढी खर्च भइहाल्छ ।

महिनामा चार जनालाई २ हजार ५ सयको एक बोरा चामल चाहिन्छ । ७ सय ५० रुपैयाँको तीन लिटर तेल चाहिन्छ । २५ रुपैयाँको एक किलो नुन लाग्छ । एक किलो दाललाई १ सय ५० देखि १ सय ६० रुपैयाँ पर्छ । सबैजसो तरकारीको प्रतिकिलो ८० देखि १०० रुपैयाँ हाराहारी मूल्य छ । 

फलाम गाल्न कोइला प्रयोग हुन्छ । एक ढ्वाङ कोइलाको ५० रुपैयाँ तिर्नुपर्छ । एक महिनामा ३० ढ्वाङ भन्दा बढी कोइला खर्च हुन्छ । बिहानदेखि बेलुकीसम्म काम गर्दाको थकान मेटाउन मासु र यसो एक/दुई चुस्की मदिरा लिनै पर्‍यो । छोराछारी स्कुल फिस, खानेपानी, बिजुलीको बिल लगायत तिरनतारन सकेर पनि महिनामा २० हजारजति बचत भए पनि अगडमबगडम र उपचार खर्च लगायतमा खर्च हुने भएकाले महिनामा यत्ति नै रकम जोगिन्छ भन्ने पनि छैन । 

गतिलो बास भएन भनेर खुकुरी, खुँडा, चुलेसी, हँसियाँ, चक्कु बिक्री गरेर जोरजाम गरेको पैसा र ऋणधन गरेर ७ लाखमा घर किनेँ । तर, मर्मत गर्दागर्दै १४ लाख खर्च पुग्यो । त्यसमध्ये १० लाख रुपैयाँ सम्झिएर रातभरि निद्रै लाग्दैन । यत्रो ऋण कसरी चुकाउने होला भन्ने सम्झिँदै घन ठोक्दै दिन कट्छन् । यही ऋणले गर्दा श्रीमती र छोराछोरी पनि चिन्तामा हुन्छन् । 

तत्कालीन माओवादी विद्रोहका कारण स्थानीय प्रशासनले खुकुरी बनाउन कडाइ गरेपछि पेसा धरापमा पर्‍यो । घरखर्च जुटाउन कठिनाइ भएपछि २०५७ सालमा पढाइ छाडेर १२ वर्षको उमेरमा साथीहरूसँग भारतको कालापहाड हान्निएँ । भारतका विभिन्न स्थानमा ६ वर्ष बसेर काम गर्दा बस्ने र खानेभन्दा केही कमाउन सकिनँ । मुलुकमा शान्ति स्थापना भएपछि २०६३ मा घर फर्किएदेखि यही पेसामा छु । पहिलाभन्दा खुकुरी र खुँडाको माग आइरहेकाले कमाइ राम्रै भए पनि पैसा बचाउन भने सकिएको छैन । 

प्रस्तुति : विप्लव महर्जन

राजु विक

Link copied successfully