‘एकातिर घर नभएको पीडा, अर्कोतिर ऋणको भारी’

७ वर्षअघि श्रीमान‍्को मृत्यु भएपछि घर–व्यवहारको जिम्मेवारी मैमाथि पर्‍यो

चैत्र ४, २०८१

सम्तोलिया सदा

”On the one hand, the pain of not having a house, on the other hand, the burden of debt”

सिराहा — मिर्चैया नगरपालिका–१०, मथिलेश्वर गाउँमा मेरो घर छ । ५८ वर्षकी भएँ । मेरा पाँच सन्तान छन् । चार छोरीको बिहे भइसक्यो । १३ वर्षको छोरा छ । ७ वर्षअघि श्रीमान‍्को मृत्यु भएपछि घर–व्यवहारको जिम्मेवारी मैमाथि पर्‍यो ।

श्रीमान‍्लाई मदिरा सेवन नगर्नूस् भनेर सम्झाउँदा पनि मान्नु भएन । त्यही लतले बिरामी परेपछि गाउँको क्लिनिकमा लगेर जचायौं । तर ठूलो अस्पताल पुर्‍याउन पैसा नभएकाले उहाँलाई बचाउन सकिएन । हामी गरिबलाई अस्पताल पनि सपनाजस्तो छ । बिरामी परेपछि घरमै सुतेर बिताउने हो । कहिलेकाहीँ घुर्मी बजारमा रहेको क्लिनिक गएर २–३ सयको औषधि किनेर खान्छु । 

श्रीमान‍्ले ट्याक्टर चलाएर भए पनि घरखर्च जुटाउनु हुन्थ्यो । उहाँ बितेपछि साथ र भरोसा टुट्यो, दुःख र कष्टमात्रै बच्यो । थपक्क बसेर मुखमा माड नलाग्ने भएपछि अचेल गाउँका मालिकका घरमा मजदुरी गर्न जान्छु । घर–घरमा काम गर्दा मिल्ने दिनको २/३ सयले घरखर्च चल्छ । कहिलेकाहीँ ज्यालामा पैसाको साटो धान, चामल, दाल पाइन्छ, चुल्हो बाल्न त्यसले भरथेग भइरहेको छ । 

खेतबारी नहुँदा उब्जनी केही नभएकाले सबैथोक किनेरै खानुपर्छ । एक दिनमा १ सय रुपैयाँ जति भान्छामै खर्च हुन्छ । मजदुरी गरेर कमाएको पैसाले जेनतेन दुई छाक पुगेकै छ । दाल–चामल किन्न धौ भएकाले राम्रो लाउने र मिठो खाने सोच नै आउँदैन । एक छोरी र दुई नातिनातिना पनि मैसित बस्छन् । नातिनातिनाले पसलबाट अरूले किनेर खाएको देखेपछि भुठो गर्छन । रोज उनीहरूले मागेको पुर्‍याउन सकिँदैन । कहिलेकाहीँ १०–२० रुपैयाँको मिठाइ किनेर भुलाउँछु । 

तीन वर्षअघि किनेको साडी २–३ ठाउँमा च्यातिए पनि लगाइरहेकी छु । गत साउनमा धान रोपेर पाएको ज्यालाले छोरालाई नयाँ लुगा किनेपछि फुरुङ्ग भयो । पैसा अभाव भएपछि गत दसैंमा नयाँ लुगा किन्न नसक्दा छोराले मन खिन्न बनाएको थियो । १ सय ३० रुपैयाँमा ८ महिनाअघि आफूले किनेको चप्पल पनि फाटिसक्यो । तीन महिनाअघि १ सय ८० रुपैयाँ हालेर छोरालाई चप्पल किनिदिएँ । 

आफ्नै नामको घडेरीमा सानो झुपडी छ । एक वर्षअघि सरकारले पक्की बनाइदिने भनेर भएको घर पनि भत्काइदियो । अहिलेसम्म नयाँ घर बनेको छैन । २०–२५ हजार खर्च गरेर काम चलाउ घर बनाउँ कि भनेर सोच्दासोच्दा ६ महिना बितिसक्यो । अहिले पाँचै जना झुपडीमा कोचिएर सुत्नुपर्छ । 

एकातिर घर नहुँदाको पीडा छ, अर्कोतिर ऋणको भारी छ । चार छोरीको बिहे गर्दा ७–८ लाख खर्च भएको छ । त्यतिबेला लागेको ऋण अझै चुकाउन सकेकी छैन । गाउँमा साहू–महाजनसित लिएको २ लाख ऋण अझै बाँकी छ । 

गाउँकै सरकारी स्कुलमा पढ्ने छोरा अहिले ४ कक्षामा पुग्यो । घरमा दुइटा बाख्रा र एउटा खसी छ । कहिलेकाहीँ खसी बिक्री गर्दा घर खर्चका लागि सहयोग मिल्छ । आफू मजदुरीमा जाँदा छोरा स्कूल नगएर बाख्रा चराउन जानुपर्छ । सरकारले पनि हामीजस्ताका लागि कहिल्यै केही सोचेन । नेताहरू चुनावमा ढोग्न आउँछन्, त्यसपछि मर्दा पनि, बाँच्दा पनि मुख देखाउन आउँदैनन् ।

गाउँमा पहिलाको जस्तो काम पाइन्न । महिनामा त्यही ८–१० दिन काम मिल्छ । पैसा नभएका बेला नजिकका मान्छेसँग सापट मागेर चलाउँछु । उमेर धेरै भएकाले त्यति काम गर्न पनि सक्दिनँ । छोराको उमेर भएपछि मजदुरी गर्न भारत वा खाडी मुलुक पठाउने सोचेकी छु । अब मेरो आशा भनेको यही एउटा छोरा हो । छोराले कमायो भने नरकजस्तो जीवनबाट मुक्ति पाउँछु कि ! 

प्रस्तुति : विनय आजाद

सम्तोलिया

Link copied successfully