पृथ्वीले भोगेका उथलपुथलकारी समयलाई वर्णन गर्न डेभिड एटन्बरोले पूरै जीवन खर्चिए, त्यसका लागि उनको टिमले महासागर, जंगल, टापु, पहाड र मरुभूमिहरूमा अनवरत यात्रा गर्यो ।
What you should know
काठमाडौँ — विश्वका चर्चित वृत्तचित्र प्रसारक तथा पर्यावरणविद् सर डेभिड एटन्बरोले सय वसन्त पार गरेका छन् । १००औं जन्मदिनका अवसरमा शुक्रबार उनले निर्माणाधीन ‘ब्लु प्लानेट थ्री’ शृंखलामा पनि स्वर दिन गइरहेको जानकारी दिए । लन्डनस्थित रोयल अल्बर्ट हलमा बेलायतका राजा चार्ल्स, युवराज विलियमसहित विश्व विख्यात व्यक्तिहरूको उपस्थितिमा उनको जन्मदिन मनाइएको थियो । एटन्बरोले जन्मदिनमा विश्वभरबाट प्राप्त शुभेच्छाले आफू निःशब्द भएको बताए ।
बेलायती टेलिभिजन बीबीसीको लोकप्रियतालाई विश्वभर फैलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । प्रकृति र पर्यावरणलाई औधी माया गर्ने एटन्बरो दमदार आवाजका लागि पनि चिनिन्छन् । उनले पृथ्वीले भोगेका उथलपुथलकारी समयलाई वर्णन गर्न पूरै जीवन खर्चिए । त्यसका लागि उनको टिमले महासागर, जंगल, टापु, पहाड र मरुभूमिहरूमा अनवरत यात्रा गर्यो । उनको टिमले तयार गरेका प्रकृतिसम्बन्धी गहन वृत्तचित्र वातावरण संरक्षणमा लाग्नेहरूका लागि प्रेरणादायी इतिहास बनेर बसेका छन् ।
एटन्बरोले सन् १९५८ मा बीबीसीले तयार पारेको नेपालसम्बन्धी वृत्तचित्र ‘ल्यान्ड अफ द गोर्खाज’ लाई पनि ‘न्यारेट’ गरेका थिए । बीबीसीले सन् १९५८ मा नेपालबारे तयार गरेको वृत्तचित्र ‘ल्यान्ड अफ द गोर्खाज’ मा उनले नै आवाजसहित ‘न्यारेट’ गरेका थिए । नेपाली परम्परागत समाज र जीवन देखाउने यो वृत्तचित्र अस्ट्रियाली मानवशास्त्री क्रिस्टोफ मोन फुरेर हेमिडर्फले खिचेका हुन् । यस्ता धेरै वृत्तचित्रलाई एटन्बरोले ‘न्यारेट’ गरेका छन् ।
सन् १९७९ मा बेलायती सञ्चारमाध्यम बीबीसीमा ‘लाइफ अन अर्थ’ शृंखला प्रसारणमा आएपछि उनको प्रसिद्धि चुलिएको थियो । नौ वटा कार्यक्रम समावेश यस शृंखलालाई झन्डै ५० करोड दर्शकले हेरेको बीबीसीको अनुमान छ । यी शृंखलाहरू छायांकन गर्दा उनी रुवान्डामा गोरिल्लाहरूसँगै बसेका थिए । बाँकी मानिसले निकै आक्रामक मान्ने गरेका ती गोरिल्लाहरू एटन्बरोसँग निकै विनम्र रूपमा प्रस्तुत भएका थिए । उनी धेरैपटक खतरनाक किराहरू बस्ने बासस्थानमा खाली खुट्टा हिँडेका थिए । उनले कहिले अन्टार्टिकाबाट पेन्गुइन त कहिले अफ्रिकाका मरुभूमिका जेब्राहरूसँग दर्शकहरूलाई साक्षात्कार गराए । कहिले जलचर, कहिले स्थलचर, कहिले वनस्पति त कहिले चराहरूबारे विश्वलाई जानकारी गराए ।
‘लाइफ अन अर्थ अहिलेसम्म भनिएको महान् कथा हो भन्ने मलाई लाग्छ किनकि यसले पृथ्वीमा जीवनको विकासलाई देखाउँछ,’ सन् २०२० मा अमेरिकी टेलिभिजन कार्यक्रम ‘सिक्स्टी मिनेट्स’ मा एन्डरसन कुपरसँगको अन्तर्वार्तामा उनले भनेका थिए । त्यस्तै उनले लाइफ शृंखलाअन्तर्गत क्रमशः द लिभिङ प्लानेट (१९८४), द ट्रेल्स अफ लाइफ (१९९०), लाइफ इन द फ्रिजर (१९९३), द प्राइभेट लाइफ अफ प्लान्ट्स (१९९५), द लाइफ अफ बर्ड्स (१९९८), द लाइफ अफ म्यामल्स (२००२–०३), लाइफ इन द अन्डरग्रोथ (२००५), लाइफ इन कोल्ड ब्लड (२००८) वृत्तचित्र निर्माण गरे । ‘लाइफ सिरिज’ भनेर पनि चिनिने यी ९ वटा शृंखलाले जीवको रूपान्तरण, व्यवहार र पर्यावरण चक्रबारे नयाँ–नयाँ तथ्यहरू बाहिर ल्यायो ।
एटन्बरोले यी सिरिजहरू वर्णन गर्ने काम मात्रै गरेनन्, क्यामरामा प्रत्यक्ष जोडिएर दर्शकहरूलाई विविध वातावरणबारे जानकारी दिए । दृश्यको उत्कृष्टता, दमदार आवाज र पृथक् न्यारेटिभले ती सिरिजहरूलाई कालजयी बनायो । यसमा बिरुवाको वृद्धि देखाउन टाइम–ल्याप्स सिनेमाटोग्राफी, जनावरको चाल–ढाल देखाउन स्लो–मोसन दृश्य, म्याक्रो सिनेमाटोग्राफी, समुद्रमा पानीमुनिको फोटोग्राफी र रातको क्रियाकलाप अभिलेख गर्न इन्फ्रारेड तथा न्यून–प्रकाश क्यामराहरूको प्रयोग गरिएको थियो ।
मानिसहरूले खतरनाक मान्ने जनावरसँग नजिकिन एटन्बरो कहिल्यै हिच्किचाएनन् । अरूले जोखिम मान्ने गरेका यी व्यवहारलाई उनी जीवनको उल्लासका रूपमा लिन्थें, जहाँ उत्साह र उत्सुकता मिसिएको छ । ‘१ सय वर्षको खुसियाली मनाउन पाउनु दुर्लभ हो । त्यसमा पनि धर्तीको रूपान्तरणलाई नजिकबाट नियालेर सय वर्ष बाँच्नु अति दुर्लभ हो,’ बेलायती राजकुमार विलियमले शुक्रबार एटन्बरोको जन्मदिनमा भने,‘तपाईंको असीमित उत्सुकता, विवेक र प्रतिबद्धताले हाम्रो आँखा खोलिदिएको छ । धर्तीको सुन्दरता र यसको कमजोरी उजागर गरेर तपाईंले यसको संरक्षणमा हाम्रो सामूहिक जिम्मेवारी रहेको स्मरण गराइदिनुभएको छ ।’
८ मे १९२६ मा लन्डनस्थित आयलवर्थमा जन्मिएका एटन्बरो लेस्टरमा हुर्किए । पिता फ्रेड्रिक त्यहाँ स्थानीय विद्यालयका प्राध्यापक थिए । आमा मेरी समाजसेवी थिइन् । जसले स्पेनी गृहयुद्ध र दोस्रो विश्वयुद्धताका शरणार्थी बालबालिकाहरूको संरक्षण र हेरचाहमा सक्रियता देखाइन् ।
एटन्बरोलार्ई सानैदेखि इतिहास र प्रकृतिमा रुचि थियो । उनले सन् १९४५ मा क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत क्लेयर कलेजको छात्रवृत्ति हासिल गरेर प्राकृतिक विज्ञान कार्यक्रमअन्तर्गत भूविज्ञान र जीव–विज्ञान अध्ययन गरे । दाजु रिचर्ड फिल्म मेकिङमा लागे र कालान्तरमा विश्व विख्यात अभिनेता तथा फिल्म निर्देशक बने । विश्व चर्चित सिनेमा ‘गान्धी’ को निर्माण र निर्देशन उनले नै गरेका थिए । त्यसका लागि रिचर्डले सन् १९८२ मा उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्रको ओस्कार अवार्ड हात पारेका थिए ।
सन् १९४७ मा प्रकृति विज्ञानमा स्नातकोत्तर गरेपछि डेभिड एटन्बरोले दुई वर्ष बेलायतको जलसेनामा सेवा गरे । सन् १९५२ मा बीबीसीको तालिम सकेपछि उनी त्यहाँ कर्मचारीका रूपमा निर्माण युनिटमा काम गर्न थाले ।
सरिसृपहरूको अध्ययनमा सक्रिय ज्याक लेस्टरसँग मिलेर उनले १९५४ मा ‘जु क्वेस्ट’ नामक टेलिभिजन शृंखला सुरु गरे । यसमा जंगली बासस्थान र चिडियाखानामा रहेका जीवित जनावरहरूलाई देखाइन्थ्यो । एटन्बरोको दमदार आवाज र आकर्षक प्रस्तुतिले यो कार्यक्रम चाँडै नै लोकप्रिय भयो । यसपछि बीबीसीका धेरै वटा शैक्षिक कार्यक्रमहरूमा उनले नै स्वरांकन गर्न थाले ।
सन् १९६५ मा बीबीसीले ‘च्यानल बीबीसी टु’ सञ्चालनमा ल्याएपछि एटन्बरो त्यसको कन्ट्रोलर बने । यस भूमिकामा रहँदा उनले ज्याकब ब्रोनोव्स्कीको ‘द एस्सेन्ट अफ म्यान’, केनेथ क्लार्कको ‘सिभिलाइजेसन’ जस्ता ऐतिहासिक सांस्कृतिक–शैक्षिक शृंखलाहरू तयार गरे । उनले यसक्रममा ‘मोन्टी पाइथन्स फ्लाइङ सर्कस’ जस्ता प्रभावशाली हास्य शृंखला पनि तयार गरेका थिए ।
उनी १९६८ मा बीबीसीमा टेलिभिजन कार्यक्रम निर्देशकमा बढुवा भए, तर टेलिभिजन शृंखला लेखन र अनुसन्धानमा ध्यान केन्द्रित गर्न भन्दै १९७२ मा राजीनामा दिए । त्यसपछि स्वतन्त्र रूपमा काम गर्दै उनले ‘लाइफ सिरिज’ मार्फत ९ वटा वृत्तचित्र बनाए । एटन्बरो छायांकनका क्रममा प्रत्यक्ष संलग्न रहन्थे र दुर्लभ जीवहरूका तत्कालीन व्यवहारहरू खिच्नका लागि लामो समय फिल्डमा प्रतीक्षा गरेर बस्थे ।
लाइफ सिरिजबाहेक ‘द ब्लु प्लानेट’ (२००१), ‘प्लानेट अर्थ सिरिज (२००१) ‘आर वी चेन्जिङ प्लानेट अर्थ (२००६) लगायत एटन्बरोका धेरै कार्यक्रम प्रख्यात छन् । ‘द ब्लु प्लानेट’ ले विश्वका महासागरहरूको पर्यावरण चक्रलाई देखाउन खोजेको छ । त्यस्तै, प्लानेट अर्थ शृंखलाले बदलिँदो धर्तीको तस्बिर देखाउँछ । यसको सफलतापछि सन् २०१६ मा उनले प्लानेट अर्थ टु पनि ल्याएका थिए । विश्वव्यापी तापक्रम वृद्धिलाई केन्द्रमा राखेर उनले ‘स्टेट अफ द प्लानेट’ (२०००) र ‘आर वी चेन्जिङ प्लानेट अर्थ’ (२००६) कार्यक्रम प्रस्तुत गरे ।
ब्लु प्लानेट टु (२०१७) मा उनले आवाज भरे । यसमा प्लास्टिक प्रदूषणले समुद्री जीवनहरूमा निम्त्याएको जोखिमलाई देखाइएको छ । यसबापत एटन्बरोले एमी अवार्ड पनि जिते । पछिल्लो पटक २०२४ मा एटन्बरोले ९८ वर्षको उमेरमा ‘एसिया’ निर्माण गरेका थिए ।
एटन्बरोले धेरै पुस्तक लेखेका छन् । केही पुस्तक उनका वृत्तचित्रमा आधारित छन् । केही संस्मरणात्मक पुस्तक छन् । जसमा, ‘लाइफ अन एयरः मेमोयर्स अफ ए ब्रडकास्टर’ (२००२), ‘एडभेन्चर्स अफ ए यङ नेचुरलिस्ट : द जु क्वेस्ट एक्सपिडिसन्स्’ (२०१७) र ‘जर्नी टु द अदर साइड अफ द वर्ल्ड : फर्दर एडभेन्चर्स अफ ए यङ नेचुरालिस्ट’ (२०१८) पर्छन् । एटन्बरोले आफ्नो सम्पूर्ण जीवन मानव गतिविधिले जोखिममा परेका वन्यजन्तु तथा बोटबिरुवाको संरक्षणका लागि पैरवी गर्नमा खर्चेका छन् ।
विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) स्थापना भएयता यो संस्थालाई विश्वव्यापी रूपमा फैलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । दशकौंसम्म यसको दूतका रूपमा उनले विभिन्न अभियानहरू सञ्चालन गरेर डब्लूडब्लूएफको सन्देशलाई विश्वभर पुर्याए । उनले सन् १९७३ देखि १९८२ सम्म बेलायत सरकारको नेचर कन्जर्भेन्सी काउन्सिलका सदस्यका रूपमा सेवा गरे । १९८५ मा नाइट उपाधिले विभूषित भएपछि उनको नाम अगाडि ‘सर’ जोडियो । उनले सन् २०२२ मा नाइट ग्रान्ड क्रस पदवी (दोस्रो नाइटहुड) प्राप्त गरे ।
एटन्बरोले आठ वटा बाफ्टासहित थुप्रै सम्मान र पुरस्कार प्राप्त गरेका छन्, जसमा पिबडी अवार्ड (२०१४) र तीन पटक प्राइम टाइम उत्कृष्ट प्रसारक एम्मी अवार्ड (२०१८, २०१९, २०२०) पनि समावेश छन् । २०२५ मा ९९ वर्षको उमेरमा ‘सिक्रेट लाइभ्स अफ ओरांगओटान्स’ (२०२४) का लागि उनले एम्मी अवार्ड जिते । एम्मीलाई टेलिभिजन प्रसारण क्षेत्रको ओस्कार अवार्ड मानिन्छ ।
धर्तीमा मानिस भरिभराउ हुँदा अन्य जीवजन्तु मासिँदै गएको उनको अनुभव छ । ‘मानिसले नवीकरणीय ऊर्जाको प्रयोग गरेर जीवाष्म इन्धनलाई घटाउँदा दिगो विकास र हानि कम हुन्छ,’ सन् २०२४ मा उनले भनेका थिए, ‘हामीले चाहँदा धेरै दुर्लभ वन्यजन्तुलाई जोगाउन सक्छौं । तर यसका लागि सबै तयार हुनुपर्छ ।’
(एजेन्सीको सहयोगमा)
