पशु–चौपाया बोलाईरहेका गुवाला, पछाडी रहेका साथीसंगी पर्खिरहेका बटुवा, मेलापात सकेर फर्किर्दै गरेका किसान अनि दौतरी पर्खिरहेका मान्छे आदीले यस्ता चौतारीहरु गुलजार हुन्थे कुनैबेला ।
What you should know
रुकुम पश्चिम — मुसिकोट नगरपालिका–१३ माछिमीका नदु खत्रीको स्मृतीमा अहिले पनि लेक–बेसी गर्दा बरपिपलका चौतारीमा सुस्ताएका अनि सुख–दुःख बिसाएका अनेकन् सम्झनाहरु ताजै छन् । तर समयको विकासक्रमसँगै गोरेटाहरू मासिएर सडक बन्न थालेपछि थकान मेटाउने चौतारी पनि हराउँदै गएका छन् ।
कुनैबेला माछिमीदेखी खलंगासम्मको करिब ५ किलोमिटर दुरीमै ९ वटा चौतारी भएको सुनाउँछिन्, खत्री । ‘ऊ बेला खुब लेकबेंसी गर्नुपर्थ्यो । प्रायः बसाई लेक (मुसिकोट–६ पोखरा) मा हुन्थ्यो । त्यहाँको मकै औल (माछिमी) र औलको धान बोकेरै लेक पुर्याउथ्यौं । बीचबीचमा पर्ने चौतारीमा भारी बिसाएर सुस्ताईन्थ्यो,’ विगत सम्झिँदै उनले भने, ‘चौतारीमा कोही न कोही साथी भैजान्थे । उसो त कोही बिरानो मान्छे भेटिए पनी चिनजान हुन्थ्यो । अनि भारी बोकाईको थकान त्यसै मेटिन्थ्यो ।’
यी ९ वटामध्ये अहिले मुस्किलले आधाउधी चौतारी पनि छैनन् । ‘गाउँबाट दुध, तरकारी र अन्नपात बेच्न सदरमुकाम जाने बेला विहान मिर्मिरे उज्यालो हुँदादेखी साँझ झिसमिसे अध्यारो नहुञ्जेल यी चौतारीहरु खाली हुन्थेनन् । तर अब ती चौतारी कहाँ ? हामी हिंड्ने बाटो कहाँ !’ रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटका जयबहादुर खत्री गाउँका उकालो–ओरालोमा चौतारी चिन्ने उहिलेको परम्परा मासिँदै गएकोमा खुशी छैनन् । ‘उहिले मृतक आफन्तको सम्झनामा चौतारो लगाउने चलन थियो । अनि गाउँलेहरू झारा–खारा (श्रमदान) गरेर पनि चौतारीहरु लगाईन्थ्यो । तर अब त यो सबै हराउँदै गयो ।’
उकाली–ओराली गर्दा सुस्ताउन होस् या मेलापात गर्दा भारी बिसाउन, यस्ता चौतारीहरु हाम्रो ग्रामीण जनजीवनको अभिन्न अंगका रुपमा रहेका छन् । तर पछिल्ला केही वर्षयता हाम्रो जीवनशैलीमा आएको बदलावसँगै चौतारीहरू मासिन थालेकोमा खासगरी अहिलेका पाका पुस्तालाई चिन्ता छ ।
कुनै पनि सार्वजनिक स्थल, गाउँघरको छेउकुना अथवा भारी बिसाउन लायकको कुनैपनि ठाउँमा बर–पिपलको बिरुवा रोप्ने उहिलेको चलन नयाँ पुस्ताले अवलम्बन नगरेकोमा जयबहादुरको दुःखेसो छ । उनी आफ्नै गाउँ रुकुमकोटमा पनि दर्जन बढी बर–पिपलका बिसौनीहरु भएको सम्झिन्छन् ।
‘तल शेराखेतदेखी रुमालबारासम्म पुग्दा १०–१२ वटा चौतारीका बिसौनी थिए । यी सबैमा दिनभरी कोही न कोही बस्थे, सुस्ताउँथे । तर अब त न ती बिसौनीहरु बिसौनी जस्ता रहे, न त्यहाँ बस्ने–रमाउने मान्छे नै भए,’ जयबहादुर थप्छन्, ‘सबैजना मोटर गाडीमा हुकिन थाले, चौतारीमा बस्ने, सुस्ताउने फुर्सद नै कस्लाई छ र ? हाम्रा पालामा त घरपछीको भेटिने ठाउँ नै यिनै बिसौनी हुन्थे । यहीं बसेर कति धेरै कामका कुराहरु गरिन्थ्यो । गाउँघरका झैं झगडा मिलाउनेदेखि सानोतिनो न्याय निसाफ नै छिनिन्थ्यो । अब त ति सबै सम्झना मात्रै भए ।’
पशु–चौपाया बोलाईरहेका गुवाला, पछाडी रहेका साथीसंगी पर्खिरहेका बटुवा, मेलापात सकेर फर्किर्दै गरेका किसान अनि दौतरी पर्खिरहेका मान्छे आदीले यस्ता चौतारीहरु गुलजार हुन्थे कुनैबेला । तर अब त भएकामध्ये धेरै मासिदै जान थालेका छन् भने भएकै चौताराहरुले पनि स्याहार पाएका छैनन् ।
‘चौताराहरु त कोहीले बाटो बनाउने निहुँमा त, कोहीले घरबारी बनाउने बहानामा नष्ट गरे । भएका केही चौतारीहरु पनि पहिलेका जस्तो गारो माटोले चिरिच्याट्ट पारिएको भेटिन्नन्, सिमेन्टका छन्, जुन सुहाउदो देखिन्न,’ मुसिकोट–१ का हेमराज श्रेष्ठ दुःखेको पोख्छन् ।
अहिले भएका चौतारीहरुको पनि मौलिक स्वरुप र सुन्दरता नाश हुँदै गएकोमा श्रेष्ठ चिन्तित छन् । चौतारीहरुलाई पहिले जस्तै गरी राख्न सकिने भएपनि सरकारले त्यसो नगरेर सिमेन्ट लगाएकोमा उनको आपत्ती छ । भन्छन् ‘समय पो बदलियो त, तर हामी हाम्रा चोक–चौताराहरुलाई पहिलाकै जस्तो गरी जोगाउन त सक्छौं नि ! गारो–माटो लगाएर च्याट्ट पारेपछी पुरानो सम्झना रहन्छ । यसरी सिमेन्ट लागाएर रंगरोगन गरेपछी झिल्के त देखिएला तर पुरानो सम्झना हुँदैन ।’
यस बिषयमा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले यस्ता चौतारी तथा विसौनाहरुको संरक्षणका लागी नगरपालिकाले कार्यक्रम नै बनाएर काम गरिरहेको बताएका छन् । ‘हामीले हरेक बर्ष पुराना चौतारीहरुको संरक्षण गर्नका लागी केही न केही काम गरिरहेका छौं ।’ उनि भन्छन् ‘भएका चौतारीहरुको मर्मत–सम्हार गर्ने देखी नयाँ ठाउँमा पनि यसको विकास तथा विस्तार गर्न लागेकै छौं ।’
तर चौतारीहरुको मौलिक स्वरुप दिन भने आफुहरु चुकेको उनले स्विकार गरेका छन् । सबैको सहजतालाई ध्यान दिएर सिमेन्ट लगाउने र रंगरोगन गर्ने काम गरिएका कारण यसको मौलिकतामा भने असर परेको उनको भनाई छ । ‘यसमा हामी चुकेकै छौं । तर अहिलेको अवस्था, सहजतालाई ध्यान दिने हो भने यही नै सही जस्तो लागेर यसो गरिएको हो । अब उप्रान्त चौतारीहरुका मौलिकता जोगाउने तर्फ पनि सोचिनेछ,’ नगर प्रमुख केसीले प्रतिवद्धता जनाए ।
उहिले चौतारामा हुने गतिविधी अहिले सामाजिक सञ्जालमा सरेको रुकुम पश्चिम बाँफिकोटकी गौरी देवकोटाको भनाई छ । ‘उहिले हामी साथी भेट्न भाका राख्ने ठाउँ, घरबाट निस्केपछीको थपालो (भेटिने ठाउँ) अनि सुख–दुःखमा भेला भएर मन हलुको बनाउने थलो नै चौतारी थियो । अब त यो सबैका लागी फेसबुक–टिकटक पो भएछ !’ उनि भन्छिन्, ‘देश–विदेश रहेका आफन्तदेखी छिमेकीसम्म यहीं (सामाजिक सन्जाल) भेटिने भएपछी चौतारासम्म जाने कष्ट कसले गरोस् ।’
तर चौतारामा लाग्ने शिरशरे बतास अनि गाउँघर नियाल्दै साथी आउने बाटोतिरै हेरेर बस्नुको आनन्द अहिलेको प्रविधीमा नभएको पनि देवकोटाको भनाई छ । ‘भाका राखेको समय भन्दा अघि पुगेसी ऊ आउने बाटोतिर आखाँ तानेर हेर्ने अनि ऊ देखिएपछी खुसीले फुर्किदै बस्ने मजा अहिलेको मोबाईलमा छैन,’ उनि थप्छिन्, ‘कहाँ यो मोबाईलको ट्वाङ–ट्वाङ् अनि कहाँ त्यो शितल चौतारीको भेट । दाँज्नै मिल्दैन नि हउ ।’
