नारायणगढको विरासत सम्झाउने चौतारो

जिमिन्दारीदेखि सामाजिक विषयका सबैजसो निर्णय र धार्मिक कार्यक्रमसम्म हुँदै आएको नारायणगढ बजारको पुलचोकनजिकको चाैतारामा अहिले मन्दिर र सामुदायिक भवन बनाएर संरक्षण गरिएको छ।

वैशाख २६, २०८३

रमेशकुमार पौडेल

A square that reminds us of Narayangadh's heritage

What you should know

चितवन — नारायणगढ बजारको व्यस्त क्षेत्र पुलचोकदेखि ३ सय मिटर तल पश्चिममा वरपिपलको एउटा चौतारो छ । ८७ वर्ष पुरानो यो चौतारोसँग नारायणगढ बजारको कथा त जोडिन्छ नै साथै यसको जरा र हाँगाबिगा आफ्नै नामको जमिनमा फैलिएको छ । साविक नारायणगढ ६ ‘क’को कित्ता नम्बर ५० यही चौतारोको जमिन हो ।

यो कित्तामा दुई कट्ठा चार धुर जग्गा रहेको नारायणगढमा विस १९९० सालदेखिका जिमिन्दार कालिदास खनालका छोरा वामदेवले बताए । नारायणी नदी नजिकको यो ठाउँमा कालिदासले नै चौतारो बनाउनुका साथै जग्गा पनि छुट्याएर राखेका थिए । ‘बुबाले हाम्रै जमिनभित्र चौतरो बनाउनु भयो । चौतारो बनेपछि जग्गा पनि छुट्याएर राख्दिनु भयो,’ वामदेवले भने ।

नारायणगढ ६ ‘क’को कित्ता नम्बर ५० को जग्गा चौतारो भनेर मालपोतको अभिलेख (ढड्डा)मा उल्लेख रहेको खनाल बताउँछन् । आफ्ना मातापिताले विस १९९६ सालमा दुई वटा वर र दुई पिपल रोपेर चौतारो चिनेको खनालले बताए । चार कुने चौतारोमा बसेर कालिदासले जग्गा जमिनसँग जोडिएका विषय र भैपरी आउने सामाजिक कामका बारेमा स्थानीयसँग छलफल र निर्णय लिन्थे ।

कालिदासको २००६ सालमा दम रोगका कारण निधन भयो । कालिदासका छोराहरु सानै भएका कारण त्यसपछि २०१३ सालसम्म नारायणगढका पुराना बासिन्दा डिट्ठा कमलप्रसाद श्रेष्ठले जिमिन्दारी सम्हाल्न सहयोग गरे । श्रेष्ठको समयमा पनि उर्दी, पुर्जी, जिमिन्दारी, कचहरी, मालपोत उठाउने भेला र अन्य सूचना फैलाउन यही चौतरो प्रयोग भएको वामदेवले सुनाए ।

२०१३ सालपछि कालिदासका छोरा श्रीहर्षले नारायणगढको जिमिन्दारको जिम्मेवारी सम्हाल्न सुरु गरे । भरतपुरमा २०१८ सालमा एउटा राजनैतिक घटना भएको थियो । तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसले हतियार उठाएको थियो । कांग्रेसको सशस्त्र समूहले त्यो बेला भरतपुर कब्जा गरेको थियो । तर लगत्तै सेना आएर विद्रोहीहरुविरुद्ध कारवाही सुरु गर्‍यो ।

कांग्रेसको अभियानमा लागेको आरोपमा श्रीहर्ष पक्राउ परे । वामदेव सानै थिए । छिमेकी मित्रप्रसाद उपाध्याय खनालले जिमिन्दारी चलाउन सहयोग गरे । मित्रप्रसादले पनि जिमिन्दारीका जे जति काम गर्नु पर्ने हो यही चौतारोमा आएर गर्थे । २०२१ सालदेखि वामदेवले नै नारायणगढको जिमिन्दारी चलाउन सुरु गरे । उनको मुकाम या अफिस सबै यही चौतारो बन्यो ।

यो चौतारो कालिदासले नै बनाएका थिए । तर उनैका छोरा श्रीहर्षविरुद्ध तत्कालीन पञ्चायती व्यवस्थाले गरेको कारवाही प्रक्रियाका सबै कागजात पनि यही चौतारोमा बसेर तत्कालीन सरकारका प्रतिनिधिले पूरा गरेको वामदेवले बताए ।

भरतपुर कब्जाको घटनामा संलग्न भएको आरोपमा तत्कालीन पञ्चायती सरकारले श्रीहर्ष खनालको ‘सर्वस्वहरण’ गरेको थियो । ‘दाइलाई सशस्त्र विद्रोहमा पक्राउ गरेपछि ६ वर्ष जेल सजायँ भयो । साथै उहाँको नाममा रहेको सबै जग्गा जमिन, घर–गोठमा भएका भाँडा, डोका, नाम्ला, भकारीको सवै अन्नपात चलनचल्तिमा रहेका सबै सामान जफत गर्ने भयो,’ वामदेवले भने । 

यो कामका लागि खटेका सरकारी कर्मचारीले यही चौतारोमा भेला राखेको उनी सुनाउँछन् । ‘प्रहरी कर्मचारी र जिमिन्दारी भित्रका सबैलाई चौतारोमा भेला गराइ सरकारी उर्दीको तामेली गराइ सबै सम्पत्ति रोक्का गरेको कागज तयार गरी उपस्थित सबेलाई साक्षी राखेर यही चौतारोबाट काम पूरा गरेका थिए,’ वामदेवले भने । 

जिमिन्दारको काम भनेको आफ्नो क्षेत्रभित्र रहेका जग्गाको मालपोत रकम उठाएर सरकारी कोषमा दाखिला गर्नु, सरकारले जारी गर्ने सूचना, आदेश जिमिन्दारीभित्र बसोबास गर्नेहरु समक्ष पुर्‍याउनु, सरकारका अन्य काम कारवाहीमा समन्वय र सहयोग गर्नुपर्ने हुन्थ्यो । अहिले भब्य सहरी इलाका भएको नारायणगढ पुलचोक क्षेत्रमा त्यो बेला स–साना केही घर मात्रै भएको उनले बताए ।

A square that reminds us of Narayangadh's heritage

फलेकले बारेका, खरले छाएका साना घरमा बसेर जिमिन्दारीका काम गर्न गाह्रो हुने भएपछि बुबाले चौतारो बनाएको वामदेवले सुनाए । जिमिन्दारीको जिम्मेवारी पूरा गर्ने स्थान मात्रै थिएन खनाल परिवारले यही चौतारोमा २०१८ सालमा ठूलो सप्ताह पुराण लगाएका थिए । नारायणगढ नदी किनार हुँदै २५/३० किलोमिटर परको पश्चिमको ग्रामीण भेग कालाबञ्जर, मेघौलीसम्म ओहरदोहर चल्थ्यो । त्यो भेगबाट बजार गर्न आउने सर्वसाधरण र गाडामा धान, मकै, तोरी, तिलका बोरा राखेर बेच्न आउने व्यपारी पनि बजारमा काम सकेर यही चौतारोमा आएर सुस्ताउँथे । 

जिल्लाको दक्षिणी भेग माडी क्षेत्रबाट यसै गरी नारायणगढ आउनेहरु पनि सुस्ताउन यही चौतारोमा पुग्थे । पुलचोक नजिक घरभएकी ८० वर्षकी सुभद्रा पोखरेलले यो चौतारो वरपर गाडाको हुल देखेकी छन् । ‘हामी यो ठाउँमा २०२२ सालमा आएको हो । आजभन्दा ६० वर्ष पहिले त्यो ठाउँ सुनसान जस्तै त थियो । तर गाडाको ताँती आएर त्यतै सुस्ताउँथे । चौतारोमा घैटामा पानी राखिएको हुन्थ्यो । बटुवाले पानी खान जाने ठाउँ कि सिधैं नारायणी थियो कि त्यही चौतरो,’ सुभद्राले सुनाइन् ।

माथि चराको हुल बस्ने र तल मान्छे सुस्ताउने निकै रमाइलो दृश्य हुने उनी सुनाउँछिन् । ‘चैत/वैशाखमा धर्मशाला बनाएर पानी बाँडे आफ्नो र पितृको उद्धार हुन्छ भनेर हामीले यसो गर्दथ्यौं । अक्षय तृतीयाका दिनमा जौको सातु र खुदो पानी यही चौतरोबाट वितरण हुन्थ्यो । त्यो दिन पण्डित र जोगीहरुलाई जुत्ता, छाता र कपडा दान गर्दथ्यौं,’ वामदेवले सुनाए ।

सरकारले २०२७ सालपछि जिमिन्दारी प्रथा खारेज गर्‍यो । चौतारो आडबाट खनालको परिवार पनि नयाँ ठाउँमा सर्‍यो । नारायणगढ बजार बढ्न सुरु भयो । बाटाहरु खुल्न थाले । घरहरु बढ्दै गए । नारायणी आडको यो बाटो र चौतारो बिस्तारै पछाडि गर्दै गयो ।

२०६७ मा चौतारो भत्कन थालेको देखेपछि वामदेवले आफु र भतिजा महाप्रसाद मिलेर मर्मत गरे । ढुङ्गाको गाह्रो र कंक्रिटको ढलान गरे । तर मान्छेहरु चौतारोमा झुम्मिने चलन हराउँदै गएको थियो । चौतारो भने झाँगिदै गएको थियो । ‘झ्याम्म परेर हुर्केको थियो । हावाहुरीले हाँगा लाच्ने डर थियो । अर्को तर्फ चौतरो र यसको जमिनको उपयोग सामाजिक हितमा गर्नका लागि पनि हामीले सोच्न थाल्यौं । मन्दिर र सत्तलसहितको संरचना थप्न खोज्यौं,’ वामदेवले भने ।

चाैताराे मर्मतका लागि स्थानीय नमुना चौतारी टोल सुधार समितिले यसमा अग्रसरता देखायो । अहिले त्यहाँ सिद्धेश्वर महादेव मन्दिर र दुई तले सामुदायिक भवन तयार भएको छ । ‘धार्मिक संस्कार, विवाह, व्रतबन्ध, पूजापाठ, रुद्री, होम भजनकीर्तन गर्न मिल्ने गरेर मन्दिर सत्तल तयार भएको छ । चौतारो आफ्नो ठाउँमा छ । यसले चौतरो जोगिने नै भयो । थपिएका मन्दिर र सत्तलले यो ठाउँ समाजसँग पनि जोडिने भयो,’ खनालले भने । मन्दिर र सत्तल बन्दा चौताराको फैलिएका हाँगाबिँगा छिमल्नु परेको छ । तर झण्डै ९० वर्ष पुगिरहेको चौतरोको हरियाली र छाहारी उस्तै छ । 

फिचर

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully