काठमाडौँ — सन् १९५५ मा आजकै दिन (अगस्ट २७) पहिलो पटक ‘गिनिज बुक अफ रेकर्ड्स’ प्रकाशित भएको थियो । नोरिस र रोस म्याकह्विर्टर दाजुभाइले प्रकाशन गरेको पुस्तक एक सय ९८ पेजको थियो ।
पुस्तकमा विभिन्न क्षेत्रका प्रगति र उपलब्धिसम्बन्धी विश्व रेकर्ड उल्लेख गरिएको थियो । उक्त पुस्तक बेलायतमा सोही वर्ष सर्वाधिक बिक्री हुने पुस्तक भएको थियो । त्यसको अर्को वर्ष अमेरिकामा प्रकाशित गरिएको पुस्तक ७० हजार प्रति बिक्री भएको थियो ।
‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ हाल एक सय देशमा विभिन्न ३७ भाषामा प्रकाशित हुन्छ । पुस्तकमा ५३ हजार विश्व रेकर्डबारे उल्लेख गरिएको छ । पुस्तक हालसम्म दस करोडभन्दा बढी प्रति बिक्री भइसकेको छ ।
