सोक्लामा रक क्लाइम्बिङ

पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको सहयोगमा भीमेश्वर नगरपालिका–२ स्थित सोक्लामा रक क्लाइम्बिङको पूर्वाधार तयार भएको हो । चार सय मिटर अग्लो बाँदर लड्ने भीरमा रक क्लाइम्बिङका लागि ३ वटा रुट तयार पारिएका छन् ।

भाद्र १०, २०८०

केदार शिवाकोटी

दोलखा — पदयात्राका लागि प्रख्यात दोलखा जिल्ला पछिल्लो समय साहसिक खेलहरूको गन्तव्यका रूपमा पनि स्थापित हुन थालको छ । खासगरी युवा पुस्तालाई साहसिक खेलमा आकर्षित गरी पर्यटनलाई विस्तार गर्नका लागि जिल्लाका युवावर्ग नै तातेका छन् । जसका कारण साहसिक खेलका पूर्वाधार निर्माण हुने क्रममा बढेको छ ।

त्यसैक्रममा दोलखा घुम्न आउने पर्यटकलाई लक्षित गरी भीमेश्वर नगरपालिका–२ मा जिल्लाकै पहिलो रक क्लाइम्बिङको पूर्वाधार तयार गरिएको छ । 

पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको सहयोगमा सोक्लामा रक क्लाइम्बिङको पूर्वाधार तयार भएको हो । ४ सय मिटर अग्लो बाँदर लड्ने सोक्ला भीरमा रक क्लाइम्बिङको पूर्वाधार तयार गरिएको सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताए । ‘सोक्ला भीरमा पर्यटकलाई साहसिक खेलमा आकर्षित गर्न रक क्लाइम्बिङ सुरु गरेका छौं,’ उनले भने, ‘साहसिक खेलमार्फत जिल्लाको पर्यटनमा नयाँ पूर्वाधार थपिएको छ, पर्यटकको बसाइ लम्बाउन र युवालाई आकर्षित गर्ने गरी थप प्रभावकारी बनाउने योजनामा छौं ।’ 

सोक्ला क्षेत्रलाई साहसिक खेल पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ सम्भाव्यता अध्ययन भएको थियो । अर्जुनकै अगुवाइमा सोक्लालाई साहसिक खेलको पर्यटकीय गन्तव्यका रूपमा चिनाउन रक क्लाइम्बिङ थालिएको हो । सोक्ला सदरमुकाम चरिकोटबाट करिब ८ किलोमिटर दूरीमा छ । तर, बत्तीमुनिको अँध्यारो भने जस्तै गाउँ पूर्वाधार र विकासमा निकै पिछडिएको । गत जेठ १८ र १९ मा सोक्लामा दुईदिने रक क्लाइम्बिङ महोत्सवसमेत आयोजना गरिएको थियो । महोत्सवमा सहभागी २ सय युवाले सोक्लाको भीरमा पहिलो पटक रक क्लाइम्बिङको अनुभव लिए । ४ सय मिटर अग्लो भीरमा २५ मिटर मात्रै रक क्लाइम्बिङका लागि तयार गरिएको छ । 

उक्त भीरमा २५/२५ मिटरका वटा रन सिंगल पिज तयार गरिएको छ । १० महिनाअघिदेखि अध्ययन गरेर सोक्लामा रक क्लाइम्बिङका लागि ३ वटा रुट तयार पारिएको छ । माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगान) प्राविधिक सहयोगमा सोक्लामा रक क्लाइम्बिङ स्थल तयार गरिएको हो । पहिलो पटक सोक्लामा साहसिक खेलमा रुचाउने युवाका लागि रक क्लाइम्बिङ तालिमको तयारी थालिएका पाख्रिनले बताए । २५ जना युवालाई सोक्लामा व्यावसायिक रूपमा तयार पार्ने गरी आउँदो महिना तालिम सञ्चालन हुने उनले बताए । ‘सोक्लामा आउँदो महिना व्यावसायिक क्लाइम्बर तयार पार्न तालिम गर्न लागेका छौं,’ उनले भने, ‘महिला क्लाइम्बर पनि उत्पादन गर्ने गरी काम अघि बढाइएको छ ।’ हाल २५ मिटर रहेको रक क्लाइम्बिङ एक सय मिटरको बनाइने गरी काम थालिएको उनले बताए । 

सोक्लाको भीरमा कम्मरमा डोरी बाँधेर चढनेहरूले पहिलो पटक रक क्लाइम्बिङ नौला अनुभव गरेको बताए । २५ मिटर कठिन पिजमा उक्लन निकै साहस गर्नुपरेको वासु श्रेष्ठले बताए । पहिला त यो भीरमा चढ्न सकिन्छ र भन्ने लागेको थियो,’ उनले भने, ‘तर डोरीको सहारामा निकै रोमाञ्चक तरिकाले चढियो, ओर्लंदा अझै माथिबाट कहाली लागे पनि साहस गरेर आर्लिए ।’ युवाहरू पछिल्लो समय नयाँ र साहसिक खेलमा आकर्षित भइरहका बेला जिल्लाको पर्यटनलाई गति दिन रक क्लाइम्बिङ थपिएकोमा अर्का युवा राजकुमार बस्नेतले खुसी व्यक्त गरे । उनले पनि पहिलो पटक सोक्लाको भीर उक्लेका हुन् । ‘मेरो पहिलो अनुभव हो रक क्लाइम्बिङ,’ उनले भने, ‘बाहिरतिर मात्रै हुन्छ भन्ने लागेको थियो तर जिल्लामै पहिलो रक क्लाइम्बिङ स्थल खुला भएको छ ।’ आधुनिक रक क्लाइम्बिङ गर्दा क्लाइम्बर कम्मरमा हार्नेस डोरी बाँधेर चढ्ने गर्छन् । अर्को दक्ष व्यक्तिले डोरीको सहायताले गाइड गर्ने गर्छन् । अनुभव नभएकालाई पहिलो पटक चढ्दा अपनाउनुपर्ने सुरक्षा र बाटोबारे पनि जानकारी गराइछ । निकै साहस लिएर चढनेहरूले नियममा बसेर समय अवधिमा क्लाइम्बिङ गर्नुपर्ने हुन्छ । 

आगामी दिनमा सोक्लामा रक क्लाइम्बिङको प्रतियोगिता पनि आयोजना गर्ने गरी भीरलाई तयार पार्ने काम भइरहेको भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताइन् । भीमेश्वरको पर्यटनलाई गति दिन प्राकृतिक रूपमा रहेका यस्ता स्थानको पहिचान गरेर थप अध्ययन भइरहेको उनको भनाइ छ । हामीले साहसिक खेल र पर्यटनलाई मुख्य योजनामा समेटेका छौं,’ उनले भनिन्, ‘सोक्लामा रक क्लाइम्बिङ, त्यही तल रहेको तामाकोसीमा र्‍याफ्टिङ र कालिञ्चोक नागदह साइक्लिइङ रुट तयार पारिसकेका छौं ।’ सोक्लालाई दक्षिण एसियाकै ठूलोमध्येको रक क्लाइम्बिङ स्थल बनाउने गरी योजना भइरहेको उनले बताइन् । 

सोक्लामा रक क्लाइम्बिङको अध्ययन गरिरहेका माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगान) अध्यक्ष सञ्जीव गुरुङले रक क्लाइम्बिङ नयाँ रुटहरू विकास गर्नुपर्ने बताए । ‘सोक्लाको भीरलाई ४ सय मिटरसम्मै चढने गरी तयार गरिए दक्षिण एसियाकै अग्लो रक क्लाइम्बिङ सकिन्छ,’ उनले भने, ‘यदि यसो गर्न सकिएमा यो खेलमा आकर्षित विदेशी पर्यटक नेपाल भित्र्याउन सहज हुन्छ । सोक्लाका स्थानीयको आयस्रोत बढाउन होमस्टेको अवधारण ल्याउनुपर्ने उनले बताए । पहिलो चरणमा २५ मिटर मात्रै तयार पारिएकाले छिट्टै बढाएर एक सय मिटर बनाइने अध्यक्ष अर्जुनले बताए । ‘यो वर्ष एक सय मिटरसम्मको पिज तयार पार्ने गरी काम थाल्छौं,’ उनले भने, ‘स्थानीय युवालाई रक क्लाइम्बिङको तालिम दिने र गाउँ रोजगारीको वातावरण बनाउने छौं ।’ विपद् व्यवस्थापन तालिमका लागि समेत सोक्ला रक क्याम्बिङ नयाँ स्थल बनेको छ । खासगरी नेपाली सेना, सशस्त्र र जनपद प्रहरीलाई विपद्जन्य घटनाका लागि तालिम गर्न उपयुक्त थलो बन्ने अर्जुनले बताए । यस्तै, भीमेश्वर घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन पनि रक क्लाइम्बिङ उपयुक्त हुने उनको भनाइ छ ।

युवा ग्यालरी

केदार

Link copied successfully