सल्यान — कालीमाटी गाउँपालिका–२ पुतलीबजारका कलबहादुर ओली विद्यालय पढ्दैदेखि अतिरिक्त क्रियाकलापमा अब्बल थिए । शुक्रबार हुने विभिन्न प्रतियोगितामा उनी सधैंजसो प्रथम वा द्वितीय हुन्थे ।
स्थानीय भाषा र वेशभूषा उनको रुचिको विषय हुने गर्थ्यो । गाउँघरमा बोलिने भाषाबाटै उनी आफ्नो प्रस्तुति दिन्थे । त्यही प्रस्तुति नै हाल उनका लागि स्थानीय भाषाको प्रचारप्रसार र संरक्षण गर्ने मुख्य आधार बनेको छ । विभिन्न ठाउँमा प्रस्तुति दिँदै जाने क्रममा उनी कलाकारितामा पनि सक्रिय भए ।
स्थानीय भाषा तथा वेशभूषा संरक्षणमा लाग्ने जिल्लाकै उनी हाल एक मात्र युवा हुन् । पछिल्नो समयमा पश्चिमा संस्कृतिको प्रभाव यति परेको छ कि गाउँ छाड्ने अधिकांशले आफ्नो स्थानीय भाषा तथा वेशभूषा बिर्संदै गएका छन् । उनी एक्लै भए पनि टाउकोमा पगरी, लपेता दौरासुरुवाल, इस्टकोट लगाएर स्टेज चढ्छन् र स्थानीय ठेट भाषामा बोल्छन् । त्यसका साथै उनले फेसबुक युट्युब, टिकटकलगायतका सामाजिक सञ्जाल तथा विभिन्न टेलिसिरियल मार्फत पनि उही भाषा र वेशभूषाको प्रचारप्रसारमा छन् ।
‘गाउँघरमा अग्रजहरूले स्थानीय ठेट भाषामा बोलेको सुन्दा अचम्म लाग्थ्यो । जसका कारण मैले पछि त्यही भाषा सिकें,’ उनले भने । तर पछि अध्ययनका क्रममा कार्यक्रममा सहभागी हुन नपाएपछि भने उनको बाल्यकालदेखिको चाहना रोकिएको थियो । तर २०७२ सालदेखि भने विभिन्न महोत्सव तथा स्टेज कार्यक्रममा सहभागी हुने अवसर मिलेपछि भने उनी निरन्तर सक्रिय छन् । ‘मेरो प्रस्तुति युवापिँढी कम मन पर्न सक्छ । तर मेरो एक मात्र लक्ष्य आफ्नो गाउँठाउँको स्थानीय भाषा तथा वेशभूषा संरक्षण गर्नु र प्रचारप्रसार हो,’ उनी भन्छन् ।
सल्यानको स्थानीय ठेट भाषामा बाबुलाई बा, आमालाई ज्यै भनिन्छ । मान्छेलाई मान्ठ, ज्वानौ, महिलालाई सञ्चरी, बिहानलाई छकाल, तरकारीलाई तिउन, हिजोलाई बेली, साँझलाई बास, ढिलालाई अबेला, पिँधलाई टिटको, सिरानलाई घारी, माथिलाई उम, तललाई उद, खानालाई खर्च, खुर्सानीलाई पिर्या, मिर्चा भन्ने गरिन्छ । ‘यस्तो भाषा अझै पनि गाउँघरमा बूढापाकाले प्रयोग गर्छन्,’ उनले भने, ‘तर सहर गएकाले बिर्सिसकेकाले उनीहरूमाझ सुनाउने मेरो प्रयास हो ।’
कलाकारिताबाट जीविकोपार्जनमा कठिनाइ भएपछि उनले हाल ६ रोपनी जग्गा भाडामा लिएर तरकारी खेतीसमेत गर्दै आएका छन् । काठमाडौंको कागेश्वरी मनहरा–२ गागलफेदी बस्दै आएका भए पनि उनी विभिन्न महोत्सवमा सामान्य शुल्कमा सहभागी हुन्छन् । कहिलेकाहीँ त उनले निःशुल्कसमेत प्रस्तुति दिने गरेका छन् । उनी हाल राष्ट्रिय तथा लोकदोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशको सदस्य, नेपाल सांस्कृतिक संघको अध्यक्ष र राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षसमेत हुन् ।
