बुटवलमा ‘क्लब कल्चर’

नाइट क्लब सञ्चालनमा आएसँगै बुटवलमा रात्रिकालीन माहोल तात्न थालेको छ । राति ८ बजेपछि खुल्ने क्लबमा मध्यरातसम्म स्थानीय युवा र प्रौढले चाहेअनुसार रमाइलो गर्न पाएका छन् ।

भाद्र ७, २०८०

सन्जु पौडेल

लुम्बिनी — बुटवल–११ की २२ वर्षीया रचना क्षत्रीलाई रात्रिकालीन समयमा क्लब पुगेर रमाइलो गर्ने बानी नै लागेको छ । केही समयअघिसम्म रेस्टुरेन्ट र क्याफेमा नियमित जाने उनी पछिल्लो समय भने रात्रि क्लबको रमाइलोमा भुल्न थालेकी छन् । क्लबमा खुलेर नाचगान गर्दा मुढ फ्रेस हुने गरेको उनको भनाइ छ ।

‘दिनभरि काममै व्यस्त भइन्छ,’ उनले भनिन्, ‘साँझ परेपछि नृत्य र संगीतले आनन्द मिल्छ ।’ पहिले बुटवलमा क्लब खुलेका थिएनन् । त्यसैले ‘नाइट लाइफ’ पनि थिएन । साताको कम्तीमा एक पटक क्लबमा जाने गरेको बताउँछिन् उनी । पुराना साथीले त्यति चासो नदिने भएकाले पाँच महिनायता साथीसमेत फेरिएको उनले बताइन् । क्लबबारे आफ्नो नकारात्मक सोच परिवर्तन भएको उनको अनुभव छ । ‘मलाई त झगडा मात्रै हुन्छ होला, अभिभावकले राम्रो मान्दैनन् जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘अबेरसम्म नबस्ने, पेय पदार्थ सेवन नगर्दा पनि खुसी हुन सकिने स्थान रहेछ ।’ 

सिद्धार्थनगर–७, का सर्भेस खनाल पनि क्लबका रेगुलर ग्राहक हुन् । उनलाई क्लब जाँदा कस्तो आभास हुन्छ भन्ने जिज्ञासा मेट्नकै लागि पहिलो पटक क्लब गएको सम्झनयोग्य क्षण लाग्छ । अन्य देश र नेपालका पनि काठमाडौं, पोखरा जस्ता सहरमा क्लब कल्चरबारे सुनेका उनले पनि फरक अनुभव गरेको बताउँछन् । ‘म मदिराजन्य पेय पदार्थ त पिउँदिन, तर क्लब जान मनपर्छ,’ उनले भने, ‘क्लबमा भएका अपडेट, त्यहाँ आउने मानिसका क्रियाकलापबारे अध्ययन गर्न क्लब जान्छु ।’ क्लबलाई रिसर्च सेन्टर मानेको उनले बताए । ‘यसबारे लेख्नभन्दा पनि व्यावसायिक मानिस भएकाले कुन व्यवसाय कसरी चलिरहेको छ भन्ने बुझ्न चाहन्छु,’ उनले भने ।

क्लब जाने मानिसलाई समाजले नकारात्मक रूपमा बुझ्ने भएकाले क्लब संस्कृति सोचेजस्तो विकसित हुन नसकेको उनको बुझाइ छ । ‘सामाजिक चेतनामा परिवर्तन भए क्लब कल्चर विकास हुन्छ,’ सर्भेसले भने ।

बुटवल–१३, बेलबासकी मलिशा क्षत्री पनि क्लब जाँदा रमाइलो लाग्ने बताउँछिन् । ३१ वर्षीया मलिशा भने नृत्यको सौखले पुग्छिन् क्लब । ‘रेस्टुरेन्ट जानेले खानाको मजा लिन्छन्,’ उनले भनिन्, ‘जसलाई खुलेर बाँच्न मन लाग्छ, उसलाई क्लब ठीक हुन्छ ।’ उनले त्यहाँ जाने युवतीको पहिरन, उनीहरूको अनुहारको मुस्कानले समेत बेग्लै खालको अनुभूति दिलाउने बताइन् । क्लब जानेबित्तिकै चरित्र नराम्रो छ भन्ने मान्यता मेट्न जरुरी रहेको उनको भनाइ छ । मलिशाले आफ्नो पैसा खर्च गरेर रमाउन चाहने मानिसले अरूले के भन्छ भन्ने सोच्न नपर्ने बताउँछिन् । 

बुटवलको कालिकापथमा अहिले तीनवटा नाइट क्लब सञ्चालनमा छन् । तिनमा ग्राहकको अभाव हुँदैन । साँझ नपर्दै स्थानीय युवा र प्रौढ झुम्मिसकेका हुन्छन् । राति ८ बजेपछि खुल्ने क्लबमा मध्यरातसम्म रमाइलो हुन्छ । कालिकापथको तीन किलोमिटर क्षेत्रमा रेस्टुरेन्ट र क्याफे छन् । रेस्टुरेन्टसँगै क्लब कल्चर सुरु भएपछि ग्राहकले रोजेर रमाइलो गर्न पाएका छन् । यहाँका क्लबमा झिलीमिली बत्ती, लाइभ म्युजिक प्रस्तुत गरिरहेका कलाकार, डिजे सिस्टम उपलब्ध छन् । फ्लोरमा सर्वसाधारण झुमिरहेका देखिन्छन् । पहिले काठमाडौं र पोखरा गएर रमाउनेहरू यहीं क्लब खुलेपछि खुसी मिलेको छ । क्लबमा प्रस्तुति दिन नाम चलेका कलाकार आउने दिन पाइला टेक्ने ठाउँ नहुने सञ्चालकहरू बताउँछन् । 

१८ वर्षभन्दा कम उमेर समूहकालाई प्रवेश निषेध गरिएकाले युवा र प्रौढको भीड लाग्ने गरेको छ । बुटवलमा क्लब कल्चरलाई ‘द कन्सेप्ट पब’ ले संस्थागत गरेको हो । करिब ६ वर्षअघि खुलेको क्लबमा ग्राहकको भीडभाड अन्यको तुलनामा बढी छ । स्थानीय पाँच युवाले करिब ४ करोड रुपैयाँ खर्चेर कालिकानगरमा सञ्चालन गरेको क्लबले ४० जनालाई रोजगारी दिएको छ । दैनिक ४ सय ग्राहकले लाइभ म्युजिक र डिजेमा रमाइलो गर्ने गरेका सञ्चालक अतीत थापाले बताए । ‘सहरमा क्लब खुल्नु स्वाभाविक हो,’ उनले भने, ‘सहरीकरणसँगै क्लबले बुटवलमा रात्रिकालीन जीवन सुरु गराएका हुन् ।’ क्लबमा यहाँका सर्वसाधारणको आकर्षण देखेर उत्साहित बनाउने गरेको उनले बताए । बाउन्सर र निजी सुरक्षाकर्मी राखेर क्लबमा सुरक्षित वातावरण बनाउने गरेको उनको दाबी छ । तर प्रहरी प्रशासनबाट आवश्यक र तत्काल सहयोग नहुँदा कहिलेकाहीं समस्या हुने गरेको भने उनी स्विकार्छन् । 

गत चैतदेखि बुटवल–११, कालिकानगरमा खुलेको ‘लर्ड’ क्लब सर्वसाधारणको अर्को गन्तव्य बनेको छ । क्लब सञ्चालनमा आएसँगै ढिलै भए पनि ग्राहकले छनोटको अवसर पाएका छन् । लर्डले छोटो समयमै ग्राहकको मन जितेको क्लबका अपरेसन म्यानेजर राज थापाको दाबी छ । आफूहरूले ग्राहकलाई प्रदान गर्ने मनोरन्जनात्मक सांगीतिक माहोलले आकर्षण वृद्धि गरेको उनले बताए । करिब ८ करोड रुपैयाँ लगानीमा पाँच युवाले यो क्लब सञ्चालन गरेका हुन् । यसमा २० जना कर्मचारी छन् । क्लबमा तीनवटा बारसहितको डान्सिङ फ्लोर छ । ‘हाल क्लबमा शुक्रबार र शनिबार लाइभ ब्यान्डको प्रस्तुति रहने गरेको छ,’ उनले भने, ‘केही दिनपछि हामी सातै बार लाइभ ब्यान्ड राख्ने तयारीमा छौं ।’ तर लगानी अनुरूप अझै पनि रात्रिकालीन व्यवसाय प्रवर्द्धन नभएको उनको दुखेसो छ । ‘पाहुना राति अबेरसम्म झुम्न चाहन्छन्,’ उनले भने, ‘क्लबमा आउने समय ११ बजे, जाने समय १ बजे हुँदा ग्राहक असन्तुष्ट हुन्छन् ।’ 

बुटवल–९, तीनकुनेमा सञ्चालनमा आएको ‘प्लान बी’ नाइट क्लबका ७ जना सञ्चालक छन् । एक महिनादेखि सेवा प्रदान गरिरहेको क्लबमा महिला र पुरुष प्रवेशद्वार, चेकिङ प्वाइन्ट र निस्कने ढोका पनि फरक रहेको सञ्चालक सुरेश श्रेष्ठले बताए । छोरा र उनका साथीको रुचिअनुसार खुलेको क्लबमा १५ करोड रुपैयाँ बढी लगानी पुगेको उनले बताए । ‘पूर्वाधार तयार गरेर सुरु गर्ने बेलामा आगलागी भएर क्षति भयो,’ उनले भने, ‘पुनर्निर्माण गरेर सञ्चालन गर्दा लगानी बढेको हो ।’ क्लबको संरचना ठूलो रहेको उनले बताए । ‘७० जना कर्मचारी छन्, उनले भने, ‘पहिलो तलामा डान्स फ्लोर, बार र सिटिङ एरिया छ भने दोस्रोमा पनि भीआइपी सिट, डान्स फ्लोर तथा बार सुविधा छ ।’ क्लबमा प्रवेश गर्न ५ सय टिकट दर राखिएको छ । त्यसमा एक बोतल पेय पदार्थ दिने गरिएको छ । 

श्रेष्ठका अनुसार क्लब खुलेबाट विभिन्न कलाकार आएर प्रस्तुति दिइसकेका छन् । विशेष कार्यक्रम गर्दा ८ सयदेखि १ हजार ५ सयसम्मको टिकट लाग्ने उनले जानकारी दिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि आउने आन्तरिक तथा बाह्य पर्यटक र सीमा नजिकका भारतीय पर्यटक लक्षित क्लब रहेकाले पर्यटकको पर्खाइमा रहेको उनले बताए । ‘हामीले यहाँका ग्राहक त पाएका नै छौं,’ उनले भने, पोखरा, काठमाडौं जाने र क्लबमा पस्ने मानिसलाई बुटवल सहरमै राम्रा क्लब छन् भन्ने उदाहरण ‘प्लान बी’ले दिन चाहन्छ ।’ क्लब सञ्चालन गर्ने विषय सहज नभए पनि पर्यटकीय सहरमा क्लब सञ्चालन हुनुले रूपन्देहीमा हरेक क्षेत्रको विकास भइरहेको पहिचान मिलेको उनले बताए । 

व्यवसाय सञ्चालन उद्देश्यबिना नगरिने भएकाले सरकारलाई कर तिर्ने गरी खुलेका व्यवसाय नीति नियममा चलेमा संस्कृति विकास हुँदै जानु सकारात्मक भएको नेपलिज योङ इन्टरप्रिनियर्स फोरम (एनवाईईएफ) रूपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठको भनाइ छ । रात्रिकालीन व्यवसाय नाइट क्लबमा लगानी गर्ने तथा त्यहाँ जाने दुवै मानिसले आफू सामाजिक प्राणी हो भन्ने विषयलाई ध्यानमा राख्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘रमाउन पाउने अधिकार हरेक नागरिकलाई छ ।’ 

युवा ग्यालरी

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully