काठमाडौँ — सन् २०११ मा आजकै दिन (अगस्ट २४) स्टिभ जब्सले एप्पल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएका थिए ।
एप्पल कम्पनीका सहसंस्थापक जब्स सन् १९७० र ८० को दशकको ‘कम्प्युटर क्रान्ति’ को अगुवा हुन् । उनको नेतृत्वमा एप्पलले विकास गरेका आईफोन र कम्प्युटर संसारमै चर्चित छन् । एप्पललाई प्रविधि कम्पनीका रूपमा सबैभन्दा सफल र शक्तिशाली बनाउने श्रेय पनि उनैलाई जान्छ ।
१९५५ को फेब्रुअरी २४ मा जन्मिएका जब्सले स्टिभ वोज्निआक र रोनाल्ड वायनसँग मिलेर १९७६ को अप्रिल १ मा एप्पल कम्पनी स्थापना गरेका हुन् । कम्पनीले सोही वर्ष ‘एप्पल माइक्रोकम्प्युटर–१’ बनाएको थियो । अर्पानेट प्रयोग गर्न र गेम खेल्न मिल्ने कम्प्युटरको मूल्य ६ सय ६६.६६ राखिएको थियो ।
जब्सले आफूलाई क्यान्सर लागेको २००३ मा थाहा पाएका थिए । तर उनले करिब ९ महिनापछि २००४ मा मात्र त्यसको अपरेसन गराएका थिए । त्यसको ७ वर्षपछि २०११ को अक्टोबर ५ मा जब्सको मृत्यु भएको थियो । उनको निधनमा एप्पल, माइक्रोसफ्ट तथा डिज्नी एप्पलले आफ्ना झन्डा आधा झुकाएका थिए ।
