विद्यार्थी प्रेरित गर्न देश दौडाहा

भाद्र ६, २०८०

लक्ष्मी गौतम

पाँचथर — जीवन यात्रा होइन, यात्रा चाहिँ जीवन हो भन्ने मान्यता राख्छन् भोजपुर पौवादुङमा–५ का नवराज भट्टराई (कोहम) । उनी हिजोआज तेह्रथुमका ग्रामीण भेगका शिक्षण संस्था घुम्दै नेपाल भ्रमणको अनुभव बाँड्न व्यस्त छन् ।

२०६५ मा भएको सल्लाहअनुसार दाजु नारायणप्रसाद भट्टराई (सोहम) सँग ७ सय ३० दिनमा नेपाल भ्रमणको यात्रा सकेका उनले भारत, भुटान र म्यानमारको समेत भ्रमण गरिसकेका छन् । 

यस पटक भने उनी एक्लै २०७९ पुस ५ मा भोजपुरबाट विद्यार्थीलाई उत्प्रेरणात्मक कक्षा दिन सुरु गरी खोटाङ, उदयपुर, झापा, इलाम, पाँचथर र ताप्लेजुङका विद्यार्थीसँग देश दौडाहाको अनुभव साट्दै तेह्रथुम आइपुगेका हुन् । विद्यार्थीलाई सकारात्मक सोच, स्मरण शक्ति बढाउने विधि र विश्वका सफल व्यक्तिको संघर्षका कथासँगै आफूले नेपाल, भारत, भुटान र म्यानमार भ्रमणका क्रममा देखे–भोगेका उत्प्रेरणात्मक अनुभव र उदाहरण प्रस्तुत गर्दै विद्यार्थीलाई प्रेरित गर्छन् ।

यस पटक आफूले ‘सबको इच्छा सार्थक शिक्षा, सफा मन सुन्दर जीवन,’ भन्ने नारासहित विद्यार्थीमाझ अनुभव साटासाट गर्न थालेको बताए । ‘विशेषतः समय चक्र र प्रविधिका कारण नकारात्कताको दलदलमा फसेका छौं, यसबाट कसरी बाहिर निस्कने भन्ने विषयवस्तु विद्यार्थीमाझ प्रस्तुत गर्छु,’ उनी भन्छन् । जीवन के हो ? हाम्रो मस्तिष्कको क्षमता कति छ र कतिसम्म प्रयोग गरिरहेका छौं भन्ने विषय प्राथमिकताका साथ विद्यार्थीसँग बाँड्दै आएको पनि उनले बताए । उनले २०६५ मा दाजु नारायणका साथ ३ सय ५० रुपैयाँ लिएर भोजपुरको दिङलाबाट नेपाल भ्रमण थालेका थिए । ‘भ्रमणमा धार्मिक, सांस्कृतिक, पुरातात्त्विक र पर्यटकीय स्थलका तस्बिर एवं अनुभव समेटर पुस्तक प्रकाशन गर्‍र्यौं, देश भ्रमणपछि भारत, भुटान र म्यानमार पुगेर फकिर्यौं,’ कोहम भन्छन् । पैसाको अभाव देखाएर मान्छे सानो काम गर्न पनि पछाडि हट्छ तर केही गर्ने इच्छा शक्ति भए ‘नोट होइन अठोट, बहाना होइन, चाहना र गाँठ होइन, आँट चाहिन्छ भन्ने मान्यता कोहमको छ । अघिल्लो पटकको भ्रमणमा कोहम र सोहमको जोडीलाई विभिन्न जिल्ला पुग्दा त्यहाँका तत्कालीन गाउँ विकास समिति, जिल्ला विकास समिति र केही पत्रकारहरूले भोजन, बास र बाटो खर्चका लागि सहयोग गरेका थिए ।


 यस पटक उत्प्रेरणात्मक कक्षा दिएका शिक्षण संस्थाका प्राध्यापक शिक्षक, अभिभावक, अघिल्लो भ्रमणमा चिनापर्ची भएका नागरिक र विभिन्न स्थानमा पुग्दा भेटिएका बन्धु बान्धवले यात्रामा सघाइरहेका छन् । ‘केही स्कुल कलेजमा मोटिभेसन कक्षा सकिएपछि स्वैच्छिक रूपमा एक–दुई हजार नगद थमाउनुहुन्छ,’ कोहमले भने । नगद सहयोग गर्नैपर्छ भन्ने अनिवार्य नरहेको उनले सुनाए । आफूले आर्जन गरेको ज्ञान र अनुभव बाँड्दै नयाँनयाँ ठाउँ पुगेर नयाँ कुरा सिक्ने अभियानमा उनी छन् । अबको २ वर्षभित्र देशका ७७ जिल्ला पुगेर २ लाख विद्यार्थीलाई भेट्ने लक्ष्य लिएका छन् । 

पहिलो पटक उनीहरूको यात्राको उद्देश्य देशमा रहेका पर्यटकीय स्थलहरूको जानकारी संकलन गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन प्रचारात्मक सामग्री प्रकाशन गर्नु थियो । तर आशय बुझेपछि विभिन्न ठाउँमा भेटिएका बटुवादेखि आफैं मागेर हिँड्ने जोगी संन्यासीसम्मले सदाशयता देखाएका उनले बताए । भारत भ्रमणमा त्यहाँ व्यवसाय गरेर बसेका नेपालीहरूले यात्रा सकिएपछि पुस्तक प्रकाशनका लागि समेत सहयोग गरेका थिए । पहिलो पटक यात्रा सकेपछि नवराज र उनका सहयात्री दाजु नारायणप्रसादले ‘नेपाल भ्रमणका ७ सय ३० दिन’, ‘देखेको विश्व र नेपाल’ र ‘विश्व दृष्टि’ नामका तीनवटा पुस्तक प्रकाशन र ‘नेपाल दर्शन र त्रि–देश दर्शन नामका २ वटा वृत्तचित्र’ निर्माण गरेका छन् । 

नवराजका २ छोरी, श्रीमती र वृद्धावस्थाका मातापिता छन् । गाउँमा बसिरहेका उनको परिवारजनले कृषि कर्म गरेर गुजारा चलाउँछन् । उनका दाजु नारायणप्रसादले अचेल काठमाडौंका सामुदायिक विद्यालय घुमेर योगाभ्याससम्बन्धी प्रशिक्षण दिइरहेका छन् । यता नवराज उत्प्रेरणात्मक कक्षामा व्यस्त छन् । दाजुभाइ स्नातक उत्तीर्ण हुन् । ‘दिनभरि विद्यालय शिक्षा दिएर साँझ अभिभावक र परिवारका सदस्यसँग कुरा गर्छु,’ उनले भने । ठाउँठाउँ पुग्दा भेटिएका नवपरिचितले आज हाम्रो घर जाउँ एकछाक खाऔं, एकरात सुतौं भन्नुहुन्छ,’ उनले भने । बास बसेकै ठाउँमा पनि उनलाई मोटिभेसन क्लास चलाउने प्रस्ताव आउँछ । ‘नयाँनयाँ ठाउँ पुग्दा झनै नयाँ अनुभव गर्छु, जीवनमा अझै धेरै घुम्नु छ, अनुभव गर्नुछ, त्यसैले यात्रा नै जीवन हो भनेको हुँ,’ कोहमले भने ।

युवा ग्यालरी

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully