काठमाडौँ — सन् १९१० मा आजकै दिन (अगस्ट २२) जापानले कोरियामाथि औपचारिक रूपमा नियन्त्रण कायम गरेको थियो । १९१० को जापान–कोरिया सन्धिअनुसार जापानले कोरियामाथि कब्जा जमाएको हो ।
शाही जापानी शासनको उपनिवेशमा रहेको कोरिया दोस्रो विश्वयुद्धको अन्त्यपछि मात्र स्वतन्त्र भएको हो । पछि १९६५ मा भएको ‘आधारभूत सन्धि’ अनुसार पूर्ववत् सन्धि खारेज गरिएको थियो ।
सन् १९१० देखि १९४५ सम्म जापानी शासनअन्तर्गत पीडित औपनिवेशिक राज्य रहेका बेलाका केही मुद्दाले भने दुई देशबीचको सम्बन्ध बेलाबखत तनावपूर्ण बन्ने गर्छ । त्यसका लागि खासगरी ‘कम्फर्ट वुमेन’ र कोरिया विभाजन प्रमुख छन् । ‘कम्फर्ट वुमन’ दोस्रो विश्वयुद्ध अघि र त्यसका क्रममा जापानी साम्राज्यका सेनाले नियन्त्रणमा लिएका देशका र क्षेत्रमा यौन दासत्वमा बाध्य पारिएका महिला वा युवती हुन् ।
जापान र दक्षिण कोरियाबीच १९६५, १९९८ र २०१५ मा ती मुद्दा मिलाउन केही सहमति जुटेको थियो । तर महिला अधिकार समूह र पीडितहरूप्रति बेवास्ता गरिएको विरोधपछि ती मुद्दा टुंगोमा पुग्न सकेका छैनन् । तर पनि उत्तर कोरियाको परमाणु कार्यक्रम, सामुद्रिक सुरक्षालगायत कारण कोरियाली द्वीपमा उत्पन्न तनावबीच दक्षिण कोरियाले जापानसँग मिलेर काम गर्न बाध्य छ ।
