ह्विलचियरमै नृत्य

भाद्र ४, २०८०

ज्योती श्रेष्ठ

काभ्रे — ‘लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरोहिमाल चुली वनतिर पानी भर्ने पँधेरो’पृष्ठभूमिमा गीत बजिरहेको थियो । छातीभन्दा तलको भाग नचल्ने बनेपा–६ का २९ वर्षीय सुदीप श्रेष्ठ ह्विलचियरमै बसेर नाचिरहेका थिए । प्रस्तुति हेर्दा उनमा शारीरिक रूपमा अपाङ्गता छ भन्ने लाग्दैनथ्यो । उभिएर नाच्न नसके पनि उनको प्रस्तुति मन नपराउने कोही थिएनन् ।

नृत्य नै संसार, नृत्य नै जीवन अनि नृत्य नै सबथोक । पाँच वर्षअघिसम्म सुदीपलाई यही लाग्थ्यो । बाल्यकालदेखि नै नृत्यमै रम्दै आएका सुदीपले यसैमा आफ्नो भविष्य देखेका थिए । 

४ कक्षामा पढ्दै गर्दा नृत्य यात्रा थालेका उनले जीवनमा धेरै ठूला अवरोह पार गरेका छन् । मामा नृत्य प्रशिक्षक भएकाले पनि उनमा नृत्यतर्फ रुचि बढ्दै गयो, हौसला थपिँदै गयो । नृत्य सिक्दै गएपछि उनले आफ्नो प्रस्तुतिलाई निर्खान थाले । जसको परिणामस्वरूप उनी नृत्य प्रशिक्षक भए । एसएलसीपछि आफू पढेकै स्कुलमा (क्षितिज बोर्डिङ स्कुल) नृत्य सिकाउन थाले । त्यसपछि बनेपाको ज्योति एकेडेमी, ज्ञान सरोवर स्कुल, सिद्धार्थ स्कुल, बागमी स्कुल, रामभक्त स्कुल, धुलिखेलको माउन्ट भ्युलगायतमा नृत्य प्रशिक्षकका रूपमा काम गरे । नृत्यबाहेक इभेन्ट म्यानेजमेन्टको काम पनि गर्न थालेका थिए । 

जिन्दगी रफ्तारमा चलिरहेकै थियो । २०७५ वैशाख ७ गते उनको जीवनमा वज्रपात आइलाग्यो । डान्स ड्रेस लिन काठमाडौंको कलंकी जाने क्रममा सबेरै जडीबुटीमा उनी चढेको मोटरसाइकल दुर्घटनामा पर्‍यो । प्रहरीको सहयोगमा उपचारका लागि बानेश्वरको सिभिल हस्पिटल पुर्‍याइयो उनलाई । डाक्टर नभएको भन्दै त्यहाँबाट केएमसी पुर्‍याइयो । त्यहाँबाट ट्रमा हुँदै ब्लु क्रस हस्पिटल लगियो । दुई घण्टाको अपरेसनपछि डाक्टरले भने, ‘नसामा समस्या देखिएको भन्दै छातीभन्दा तलको भागले अब काम गर्दैन ।’ त्यो सुनेर उनी छाँगाबाट खसेझैं भए । तर, पनि आफू ठीक हुन्छु भन्ने आत्मबल जीवितै थियो । 

आफ्नो खुट्टा पहिलेको जस्तै बनाउन विभिन्न कोसिस गरे । तर सबै मिहिनेत खेर गयो । अब भने नयाँ जीवनको सुरुवात गर्ने अठोट लिए र सुरु गरे ह्विलचियर यात्रा । यस अवधिमा उनलाई माइजू अरुणा महर्जनले निकै साथ दिइन् । अहिले पनि अप्ठ्यारोमा माइजूले नै साथ दिइरहेको बताउँछन् सुदीप । शारीरिक रूपमा अपाङ्गता भए पनि उनमा नाच्ने हुटहुटी भने पहिलाको जस्तै छ । अस्पतालको शय्यामा हुँदा पनि डाक्टर र नर्सले उनलाई नाच्न प्रेरित गर्थे । 

‘नृत्य प्रशिक्षक भएको थाहा पाएर पनि हुन सक्छ, मलाई डाक्टर र नर्सले निकै हौसला प्रदान गर्नुभयो,’ उनले भने, ‘मैले नाचेको देखेर उहाँहरू निकै खुसी हुनुहुन्थ्यो ।’ चिकित्सकको सल्लाहअनुसार नै ह्विलचियरको सहायताले आफूभित्रको कला उजागर गरिरहेका छन् सुदीपले । जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने गर्छन् । कतिपय विद्यार्थी त सिक्नका लागि घरमै पनि आउँछन् । समय मिलेको बेला त अझ बनेपा–१३ स्थित स्पाइनल इन्जुरी एवं पुनःस्थापना केन्द्र पुगेर नृत्य पनि सिकाउँछन् उनी । ‘आफ्नो शरीरले सक्ने खालको अभ्यास गर्दा मनोरञ्जन पनि हुने, समयको पनि सदुपयोग हुने र दिन पनि कट्ने रहेछ,’ उनले भने, ‘आफूले जानेको कुरा सिकाउन पाउँदा पनि खुसी लाग्छ, अपाङ्गता भएकाका लागि यो प्रयासले प्रेरणा मिल्छ ।’ 

नृत्यसँगै उनले इभेन्ट म्यानेजमेन्टको कामलाई पनि निरन्तरता दिएका छन् । घरमै डान्स ड्रेस हाउस र फलफूल तथा तरकारी पसल पनि सञ्चालन गर्दै छन् । अपाङ्गता भएका व्यक्तिले साधारण व्यक्तिसरह नै काम गर्न सक्छन् भन्ने एक उदाहरणीय पात्र बनेका छन्, सुदीप । ‘अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैन भनेर अवसर नै दिइँदैन,’ उनले भने, ‘क्षमताले भ्याउने खालका काममा लगाउन सकिन्छ नि ।’ 

युवा ग्यालरी

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully