आजकै दिन : ‘मोनालिसा’ चोरी

भाद्र ४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९११ को आजकै दिन (अगस्ट २१) मा लियोनार्दो दा भिन्चीको विश्वविख्यात चित्रकला ‘मोनालिसा’ चोरी भएको थियो । फ्रान्सको राजधानी पेरिसस्थित लोभ्रे संग्रहालयमा राखिएको चित्र इटालीका तीन जना कामदारहरूले चोरेका थिए ।

भिन्सेन्जो पेरुगियाको योजनामा चोरी गरिएको चित्र १९१३ मा इटालीबाट बरामद गरिएको हो । 

विश्वकै महान् चित्रकार दा भिन्चीले करिब एक वर्ष लगाएर मोनालिसाको चित्र १५०४ मा तयार पारेका हुन् । चित्रमा देखिने महिला फ्लोरेन्सका धनाढ्य फ्रान्सेस्को डेल जियोकोन्डाकी श्रीमती लिसा गेरार्डिनी हुन् । ‘ला जियोकोन्डा’ का नामले समेत परिचित उक्त कलामा मोनालिसालाई रहस्यमय मुस्कानका साथ निकै आकर्षक देखिन्छ ।

सन् १५०३ मा बनाउन सुरु गरेर एक वर्षपछि सकेका भए पनि दा भिन्चीले चित्रमा विभिन्न काम गरेर १५१७ मा बल्ल अन्तिम रूप दिएका थिए । ‘मोनालिसा’ सन् १७९७ देखि फ्रान्सको राजधानी पेरिसस्थित लोभ्रे संग्रहालयमा राखिएको छ । उक्त संग्रहालयको विश्वमै सबैभन्दा धेरै मानिसले भ्रमण गरिसकेका छन् । विश्वकै सबैभन्दा महँगो चित्र मोनालिसाको मूल्य कम्तीमा ८६ करोड अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully