पाँचथर — पाँचथरका आरोही सुशील सेर्माले रुसस्थित ५ हजार ६ सय ४२ मिटर उचाइको माउन्ट एल्ब्रस हिमाल आरोहण गर्दै शिखरमा नेपाली झन्डा फहराएका छन् । कुम्मायक–२ मङजावुङ निवासी शेर्माले साउन ३२ बिहान ५ बजेर १५ मिनेटमा उक्त हिमाल चढेका हुन् ।
३५ वर्षीय शेर्माले सन् २०११ देखि नेपालका विभिन्न हिमाल आरोहण गर्दै आएका थिए । यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा, लाङटाङ र आइसल्यान्ड पिकको आरोहण गरिसकेका छन् ।
योसँगै उनले नेपालको होचो भूभाग केचनाकबलदेखि विश्वको तेस्रो हिमाल कञ्चनजंघा आधार शिविरसम्मको पैदल यात्रा पनि गरेका थिए । दुई साताअघि फिदिममा आयोजित पत्रकार सम्मेलनमा उनले अब ७ वटा महादेशका सर्वोच्च हिमाल आरोहण गर्ने योजना सुनाएका थिए । विश्व शान्ति, धार्मिक सहिष्णुता र आणविक शस्त्र निःशस्त्रीकरणको सन्देश दिने उद्देश्यले ती हिमाल चढ्ने योजना उनको छ ।
माउन्ट एल्ब्रस आरोहणका लागि सेर्मा गत साउन २६ (अगस्ट ११) गते रुसतर्फ लागेका थिए । काठमाडौंदेखि मस्को हुँदै मिनिटल्नी बोधे भन्ने ठाउँसम्म हवाई मार्गबाट गएका सेर्मा ६ घण्टा पैदल यात्रापछि आजाउ भन्ने स्थानमा पुगे । त्यसपछि तेसकोल हुँदै छिकेद पिकसम्म दुई दिन तालिम गरेको उनले बताए । माउन्ट एल्ब्रस हिमाल उक्लिन नेपालका हिमालभन्दा सजिलो भएको अनुभव उनको छ । सेर्माको टोलीमा नेपाली गाइड चतुरमान तामाङ, रुसी गाइड डेनिस र रुसकै तीन आरोही गरी ५ जना सहभागी थिए । आजाउ नजिकैको माउन्टेन हटदेखि बुधबार मध्यराति माउन्ट एल्ब्रुसका लागि प्रस्थान गरेका उनी सवा ५ बजे माउन्ट एल्ब्रसको चुचुरोमा पुगेको त्यहाँको ट्रेकिङ एजेन्सी चतुर ट्रेक एन्ड एक्स्पेन्डिचर प्रालिले जनाएको छ ।
सेर्माले नेपालको राष्ट्रिय झन्डासँगै तुम्बेवा गाउँपालिका पाँचथर र किरात धर्मावलम्बीको ध्वजा पनि माउन्ट एल्ब्रसको चुचुरोमा फहराए । रुसको हिमाल आरोहणका क्रममा त्यहाँका नागरिकलाई सगरमाथा र लुम्बिनी जस्ता धार्मिक एवं पर्यटकीय स्थल भ्रमणको निम्तो दिइरहेको उनले बताए । सेर्माले यसपछि तान्जानियाको किली मन्जारो हिमाल आरोहण गर्नेछन् । सेर्मा विश्व शान्ति र मानव एकतासँगै नेपालको पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर ७ वटा महादेशका ७ वटै अग्ला हिमाल आरोहण अभियानमा छन् ।
