सल्यान — शारदा नगरपालिका–१० पैयाखर्ककी मीना पुन १२ वर्षकी मात्र थिइन्, भारतको हिमाचल जाँदा । सानैदेखिको सपना त नर्स बन्ने थियो, तर घरको आर्थिक अवस्थाका कारण पढाइ बीचमै रोकियो । सानै उमेरमा बुबा गुमाएकी उनकी आमाले काम गर्न नसक्ने भएपछि २०५८ मा ५ कक्षा पढ्दै गर्दा पढाइ छाड्नुपर्यो । अनि कामका लागि दिदी–भिनाजुसँगै भारत पस्न बाध्य भइन् ।
त्यहाँ काम सुरु गरेको तीन वर्षमै परिवर्तन गाउँपालिका–५ राङकोटका पूर्णबहादुर पुनसँग प्रेमविवाह गरिन् । छोराछोरी जन्मिएपछि घरकै काममा सीमित भइन् । श्रीमान्ले अर्को विवाह गरेपछि छोराछोरीका लागि भए पनि केही गर्नुपर्ने बाध्यता आयो । छोराछोरीलाई आमाको जिम्मा लगाएर २०७५ मा मलेसिया पुगिन् । करिब तीन वर्ष त्यहाँ बिताएकी उनी १० लाख कमाएर घर फर्किइन् । देशमा केही गर्ने सोच थियो । त्यसैले फेरि बिदेसिन मनले मानेन । फलस्वरूप, अटो चलाउन सिकिन् र ४ लाखमा अटो किनेर चलाउन थालिन् । त्यही अटो अहिले आफूमात्र होइन, छोराछोरीको जीविकोपार्जनको स्रोत बनेको छ ।
त्यतिमात्र होइन, मीना पछिल्लो समय त सामाजिक सेवामा पनि सक्रिय हुन थालेकी छन् । गाउँघरमा कोही बिरामी भयो वा कसैलाई अप्ठ्यारो पर्यो भने पनि उनी दिनरात नभनी सेवामा जुट्छिन् । आर्थिक अवस्था कमजोर, अपांगता भएका र बिरामीलाई निःशुल्क सेवा दिन्छिन् । ‘मेरो पनि आर्थिक अवस्था कमजोर थियो । आर्थिक अवस्थाका कारण के कस्ता समस्या भोग्नुपर्छ भन्ने मलाई थाहा छ । त्यसैले निःशुल्क सेवा दिने गरेकी हुँ ।’
महिलाले गाडी चलाउन वा हलो जोत्नु हुँदैन भन्ने जस्ता मान्यतालाई चिर्न पाएकामा आफूलाई झन् खुसी लाग्ने बताउँछिन् मीना । खासमा इच्छाशक्ति भए महिलाले पनि पुरुषसरह हरेक किसिमका काम गर्न सक्छन् भन्ने जिल्लाकै गतिलो उदाहरण बनेकी छन् उनी । सल्यानको शारदा नगरपालिकामा हाल सयभन्दा बढी अटो सञ्चालनमा छन् । तर अटो चलाउने महिला भने उनी मात्र हुन् । ‘मैले सानैदेखि दुःख पाएँ । महिला भए पनि केही गर्नुपर्छ भन्ने सोच राखेर मिहिनेत गरेकै कारण यहाँसम्म आएँ,’ उनले भनिन् ।
मर्मत, तेल खर्च कटाएर अटोबाट उनले दैनिक सरदर दुई हजारदेखि पच्चीस सय रुपैयाँ कमाउने गर्छिन् । ‘यसरी अटो चलाइएला भन्ने सोचेकै थिइनँ । समय र परिस्थितिअनुसार नसोचेको काम गर्नुपर्दो रहेछ,’ उनले भनिन् ‘आफूले पढ्न नपाए पनि छोराछोरीलाई राम्रो विद्यालयमा पढाएकी छु,’ उनले भनिन् । अटो चलाउन थालेको दुई वर्षमा उनी कुशल चालक भइसकेकी छन् । ‘सुरुसुरुमा केही धक लागेजस्तो भएको थियो । डर पनि लाग्थ्यो,’ दैनिक १०/११ घण्टा अटो चलाउने मीनाले भनिन्, ‘सुरुसुरुमा पुरुषहरू अटोमा चढ्न मान्दैनथे । तर अहिले समय फेरिएको छ ।’
