काठमाडौँ — भारतीय चर्चित गायक अरिजित सिंहले नेपाल प्रस्तुति दिने भएसँगै नेपाली फ्यान उनको पर्खाइमा छन् । गराज इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले आयोजना गर्ने ‘अरिजित सिंह लाइभ इन नेपाल’ का लागि उनी मंसिर ९ मा नेपाल आउँदै छन् ।
अरिजितका ‘अगर तुम साथ हो’, ‘कबिरा’, ‘तु हे तो मुझे’, ‘केसरिया तेरा’, ‘झुमे जो पठान’, ‘खैरियत’, ‘अपना बनाले’ लगायत उनका थुप्रै गीत चर्चित छन् । हायात ग्राउन्डमा हुने अरिजितको लाइभ कार्यक्रमका लागि टिकट बिक्री मंगलबारदेखि नै सुरु भइसकेको छ । खल्ती डिजिटल वालेटबाट मात्रै खरिद गर्न सकिने टिकटको मूल्य न्यूनतम ४ हजार रुपैयाँ छ ।
एमएन प्रोडक्सनका निर्देशक नीलविक्रम शाही संगीत मन पराउने दर्शकका लागि विश्वकै तेस्रो स्ट्रिमिङमा पर्ने गायकलाई ल्याउन पाएकोमा खुसी व्यक्त गर्छन् । अरिजितले कार्यक्रममा ३/४ घण्टा प्रस्तुति दिनेछन् । मोबाइल वालेट ‘खल्ती’ का विनय खड्काले पनि गराज र एमएनको यो कार्यक्रमसँग आबद्ध हुँदा खुसी व्यक्त गरेका छन् । ‘अरिजित सिंहलाई नेपाल ल्याउने भनेर ८/९ वटा इभेन्ट अर्गनाइजर आइपुग्नुभएको थियो । सुरुमा आउने गराज थियो र यसलाई सफल बनाउने पनि यही बन्यो,’ उनले भने, ‘खल्तीले विगत ७ वर्षदेखि मनोरन्जन, इभेन्ट कार्यक्रममा सहकार्य गर्दै आएको छ ।’
गराजका रसिक भट्टराईले मुम्बईसम्म पुगेर अरिजितको टिमलाई भेटेपछि उनलाई नेपाल ल्याउन सम्भव भएको बताए । आफूहरूले १५ हजार दर्शक अपेक्षा गरेको पनि आयोजकको भनाइ छ ।
‘नेपालमा विगत लामो समयदेखि विभिन्न कलाकार, सर्जक, गायक तथा संगीतकारहरूलाई एउटै छातामार्फत व्यवस्थापन, संगीत सिर्जना, वितरण तथा कन्सर्टहरू आयोजना गर्दै आएको गराज इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले नेपालमा यस क्षेत्रको विकासका लागि थप योगदान पुर्याउने हेतुले भविष्यमा पनि यस्तै प्रकारका कार्यक्रमहरू आयोजना गर्नेछ,’ आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
