दार्जिलिङ — नेपालीभाषी बाहुल्य भारत, पश्चिम बंगालभित्रको दार्जिलिङमा अलग राज्य ‘गोर्खाल्यान्ड’ को माग उठेको शताब्दी नाघिसक्यो । बेला–बेला बल्दै, निभ्दै गर्ने आन्दोलनको आगो सन् २०१७ मा जुनदेखि १ सय ५ दिन दन्कियो । यातायात, कलकारखानादेखि स्कुल, कलेज सबै ठप्प थिए । जनजीवन अस्तव्यस्त थियो ।
गोर्खाल्यान्डको इपिसेन्टर दार्जिलिङदेखि करिब ३४ किलोमिटर टाढाको चियाबारी गाउँ पोख्रेबुङकी शिक्षक सिर्जना सुब्बा भने आन्दोलनको चटारोबीच विद्यार्थी पढाइरहेकी थिइन् । स्कुल त बन्द थियो । तर, भर्खरै गाडी बेचेर खाली भएको ग्यारेजलाई पुस्तकालयमा परिणत गरेकी थिइन् । त्यही पुस्तकालय आन्दोलनताका ‘कोचिङ सेन्टर’ बन्यो । ‘मेरा धेरै पुस्तक कोठामा अट्ने अवस्था थिएन,’ सिर्जनाले सुनाइन्, ‘खासमा आफूले बढिसकेका पुस्तक साझा गर्ने योजनाकै कारण पुस्तकालय बनेको हो ।’
इतिहासमै सबभन्दा लामो समय चलेको गोर्खाल्यान्ड आन्दोलन बिनानिष्कर्ष टुंगियो । स्कुल, कलेज लयमा फर्किए । ग्यारेजमा बनेको पुस्तकालयलाई यथास्थितिमै राखियो । ‘आन्दोलनपछि पनि पुस्तकालयमा विद्यार्थी आउने क्रम रोकिएन,’ पोख्रेबुङ गर्ल्स हाइयर सेकेन्डरी स्कुलकी भौतिक विज्ञान शिक्षक सिर्जनाले सुनाइन्, ‘यसलाई व्यवस्थित पुस्तकालयको आकार किन नदिने भनेर लागें ।’
पुरातन र परम्परावादी शैलीका पुस्तकालयहरूको भीडमा उनले भिन्नै शैलीको पुस्तकालय निर्माणमा जोड दिइन् । रातो, हरियो रङले उज्यालिएको छ, पुस्तकालय । प्रयोगविहीन रेफ्रिजेरेटर र काठका सोकेसमा पुस्तकहरू चिटिक्क सजाइएको छ । भित्तामा राखिएका गाडीका थोत्रा टायरहरूले पुस्तकालयको हुलिया फरक बनेको छ । भित्र छन्, बाँस र काठका कुर्सी र टेबुल । जहाँ बसेर पढ्न पाइन्छ आफूलाई मनपर्ने पुस्तक ।
पुस्तकालयमा न नियम छ, न त कुनै आचारसंहिता नै । उनले पुस्तकालयको नामकरण गरिन् ‘द बुक थिफ ओपन लाइब्रेरी’ । अर्थात् किताब चोर्न पाउने खुला पुस्तकालय अस्ट्रेलियाली लेखक मार्कस जुसाकको वेस्ट सेलर उपन्यासबाट प्रभावित भएर पुस्तकालयको नाम जुराएको सिर्जनाले बताइन् । मार्कसको उपन्यासमा झैं पुस्तकालयमा दैलो छैन । खासमा जतिबेला पनि आएर मन परेको किताब चोरेर लैजाने छुट छ सबैलाई । ‘अरूतिरका पुस्तकालयमा अनुशासन होला, नियम होला । तर, हाम्रो पुस्तकालमा छैन,’ स्थानीय चियाको सर्को तानेपछि सिर्जनाले भनिन्, ‘यस्तो पुस्तकालय किन नबनाउने, जहाँ कुनै डर त्रास नहोस् ।’ २१ वर्षदेखि शिक्षण पेसामा संलग्न सिर्जनालाई लाग्छ, दबाबमा नानीहरूको सिर्जनात्मकता मरेर जान्छ ।
जति किताब चोरेर पढ्यो, त्यति नै समाज शिक्षित र सक्षम बन्दै जान्छ जस्तो लाग्ने बताउँछिन् सिर्जना । कोभिड महामारीका बेला पनि आन्दोलनमा झैं स्कुलहरू ठप्प मात्रै भएनन्, लकडाउनका नाममा सर्वसाधारण घरघरमै कैदी बने । त्यो समय पनि पुस्तकालय खुला रह्यो । विद्यार्थीले किताब चोर्दै घर लगेर पढे । उनी सधैं सोच्ने गर्थिन्, यदि युवा दिमागहरू गैरउत्पादक गतिविधिमा संलग्न नभएर पुस्तक चोर्नतिर लागेको भए आज संसार अझै सुन्दर बन्थ्यो होला ।
सिर्जनासँग २१ वर्ष लामो शिक्षण अनुभव छ । सँगै लेखकको अनुभव छ पनि । अंग्रेजी भाषामा मात्रै उनका ९ वटा पुस्तक प्रकाशित छन् । अंग्रेजी भाषाको १० औं कविता कृति ‘फिक्का चिया’ यसै महिना सार्वजनिक हुँदै छ । चिया श्रमिकसँगको सोझो सम्बन्ध उनको कृतिमा छ ।
‘कमानमा बस्नेका लागि फिक्का चिया लाइफलाइन हो,’ उनी थप्छिन्, ‘कमानमै जन्मिएर हुर्केको आफ्नो अनुभव कवितामा समावेश गरेकी छु ।’ अघिल्लो वर्ष उनले भारतका स्वतन्त्रता सेनानी आईएनए क्याप्टेन दलबहादुर थापाको आत्मकथा प्रकाशित गरेकी थिइन् ।
