स्टार खेलाडीको इन्ट्रीसँगै साउदी प्रो–लिग र एमएलएसले सोचेभन्दा बढी चर्चा पाएका छन् । युरोपेली लिगलाई टक्कर दिने योजनाले अघि बढेको साउदी लिगका फलोअर्स पनि निकै बढेका छन् ।
काठमाडौँ — चलेका फुटबलरमा नेयमर एक जना बाँकी थिए । उनी पनि साउदी अरबतिर लागे । त्यहाँको प्रो–लिगमा उनले अल–हिलालका लागि खेल्नेछन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) मा ६ वर्ष बिताएपछि उनले नयाँ गन्तव्य खोजेका हुन् ।
साउदीतिर व्यावसायिक फुटबल खेल्नेमा नेयमरका रूपमा एक अर्का ठूलो स्टार थपिएका हुन् । कुनै समय ‘अर्को पेले’ हुन सक्ने खेलाडी मानिएका नेयमरका लागि हिलालले अविश्वसनीय रूपमा ९ करोड ८० लाख युरो तिरेको छ ।
हिलाल पनि आफैंमा ठूलै टिम हो, उसले कीर्तिमान १८ पल्ट लिग उपाधि जितेको छ । तर उसले नेयमरका लागि यति धेरै तिर्न सकेको पनि उसको पछाडि पूरा देश र यससँग रहेको अथाह धन नै हो । नेयमरले हिलालसँग दुई वर्षको अनुबन्ध गरेका छन् । यसक्रममा उनले पारिश्रमिकका रूपमा पाउने रकम पनि अति धेरै छ, विश्वास नै गर्न नसकिने गरेर । उनले वर्षको १० करोड डलर त तलब मात्रै थाप्नेछन् । क्रिस्टियानो रोनाल्डोको यसको पनि दुई गुणा बढी तलब छ ।
आखिरमा रोनाल्डो नै त्यस्ता खेलाडी हुन्, जसले आफ्नो ठूलो नाम र प्रतिष्ठाका बावजुत ठूलै जोमिख मोलेर अरब लागे । त्यस पछाडि त उनको पछिपछि करिम बेन्जेमा, एन’गोलो कोन्टे, रियाद मेजरेज, जोर्डन हेन्डरसन र साडियो माने लागे । हिलालसँग अनुबन्धलगत्तै नेयमरले भनेका थिए, ‘मैले युरोपमा धेरथोक पाएँ । अब मेरासामु नयाँ चुनौती छन् ।’ नेयमरको यो अनुबन्धपछि विश्व फुटबलमा एउटा नयाँ बहस पनि सुरु भएको छ, कतै साउदी फुटबल क्रान्ति त सुरु भएको होइन ?
यो भन्दा अगाडि नेयमरकै कुरा । कम्तीमा अब उनले युरोपमा फुटबल खेल्ने छैनन् । फेरि दोहोर्याएर ब्राजिलकै लागि खेल्नेमा पनि शंका छ । यस्तोमा अर्को प्रश्न हो, नेयमरको साउदी यात्रालाई कसरी लिने ? राम्रो कि नराम्रो । राम्रो के अर्थमा भने उनले ३० वर्षभन्दा माथिका खेलाडी भएर पनि मनग्ने कमाउनेछन् । यति धेरै रकम त उनले युरोपमै खेलेर कमाउन सक्ने थिएनन् । नराम्रो के अर्थमा भन्दा साउदी गएयता नेयमरको खेल जीवन आफैंमा अन्त्यतिर धकेलिएको त होइन ?
सायद यसको उत्तर रोनाल्डो आफैंले केही समय अगाडि दिएका छन्, फरक प्रसंगमा फरक पात्रलाई । युरोपबाट एक अर्को ठूलो नाम अन्यत्र लागेको छ, ती हुन्, लियोनल मेसी । साउदी क्लबहरू उनका लागि जति पनि तिर्न तयार थिए । तर मेसी आफैंले साउदी अरब रोजेनन्, बरु अमेरिका जान चाहे, इन्टर मियामीका लागि । उनको यो निर्णय बाहिरिएयता रोनाल्डोले भनेका थिए, ‘अमेरिकाको एमएलएस (मेजर लिग सकर) भन्दा त साउदी–प्रो धेरै रामो छ ।’
रोनाल्डोको यो भनाइ वास्तवमै सत्य हो भनेर केही फुटबल पण्डितले दाबी पनि गर्न थालेका छन् । तिनका अनुसार मेसीले अहिले मियामीका लागि जसरी लगातार गोल गरिरहेका छन्, उनी आएयता लगातार हारिरहेको क्लबले जसरी लगातार जित्न थालेको छ, त्यसको अर्थ भनेको अमेरिकाको घरेलु फुटबल कमजोर भन्नु नै त हो । सायद मेसीले साउदी अरबको बाटो रोजेको भए, यति धेरै गोल गर्न सक्ने थिएनन्, उनको क्लब यति लगातार जित्ने पनि थिएन ।
यसैबीच, साउदी प्रो–लिग र एमएलएसले भने सोचेभन्दा बढी चर्चा पाएका छन्, विश्व फुटबल बजारमा । यसअघि एमएलएसको यति धेरै चर्चा भएको थिएन, न त साउदी प्रो–लिगकै । साउदी लिगले अझ बढी चर्चा पाएको छ । त्यहाँको प्रो–लिग युरोपकै लिगकै समय पारेर गत साता सुरु भएको हो । यहाँ पनि एक चरणका खेल सकिए । दोस्रो चरणका खेल यसै सप्ताहन्त सुरु हुनेछ । पहिलो चरणको जित–हारका समाचारले पनि अन्तर्राष्ट्रिय मिडियामा प्रमुख स्थान पाए ।
यस्तोमा अर्को स्वाभाविक प्रश्न उठ्छ, कतै युरोपका पारम्परिक लिगलाई साउदी प्रो–लिगले अब बराबरीको टक्कर दिने त होइन ? साउदी प्रो–लिग आफैंमा खुबै महत्त्वाकांक्षी छ । अबको केही वर्षमा यो लिगलाई विश्वकै उत्कृष्ट लिगको सूचीको शीर्षतिर राख्ने योजना भएको उनीहरूको दाबी बाहिर आइसकेको छ । सायद यो दाबीको पहिलो खुँड्किलोमा उनीहरू सफल पनि देखिएका छन् । यसको पहिलो ठूलो कारण हो, साउदी–लिगको प्रत्यक्ष प्रसारणको माग जताततैबाट हुनु ।
जतिले पहिलो चरणका खेल हेरे, तिनलाई पनि मज्जाले अनुभव भएको हुनुपर्छ, खेल मात्र होइन, प्रसारणको गुणस्तर पनि राम्रो छ । नेपालसँगै दक्षिण एसियाबाट यो लिग सजिलै हेर्न मिल्छ । युरोपका पारम्परिक फुटबलका शक्तिशाली देशमा पनि यो लिग हेर्न कुनै समस्या छैन । अझ ब्राजिल र अर्जेन्टिना जस्ता देशमा पनि यसको माग बढिरहेको छ । त्यसको एक मात्र स्पष्ट कारण त लिगमा देखिने र सुनिने ठूला नाम नै हुन् । यसमा त साउदी प्रो–लिग युरोप र अमेरिकाभन्दा पनि अगाडि छ भनेर दाबी आइसकेका छन् ।
यसका लागि बेलन डे’अर जितेका खेलाडीको उपस्थितिलाई प्रमुख आधार मानिएको छ । बेलन डे’अर जितेर अहिले पनि सक्रिय खेलाडीमध्ये दुई जनाले साउदी अरेबियामा खेलिरहेका छन् । यसमा पहिलो नाम भयो, रोनाल्डो नै । अर्को भयो, बेन्जेमा । अमेरिकातिर एक मात्र छन्, मेसीका रूपमा । युरोपमा पनि एकै जना मात्र छन्, उनी हुन्, रियल म्याड्रिडका लुका मोडरिच । यो तर्क र दाबीलाई पनि काट्न त गाह्रै छ । कम्तीमा युरोपले अब प्रतिस्पर्धाको अनुभव गरे हुन्छ ।
फेरि नेयमरमै फर्कने हो भने पनि उनले त्यो सफलता र ख्याति आत्मसात् गर्न पाएनन्, जुन मेसी र रोनाल्डोले पाए । उनी बार्सिलोनाबाट २२ करोड डलरभन्दा बढी मूल्यमा पीएसजी आएका हुन् । तर त्यहाँ उनले आफ्नो प्रतिष्ठाअनुसार खेल्न सकेनन् । बार्सिलोना होस् अथवा पीएसजीमा, उनी मेसी अगाडि ओझेलमै परे । उनलाई युरोपेली च्याम्पियन्स लिग जित्ने सपनाका लागि पीएसजीले किनेको थियो, त्यो कहिले पनि पूरा हुन सकेन ।
पीएसजीका समर्थक पनि खुलेरै केलियन एमबाप्पेको पक्षमा लाग्ने गरेका छन् र नेयमरको खुला रूपमै विरोध गर्छन् । फेरि नेयमर एक किसिमले पीएसजीको खेलाडी राजनीतिमै पिसिएका पनि हुन् । भनिन्छ, एमबाप्पेको पीएसजीमै रहनेको सबैभन्दा ठूलो सर्त नै नेयमरलाई बाहिर पठाउनुपर्ने थियो । त्यसमा उनी सफल पनि भए । यी सबै पृष्ठभूमिमा नेयमरका लागि साउदी प्रो–लिग जानु सर्वथा ठीक देखिएको छ । हुन सक्छ, उनले पूरा साउदी फुटबललाई नै अर्को माथिल्लोस्तरमा पुर्याउन निर्णायक मद्दत गर्ने हुन् कि ?
