आजकै दिन : सुवासचन्द्र बोसको मृत्यु

भाद्र १, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९४५ मा आजकै दिन (अगस्ट १८) मा भारतीय स्वतन्त्रता संग्रामका अग्रणी नेता सुवासचन्द्र बोसको निधन भएको थियो । ‘नेता जी’ का नामले चर्चित बोसले दोस्रो विश्वयुद्धको समयमा ब्रिटिसहरू विरुद्ध लड्न जापानको सहयोगमा ‘आजाद हिन्द फौज’ गठन गरेका थिए । भारतको राष्ट्रिय नारा बनेको ‘जय हिन्द’ पनि उनले सुरु गरेका हुन् ।

त्यस्तै उनले सुरु गरेको ‘तुम मुझे खुन दो, मैं तुम्हे आजादी दुंगा’ अर्थात् तिमी मलाई रगत देऊ, म तिमीलाई स्वतन्त्रता दिन्छु भन्ने नारा स्वतन्त्रता संग्रामका बेला निकै चर्चित बनेको थियो । भारत १९४७ मा ब्रिटिस आधिपत्यबाट मुक्त हुनुमा उनले गठन गरेको आजाद हिन्द फौजको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

दोस्रो विश्वयुद्धमा पराजित हुने निश्चित भएपछि जापानी जर्नेलहरूले बोसलाई टोकियो लगेका थिए । ताइहोकुस्थित विमानस्थलबाट उड्ने क्रममा उनी रहेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक, सहचालक र एक जर्नेलको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते बोसको ६ घण्टाको उपचारपछि निधन भएको थियो । यद्यपि, सुरक्षा गोपनीयता कायम गर्ने नाममा जापान सरकारले नै उनीसहितका केही जर्नेलको हत्या गर्ने योजनाअनुसार उक्त घटना गराइएको कतिपयको दाबी छ ।  

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully