साइबर सुरक्षामा जुट्दै विद्यार्थी

कमलपोखरीस्थित इस्लिङ्टन कलेजले गरेको ‘फ्युचरामा २०२३’ प्रदर्शनीमा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले बनाएका इन्टरनेट अफ थिङ्स (आईओटी) सँगै साइबर सुरक्षा र भिडियो एनिमेसनसम्बन्धी जानकारीमूलक विषयवस्तु छन् । तीमध्ये स्मार्ट हेलमेट र टेक्स्ट–टु–इमेज एआई टुलले अवलोकनकर्ताको ध्यान तानेको छ ।

भाद्र ३, २०८०

सजना बराल

काठमाडौँ — आफूले चलाउने मोबाइलमा कुनै पनि एप इन्स्टल गर्ने क्रममा अधिकांश प्रयोगकर्ताले एउटै गल्ती गर्छन् । त्यो हो, एपले एक्सेस मागेका (पहुँच बनाउन खोजेका) सबै कुरामा भकाभक ‘अलाउ’ थिच्ने । त्यसैमध्येका एक हुन् आर्यन राई । कालिकास्थानको एस्फोडेल पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले अबदेखि भने हतारहतार ‘अलाउ’ थिच्नु गल्ती हुने बुझेका छन् ।

‘हामीले अलाउ थिचेपछि ती एपले हाम्रो मोबाइलको क्यामरा, फोटो, कन्ट्याक्ट, इमेल, वालेट, क्यालेन्डर सबैमा एक्सेस बनाउँदा रहेछन्,’ आर्यन भन्छन्, ‘अथेन्टिक एपलाई मात्रै र आफूलाई दिन मन लागेको कुरामा मात्रै अलाउ गर्नुपर्ने रहेछ । जुनसुकै एपलाई मोबाइलको क्यामरा तथा फोटामा अलाउ गर्दा ह्याक गरिदिने डर हुँदोरहेछ ।’ आर्यनका साथी सागर चौधरी र समिक भण्डारी चाहिँ मोबाइलको क्यामरा ह्याक भएको छ कि छैन भनेर जाँच्ने तरिका थाहा पाएकोमा खुसी थिए । 

‘राति सुत्नुअघि वाईफाई र डाटा अफ गरेर मोबाइलको कभर निकालेर राख्न्नुपर्ने रहेछ,’ सागर आफूले सिकेको कुरा सरसर्ती सुनाउँछन्, ‘तपार्इंको मोबाइलको क्यामरा ह्याक भएको छ भने फ्रन्ट क्यामरामा ३० सेकेन्डजति बूढीऔंला राख्दा तातो फिल हुने रहेछ । कसैले हाम्रो मोबाइल ट्र्याक गरिरहेको छ भने वाईफाई र डाटा अफ गर्दा पनि क्यामरा चल्ने र तात्ने हुँदोरहेछ ।’ अब भने सागरले यिनै तरिका अपनाएर घरका सबै जनाको मोबाइल फोनको क्यामराको सुरक्षा जाँच गर्ने भएका छन् । 

आर्यन, सागर र समिकले ‘अलाउ’ थिचेकै कारण के हुन्छ भन्नेबारे ‘फ्युचरामा २०२३’ प्रदर्शनीको ‘साइबर सेक्युरिटी एन्ड एथिकल ह्याकिङ’ स्टल भ्रमण गरेपछि थाहा पाएका हुन् । इस्लिङ्टन कलेजका विद्यार्थी पवन रेग्मीले विभिन्न स्कुल/कलेजका छात्रछात्रालाई ह्याकिङबाट बच्ने अनेक उपाय सिकाइरहेका छन् । ‘आजभोलि जो पनि च्याटजीपीटी चलाउँछ तर त्यसले कसरी हाम्रो डेटा लगिरहेको छ भन्नेचाहिँ थाहै पाएका हुँदैनन्,’ पवन भन्छन्, ‘जेमा पनि हतारहतार अलाउ र आई अग्री थिच्दा केसम्म हुन सक्छ भन्नेबारे मैले यहाँ आउने भाइबहिनीलाई व्यावहारिक रूपमै देखाइरहेको छु ।’ 

कमलपोखरीस्थित इस्लिङ्टन कलेजमा बिहीबार सुरु भएको ‘फ्युचरामा २०२३’ प्रदर्शनीमा आईएनजी समूहअन्तर्गतका इस्लिङ्टन, इटहरी इन्टरनेसनललगायत विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रकारका इन्टरनेट अफ थिङ्स (आईओटी) सँगै साइबर सुरक्षा र भिडियो एनिमेसनसम्बन्धी जानकारीमूलक विषयवस्तु अवलोकनका लागि राखिएका छन् । त्यहाँ भएकामध्ये आफूलाई स्मार्ट हेलमेट र टेक्स्ट–टु–इमेज एआई टुल सबैभन्दा मनपरेको क्यानभास कलेजकी प्रार्थना खनाल बताउँछिन् । 

‘एक्सिडेन्ट भयो भने स्मार्ट हेलमेटले घरको मान्छे र इमर्जेन्सी नम्बरमा एसएमएस पठाइदिँदो रहेछ,’ कक्षा १२ मा अध्ययनरत उनले भनिन्, ‘रक्सी खाएको पनि त्यो हेलमेटले पत्ता लगाउँदो रहेछ । स्मार्ट हेलमेटको कन्सेप्ट राम्रो लाग्यो ।’ शिशिर सुवेदीले ६ महिना लगाएर बनाएको हेलमेटले दुर्घटना हुँदा प्रयोगकर्ताले राखेको इमर्जेन्सी नम्बरमा गुगल म्यापसहित ‘आई निड हेल्प’ लेखिएको सन्देश पठाउँछ । यसले दुर्घटना रोक्न र छिटो उद्धारमा सघाउने सुवेदीको दाबी छ ।

सामाखुसीस्थित तक्षशिला एकेडेमीका विद्यार्थी जेनिश अधिकारीलाई भने आर्यन झाको समूहले बनाएको रिमोट कन्ट्रोल स्मार्ट डस्टबिन उपयोगी र साँच्चै प्रयोगमा ल्याउन सकिने आईओटी हो भन्ने लागेको छ । कोभिड–१९ जस्ता भौतिक दूरी कायम गर्नुपर्ने बिमारी भएका बिरामीको स्याहार गर्दा स्मार्ट डस्टबिन प्रयोग गरे रोग सर्ने खतरा कम हुने अधिकारीको बुझाइ छ । ‘डस्टबिनमा सेन्सर र चक्का राखिएको छ,’ उनले भने, ‘मोबाइलमा त्यसको रिमोट इन्स्टल गरेर आफू भएकै ठाउँमा डस्टबिनलाई बोलाउन मिल्दो रैछ । त्यसको ढकनी पनि सेन्सरले नै खुल्ने भएकाले हातले छुनै नपर्ने ।’ तक्षशिलामा कक्षा १२ पढ्ने सबिन बरामले डबल ब्रेक र हार्ड रिभर्स हान्न मिल्ने ‘गो कार्ट’ सपिङ मल र डिपार्टमेन्ट स्टोरका लागि उपयुक्त हुने बताए ।

दाँयाबाँया नगरी तोकिएको रेखामा मात्रै हिँड्ने ‘लाइन फलोइङ रोबट’, डिपफेक पत्ता लगाउने सोटर एआई, पीडीएफभित्रका कन्टेन्टमा आफूले जान्न चाहेको विषयबारे उत्तर दिने पीडीएफ कोपाइलट, भित्रपट्टि बत्ती बल्ने आइरनम्यान हेलमेट, ३० औं शताब्दीको कार रेस, नेवारी भाषा सिकाउने नेवाछें एप, खुट्टाले बजाउने वाकिङ पियानो, ड्रोनजस्ता टुल र डिभाइसहरू प्रदर्शनीमा छन् । इटहरीबाट आएकी निकिता बन ६ जनाको समूहले बनाएको वाकिङ पियानोमार्फत आफूहरूले संगीत र प्रविधिलाई एकसाथ जोड्न खोज्न खोजेको बताउँछिन् । 

जातीय र सांस्कृतिक भाषाहरू सिक्ने प्लेटफर्म खासै नभएकाले नेवाछें बनाएको बताउने युसान श्रेष्ठ आफ्नो एपमा डेटाबेस थपेर यसलाई बृहत् नेवारी शब्दकोश बनाउने योजनामा छन् । ‘यसमा हामीलाई काठमाडौं महानगरपालिकाकी उपमेयरले पनि सघाउनुभएको छ,’ उनले भने, ‘अहिले प्रोटोटाइप मात्रै बनाएका हौं । यसले नेवारीलाई अंग्रेजीमा अंग्रेजीलाई नेवारी भाषामा उल्था गर्न र नेवारी शब्द उच्चारण गर्न सिकाउँछ । उदाहरणका लागि ज्जवलप्पाको अर्थ खोज्यो भने उच्चारणसहित देखाइदिन्छ ।’ 

अध्ययनका क्रममा अनिवार्य तयार पार्नुपर्ने यस्ता प्रविधिको प्रदर्शनी गरेर विद्यार्थीलाई हौसला र उत्साह थप्न खोजेको आईएनजीका आशिफ शाह बताउँछन् । फ्युचरामा प्रदर्शनीलाई अबको एक महिनाभित्र देशका १० सहरमा पुर्‍याउने उनले बताए । उनका अनुसार काठमाडौंको प्रदर्शनी हालसम्म करिब सात हजार विद्यार्थीले अवलोकन गरिसकेका छन् । ‘हाम्रा विद्यार्थीलाई एक्स्पोजर र प्लेटफर्म प्रदान गर्न खोजिएको हो,’ उनले भने, ‘अहिलेसम्म सबैले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।’

युवा ग्यालरी

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully