हारेर पनि जितेकी केर

रोमाञ्चकता र सनसनीबीच महिला विश्वकप २०२३ आइतबार टुंगिएको छ । तर यसले एउटा बलियो तथ्य भने स्थापित गरेको छ । त्यो हो, महिला फुटबलसँग नाम चलेका स्टार खेलाडी छन् । त्यसको उदाहरण हुन्, साम केर । अस्ट्रेलियाली टिमले उपाधि उठाउन त सकेन तर कप्तान केर भने जताततै छाइन् ।

भाद्र ४, २०८०

हिमेश

काठमाडौँ — महिला फुटबल पनि उत्तिकै उम्दा हुन्छ, यसमा पनि त्यत्तिकै रोमाञ्चकता र सनसनी हुन्छ भनेर प्रमाणित गर्दै महिला विश्वकप २०२३ आइतबार टुंगियो । यसले एउटा अर्को तथ्य पनि स्थापित गरेको छ र त्यो हो, महिला फुटबलसँग ठूला न ठूला नाम चलेका स्टार खेलाडी हुन सक्छन् ।

यस्तो खेलाडी को त ? प्रश्न उठ्न सक्छ । तर त्यसको तुरुन्तै आउने उत्तर हो, साम केर । अस्ट्रेलियाले पक्कै पनि उपाधि जितेन तर यसै टिमका कप्तान केर भने जताततै छाइन् । 

महिला फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा ठूलो नाममध्ये एक हो, केर । प्रदर्शनका आधारमा पनि उनी अहिलेको पुस्ताका खेलाडीमध्ये सबैभन्दा अगाडि छन् । यसपल्ट अस्ट्रेलिया आफ्नै घरमा भएको विश्वकपमा सेमिफाइनलमै रोकियो, पारम्परिक प्रतिद्वन्द्वी इंग्ल्यान्डसँग । तेस्रो स्थानका लागि भएको खेलमा पनि स्विडेनसँग पराजित रह्यो । तर अस्ट्रेलियाका लागि सेमिफाइनल पुग्नु पनि ठूलै उपलब्धि हो । चोटका कारण केरले सुरुदेखि खेल्न सकिनन् तर जति खेलिन्, साँच्चै सबैको मन जितिन् । अर्थात् उनले हारेर पनि जितिन् । 

पूरा नाम हो, समन्था मे केर । छोटकरीमा साम केर । उनी व्यावसायिक खेलाडीका रूपमा चेल्सीका लागि खेल्छिन्, फरवार्डका रूपमा । उनको नाममा एउटा गज्जबको कीर्तिमान छ, यही एक तथ्यले उनी कस्तो खेलाडी हुन् भनेर प्रमाणित गर्छ । उनी तीन फरक लिगमा ‘गोल्डेन बुट’ अवार्ड जित्ने एक मात्र खेलाडी हुन् । उनले यो उपलब्धि अस्ट्रेलिया र न्युजिल्यान्डको डब्लू–लिग, उत्तर अमेरिकाको एनडब्लूएसएल र युरोपको वुमेन्स सुपर लिगमा हात पारेकी हुन् ।

सन् २००८ देखि पर्थ ग्लोरीका लागि खेलेकी केरले त्यसपछि सिड्नी एफसी, वेस्टर्न न्युयोर्क फ्लास, सिकागो रेड स्टार्स हुँदै चेल्सी पुगेकी हुन् । उनको खेलमा गति उत्तिकै हुन्छ, फेरि गति मात्र होइन्, गतिसँग बल पनि नियन्त्रणमा राख्न सक्छिन् । अनि शक्तिशाली प्रहारका लागि पनि उनी माहिर छन् । उनको खेलको एउटा सबैभन्दा ठूलो विशेषता ‘हेड’ हो । महिला फुटबलमा उनी जत्तिको सटीक र कडा हेड गर्ने विरलै पाइन्छ भनिन्छ ।

केरले एउटा कुरा बारम्बार भन्ने गर्छिन् र यो हो, क्याथी फ्रिमनबारे । सन् २००० मा अस्ट्रेलियाको सिड्नीमै भएको ओलम्पिक्समा फ्रिमनले महिला चार समय मिटरमा स्वर्ण जितेकी थिइन् । फ्रिमन अस्ट्रेलियाली आदिवासी हुन् । सिड्नीमा उनले अविश्वसनीय रूपमा अन्तिम मोडमा सबैलाई उछिन्दै स्वर्ण जितेकी थिइन् । त्यसलाई अस्ट्रेलियाली खेलकुदकै सबैभन्दा ठूलो ऐतिहासिक घटना मानिन्छ, त्यसैले यसको नामै रहेको छ, ‘क्याथी फ्रिमन मोमेन्ट’ ।

यो दौडबाट प्रेरित भएर धेरैभन्दा धेरै अस्ट्रेलियाली महिलाले खेललाई आफ्नो करिअर बनाए । त्यसमध्ये एक हुन्, यिनै केर । इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा केरले ६३ औं मिनेटमा २५ यार्डबाट शक्तिशाली प्रहार गर्दै अपूर्व गोल गरिन् । यस गोललाई महिला फुटबलकै अहिलेसम्मको सबैभन्दा राम्रो गोल मान्न सुरु भएको छ । अनि यसलाई नै केरको आफ्नै ‘क्याथी फ्रिमन मोमेन्ट’ भन्न पनि सुरु गरेकी छन् । 

भनेपछि यो एक यस्तो गोल हो, जसबाट प्रेरित भएर धेरैभन्दा धेरै अस्ट्रेलियाली किशोरीले अब फुटबललाई आफ्नो करियर बनाउने छन् । धेरैका लागि यो प्रेरणा हुन सक्नेछ । खासमा यो एक यस्तो गोल हो, जसले केर कस्ती खेलाडी हुन् भने मज्जाले वर्णन गर्छ । केरबारे व्यक्तिगत कुरा गर्ने हो भने पनि उनी खुलेर एलजीबीटीक्यू प्लस भएको मान्छिन् र फुटबलकी अर्की खेलाडी क्रिस्टी मेविससँग सम्बन्धमा छिन् । अनि के पनि भनिन्छ भने केर एलजीबीटीक्यू प्लस समुदायकी सबैभन्दा ठूला स्टार पनि हुन् ।

खेलाडी नै खेलाडीको परिवार

नसा–नसामा खेलकुद । पूरा परिवार नै खेलमय भयो भने यस्तो पनि भनिन्छ । केरको परिवार ठ्याक्कै यस्तै हो, खेलाडी नै खेलाडीले भरिएको परिवार । उनको बाजे डेनजिलको जन्म भारतको कोलकातामा भएको

थियो, इंग्लिस बुबाका तर्फबाट । उनी फेडरवेट तौल समूहमा भिड्ने बक्सर थिए । उनका बज्यै क्यारल पनि आफ्नो समयमा बास्केटबल खेल्थिन्, कोलकातातिरै । उनीहरू सौखिन खेलाडी मात्र थिएनन्, पूरा प्रतिस्पर्धात्मक खेलमै उत्रन्थे ।

बुबा रोजर र दाजु ड्यानिएल त पक्कापक्की व्यावसायिक खेलाडी नै हुन्, अस्ट्रेलियाली नियममा खेलिने फुटबलको । ड्यानिएल त खेलाडीका रूपमा अत्यधिक सफल पनि रहे । आमा रोक्सानका बुबा र त्यतातर्फका धेरै नातेदार कुनै न कुनै रूपमा खेलकुदमै आबद्ध थिए । त्यसमध्ये एक नातेदार रहेका जे जे मिलर त उत्तिकै नाम चलेका रेसिङ ड्राइभर थिए । भनेपछि केरलाई खेलकुद विधा कुनै नयाँ थिएन, यसमा आबद्ध हुन् । खालि प्रश्न थियो त, खेल्ने खेल कुन त ?

केरलाई सानोमा साँच्चै मन परेको खेल भने त्यही अस्ट्रेलियाली नियममा खेलिने फुटबल नै थियो । अस्ट्रेलियामा यो खेल कति धेरै लोकप्रिय थियो भने यसको अगाडि केरले अहिले खेलिरहेको फुटबल ओझेलमा पर्ने गर्थ्यो । केरका लागि त्यो अस्ट्रेलियाली नियमको फुटबलका नाम चलेका खेलाडी सिनेमाका नायक जस्तै लाग्थे । सुरुमा केरलाई लागेको यो नै यस्तो खेल हो, जसमा उनको भविष्य हो । तर उनको भाग्यमा त अर्को फुटबल पो लेखिएको थियो । केर फुटबलमा लागेपछि हदै जिद्दी पाराले लागिन् । यो पनि कतिसम्म भने केटी भएर खेल्न नपाइएला भनेर केटा बनेर फुटबल खेलिन्, त्यो पनि एक–दुई वर्ष होइन, ५/६ वर्ष जति नै । त्यसका लागि केरले केटाहरूको उमेर समूहमा खेल्न आफूलाई केटा जस्तै शैली र स्वभावमा ढालिन् । यसका लागि कपाल पनि छोटो–छोटो हुने गरेर काटिन् । त्यति बेला उनको क्लब थियो, पर्थको दक्षिणमा रहेको इस्ट फ्रेमनटाइल । कसैलाई केही थाहा हुन दिइनन् र भएन पनि । 

अझ रमाइलो के भने त्यसका लागि उनका बुबा र प्रशिक्षकको भने सहमति थियो । पछि बुबा र प्रशिक्षकले नै निर्णय गरे, अब केटा होइन, केटी भएर नै खेल्ने । केरको आत्मकथा हो, ‘माई जर्नी टु वर्ल्डकप’ । यसमा उनले आफू केटा भएर खेलेको पूरा विवरण लेखेकी छन् । त्यसको एउटा सार हो, केरलाई लागेको थियो, उनलाई केटी हो भनेर कसैले विशेष अलग्गै व्यवहार नगरोस् । पछि उनी केटी हुन् भनेर थाहा पाएपछि एउटा साथी केटा खेलाडी खुबै रोएका पनि थिए । 

सानैमा डेब्यु

केटीकै भेषमा खेल्न थालेको तीन वर्षमै केरले अस्ट्रेलियाका लागि डेब्युको अवसर पाइन् । अविश्वसनीय रह्यो, उनको सुरुआती खेल जीवन । उनी भर्खर १५ कै मात्र थिइन्, इटालीविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा उनले पहिलोपल्ट अस्ट्रेलियाका लागि खेल्न पाइन् । महिला फुटबलको एउटा ठूलो विशेषता के हो भने अधिकांश ठूला स्टार खेलाडीले २० वर्षको उमेरपछि मात्र अन्तर्राष्ट्रिय खेल्न पाए । तथ्यांकले यस्तै भन्छ, तर केर यसमा पनि अपवाद रहिन् ।

त्यति बेला अस्ट्रेलियाली टिमका प्रशिक्षक रहेका टम सेरमानीले भनेका थिए, ‘केर भर्खरकी खेलाडी थिइन्, अनुभव खासै केही थिएन तर उनको प्रदर्शन भने उच्च थियो । त्यही बेला उनले प्रमाणित गरिसकेकी थिइन्, केर महिला फुटबलकै सबैभन्दा राम्रो खेलाडी हुन्छिन् भनेर ।’ फिफाले केरको जीवनीबारे एउटा लेख पनि तयार पारेको छ, त्यसमा केही रोमाञ्चित पार्ने खालका तथ्यांक छन् । त्यसअनुसार जति बेला केरले पहिलोपल्ट देखिन्, त्यति बेला आई–प्याड भन्ने नै थिएन ।

ह्वाट्स एप भर्खर भर्खर बजारमा आउने क्रममा थियो । बियोन्से र लेडी गागा लोकप्रिय हुने बाटोमा थिए । बार्सिलोनाको महिला टिमले त्यहाँको माथिल्लो डिभिजन जितेकै थिएन । अनि त्योभन्दा पनि रमाइलो त के भने जति बेला केरले डेब्यु गरिन्, क्रिस्टियानो रोनाल्डोले फिफाको एउटै मात्र उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए, लियोनल मेसीले त त्यति पनि जितेका थिएनन् । अनि केरले डेब्यु गरेकै वर्ष ‘स्लमडग मिलिनियर’ ले ओस्कारमा आठ अवार्ड जितेको थियो ।

युवा ग्यालरी

हिमेश

Link copied successfully