भक्तपुरको दृश्य अवलोकनपछि ‘चेन्नाई चोलामण्डल आर्टिस्ट भिलेज’ का कलाकारले कोरेका चित्र बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनमा छन् । उनीहरू भन्छन्, ‘भक्तपुरले नेपालको मौलिकता जोगाएको रहेछ । आँखाभरि सबै दृश्य कैद भएका छन् । भारत गएर पनि अन्य चित्र बनाउँछौं ।’
काठमाडौँ — नेपाल आउनु अघिल्लो दिन भारतका शैलेस विओलाई अबेरसम्म निद्रै लागेन । उठेर गुगल सर्च गर्न थाले । उनले सानैमा सुनेका थिए, नेपालको पौराणिक स्थल भक्तपुरबारे । त्यही नाम किबोर्डमा टाइप गरे ।
इन्टर हान्नेबित्तिकै भक्तपुरको रमणीय दृश्य ल्यापटपमा देखिए । एउटाले उनको मन तान्यो । ‘त्यो निकै पुरानो तस्बिर थियो, जहाँ भक्तपुर दरबार क्षेत्रमा किसानहरूले धान सुकाएको दृश्यले मन छोयो,’ उनी भन्छन्, ‘तस्बिर देखेरै कति बेला नेपाल पुगिएला भन्ने भयो ।’ अन्ततः चेन्नाईका कलाकार शैलेस भक्तपुर हेर्ने उत्साहका साथ राजधानी आए ।
नेपाल आर्ट काउन्सिलको निम्तोमा उनीलगायत ‘चेन्नाई चोलामण्डल आर्टिस्ट भिलेज’ का ६ जना कलाकार नेपाल आएका हुन् । जसमा आर्ट काउन्सिलले नेपाली कलाकारसहित अन्तरसम्बन्ध विस्तार गर्दै दुईदिने कला कार्यशाला चलाएको थियो । भक्तपुरमै दुई दिन प्रत्यक्ष पुगेर दृश्य अवलोकन गर्दै भारत र नेपालका कलाकारले चित्र कोरे ।
‘भक्तपुरले नेपालको मौलिकता जोगाएको रहेछ,’ शैलेसले भने, ‘मैले आँखाभरि सबै दृश्य कैद गरेको छु । भारत गएर पनि चित्र बनाउँछु ।’
भारतीय र नेपाली कलाकारले कोरेका चित्रको प्रदर्शनी बबरमहलस्थित आर्ट काउन्सिलमा मंगलबारदेखि सुरु भएको छ । लता गोपालले नेपाल अवलोकनपछि ‘बुद्ध’ आकृति कोर्न रुचाइन् । तर, उनको बुद्ध आकृति भने अनौठो छ । बुद्धको निधारमा शिवलिंगको संकेत कोरेकी छन् । यस्तो गर्नुको पछाडि लतासँग मीठो जवाफ छ । उनी भन्छिन्, ‘यहाँ बौद्ध र हिन्दु धर्म सबै एकसाथ मिलेर बसेको पाएँ ।’ लताको विचारमा धार्मिक सम्प्रदायबीचको यस्तो राम्रो सद्भाव देश कमै देख्न पाइन्छ । अर्की चित्रकार हेमलता सेनातिपतीले पनि त्यस्तै, बुद्धकै आकृति बनाइन् । यद्यपि बुद्धको अनुहार बनावटमा उनको मौलिकता झल्किन्छ । पीपलको पात, कमलको फूललगायत आकृति प्रतिबिम्बित गर्दै उनले बुद्धको शान्तभाव चित्रमा उतारेकी छन् ।
हेमलताले जस्तै भारतका अरू कलाकारले समेत आध्यात्मिकता र नेपालको अन्तरसम्बन्ध चित्रमा समेटेका छन् । भारतकै कलाकार उमाशंकर भेङ्कतापतिले पुरै क्यानसभालाई ‘डाइरिज अफ नेपाल’ को रूपमा चित्रण गरे । उनी नेपाल आएदेखि घुम्दा देखेका दृश्य, अनुभूतिको संगालोका रूपमा चित्र बनाएका हुन् । ‘चित्र आफैंमा एउटा डायरी जस्तै हो कलाकारका लागि,’ उनी भन्छन्, ‘मैले जे देखेर महसुस गरे कलात्मक चित्रमा उतारेको छु ।’ भत्किएको मन्दिर, देवालय, धार्मिक स्थलका भिन्नाभिन्नै आकृति उनको चित्रमा नियाल्न सकिन्छ ।
चार महिनाअघि चेन्नाईको चोलामण्डल आर्टिस्ट भिलेजमा २० दिन बसेर आएका नेपाली कलाकारले पनि कार्यशालामा चित्र बनाए । उनीहरूले चोलामण्डलको अनुभूति अझै ताजै राखेका छन् । कलाकार नरेश शैजीले चोलामण्डल भिजेल घुमेर आउँदा त्यहाँका कलाकारको एकरूपताले निकै प्रभावित भएको बताए । कलाकारहरू मिलेर म्युजियमसहितको आर्ट भिलेज निर्माण गरी कला हब बनाउनु ठूलो उपलब्धि भएको बताए । ‘हामी नेपाली कलाकारमा एकरूपता छैन,’ उनी भन्छन्, ‘चोलामण्डलका कलाकारबाट सिक्नुपर्ने धेरै छ ।’
चित्रकार प्रमिला बज्राचार्यको ‘वुमन एक्सप्रेस’ आकृति प्रदर्शनीमा देख्न सकिन्छ । महिलाको आकृतिलाई स्याडोमा राखेर बाहिर पृष्ठभूमि लाइट बनाउनुको भाव विशेष छ । ‘महिला अँध्यारोमा छन्, बाहिरी दुनियाँ उज्यालो छ’ भन्ने सन्देश दिन विम्बात्मक चित्र कोरेको उनको भनाइ छ । त्यस्तै, प्रदर्शनीमा पानी रंग माध्यम अपनाएर दिवेश प्रधानले कोरेको चित्र मर्मस्पर्शी छ । भक्तपुरमा कार्यशाला गर्दा उनले त्यहाँ जे दृश्य देखे त्यसैलाई रंगमा उतारे । भत्किन लागेको प्राचीन घरहरूलाई टेकोले अडाएको आकृति उनको चित्रमा नियाल्न सकिन्छ । कलाकार सुनिल रन्जितको ‘तमोशोमा’ शीर्षकको चित्र र जीवन राजोपाध्यायको अनटाइटल शीर्षकको चित्र अमूर्त फर्ममा छन् । संयुक्त चित्रकला प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।
