स्वर्ण उत्सवको बेला लाखे जात्राका अवसरमा खेलाइने फुटबलमा ब्रेक लाग्ने देखिएपछि स्थानीय युवाले समिति बनाएर भदौ १४ देखि २० सम्म प्रतियोगिता गर्ने भएका छन् ।
ताप्लेजुङ — लाखे जात्राको मौका पारेर २०२९ सालदेखि चल्दै आएको फुटबल प्रतियोगितामा ‘ब्रेक’ लाग्न नदिन स्थानीय युवा कसिएका छन् । सञ्चारकर्मी एवं फुटबल खेलाडी देवराज गुरुङको संयोजकत्वमा समिति बनाएर तयारी सुरु गरिएको हो ।
प्रतियोगितालाई पुरानै लयमा फर्काउन ए डिभिजन क्लब, विदेशी खेलाडी र विदेशी क्लबसमेतलाई आयोजकले आमन्त्रण गर्ने भएका छन् । ‘खेल मैदान मेसिन लगाएर सम्याउनुपर्ने रहेछ । दर्शकका लागि मैदानको चारैतिर बाँसको प्याराफिट बनाउनुपर्ने भएको छ,’ संयोजक गुरुङले भने, ‘खेलप्रतिको क्रेज र परम्परालाई मर्न नदिन प्रतियोगिता सञ्चालन गर्ने प्रयासमा छौं ।’ भदौ १४ मा रक्षा बन्धनका दिन उद्घाटन गरेर २० गते श्रीकृष्ण जन्माष्टमीका दिन समापन गर्ने तयारीमा जुटेको गुरुङले बताए ।
विगतका आयोजक र पुराना खेलाडीबाट पनि ढाडस र सहयोग पाएकाले सफल पार्नेमा आशावादी रहेको गुरुङले विश्वास व्यक्त गरे । समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार प्रतियोगितामा ४१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । चार वर्षअघि भएको प्रतियोगितामा दर्शकबाट २० लाख रुपैयाँ उठेकाले मुख्य स्रोत त्यसैलाई मानिएको उनले बताए । ‘फुङलिङ नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ र अरू आठ वटा गाउँपालिकाले पनि सघाउने बचन दिएका छन्,’ समितिका सचिव टिकेन्द्र नेपालीले भने, ‘प्रायोजकबाट पुरस्कार र सहयोगीबाट प्रतियोगिता सक्ने गरी रकम जुट्ने अपेक्षा गरेका छौं ।’
सदरमुकाम चलायमान हुने र लामो इतिहास बोकेको प्रतियोगिता भएकाले हरेक उद्योगी, व्यापारीले सहयोग गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष नारान थापा बताउँछन् । ‘यहाँ त आयोजनामा चासो दिने नभएर समस्या भएको थियो,’ उनले भने, ‘युवा साथी अगाडि आए हामी पनि साथमै छौं, अब सफल हुन्छ ।’ स्थानीय भानुजन माविको मैदानमा प्रतियोगिता हुनेछ । फुटबलका लागि इलेभेन साइजको यो एकमात्र मैदान हो ।
यसअघि प्याराफिटसहितको संरचना भए पनि विद्यालयले आफ्नो कम्पाउन्ड लगाउन त्यसलाई भत्काएर पुनर्निर्माण गरेको छ । मैदानबाट बाहिरिने एकमात्र ढोका भएकाले भागदौड भएको खण्डमा भने चुनौती हुन सक्ने चिन्ता आयोजकको छ । टिकट काटेर मात्रै प्रवेश पाइने भएकाले एकमात्र द्वार हुँदा आयोजकलाई आर्थिक लाभ भने हुन्छ । मैदानको पानी निकास गर्ने ठाउँ नहुनु अर्को चुनौतीका लागि पानी फाल्ने मेसिन प्रांगणमै राख्नुपर्ने भएको नेपालीले बताए । मैदान तयारी अवस्थाको बनाउनकै लागि दुई लाख बढी खर्च हुने आयोजकको बुझाइ छ ।
धान, कोदो, मास, मस्याङ जस्ता बाली लगाएर बसेका गाउँले भने यो प्रतियोगिता औधी रुचाउँदै आएका छन् । लाखे जात्रा भर्ने, लाखे नाच र फुटबल हेर्न सदरमुकाम भित्रिनेको विगतमा ठूलै ताँती देखिन गरेको थियो । कोभिडका कारण जमघट गर्न नमिल्ने भएकाले दुई वर्ष प्रतियोगिता भएन भने गत वर्ष मैदान निर्माणाधीन अवस्थामा रहेकाले प्रतियोगिताको चर्चै भएन । यो वर्ष पनि नभए प्रतियोगितामा ब्रेक लाग्ने अवस्था सिर्जना भएको थियो । तर प्रतियोगिताको अनिश्चितताबारे कान्तिपुरले समाचार छापेपछि स्थानीय युवा जागेका हुन् । जसका कारण प्रतियोगिताको तयारीले गति लिएको छ ।
यो वर्ष पनि विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५१ हजार नगद पुरस्कार दिने आयोजकको भनाइ छ । बाहिर जिल्लाबाट आएका खेलाडीलाई बास, भोजनको व्यवस्था गर्नुपर्ने, खेलेको दिन, अघिल्लो र पछिल्लो दिनको समेत भत्ता दिनुपर्ने भएकाले ठूलो खर्च खेलाडीमा हुने गर्छ । यसपछिको खर्च स्वयंसेवकका लागि हुन्छ । दर्शकबाट सेमिफाइनल अघिसम्म प्रतिव्यक्ति एक सय, सेमिफाइनलमा १ सय ५० र फाइनलमा दुई सय रुपैयाँ लिने तयारी आयोजकको छ । काठमाडौं, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र भारतको सिक्किम वा दार्जेलिङको टिम बोलाउने मनस्थितिमा आयोजक छन् ।
