आजकै दिन : गद्दाफी शासन अन्त्य

भाद्र ६, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०११ मा आजकै दिन (अगस्ट २३) लिबियामा मुअम्मर गद्दाफीको शासन अन्त्य भएको थियो । विद्रोही फौजले लिबियाको राजधानी त्रिपोलीस्थित उनको घर नियन्त्रणमा लिएसँगै उनको चार दशक लामो शासन अन्त्य भएको थियो ।

त्यसपछि फरार भएका उनी करिब दुई महिनापछि गृहनगर सिर्तमा भएको युद्धमा मारिएका थिए । २०११ को अक्टोबरमा नेटो र राष्ट्रिय अन्तरिम परिषद्का सेनाले सिर्त सहरमा गरेको आक्रमणका क्रममा उनको ज्यान गएको बताइएको थियो । 

१९४२ को जुन ७ मा जन्मिएका गद्दाफी १८ वर्षको उमेरमा सेनामा भर्ती भएका थिए । राजा इद्रिस उपचारका लागि टर्की गएको बेला गद्दाफी नेतृत्वको एक सैनिक समूहले रक्तपातविहीन सत्ताकब्जा गरेपछि उनी १९६९ मा सत्तामा आएका थिए । त्यतिबेला उनी २७ वर्षका मात्र थिए । 

साम्यवाद र पुँजीवादलाई समायोजन गरेर आफ्नो छुट्टै दर्शन बनाएका गद्दाफीले आफू राजाहरूको पनि राजा भएको बताउने गर्थे । क्रान्तिकारी राष्ट्रवादीको छविसँगै शासन सत्तामा पुगेका गद्दाफीले चार दशक लामो शासन शैलीका कारण सन्काहा र बौलाहाको विशेषण पाएका थिए । 

उनको शासनशैली मन नपराए पनि नागरिकहरू विरोधमा बोल्न डराउँथे । तर २०११ को सुरुआतमा ट्युनिसिया र इजिप्टमा भएका सरकारविरोधी प्रदर्शनपछि भने लिवियाली नागरिक सडकमा उत्रिएका थिए । त्यसको ६ महिनामै सत्ता छाडेर भाग्न बाध्य भएका गद्दाफी दुई महिनापछि मारिएका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully