रोल्पा — मुलुकमा १० वर्ष चलेको सशस्त्र द्वन्द्वको उद्गम थलो भनेर चिनिन्छ, रोल्पा । सशस्त्र द्वन्द्वको उद्गम स्थानका रूपमा चिनिने रोल्पालाई फरक तरिकाले चिनाउन यहाँका युवा तम्सिएका छन् ।
जिल्लालाई फरक पहिचान दिन सक्रिय युवामध्येका हुन् जेलबाङका ३५ वर्षीय बाल्कुराम पुन । रोल्पा–रुकुम जोडेर गुरिल्ला ट्रेलका रूपमा विकास गर्ने योजनामा लामो समयदेखि उनी सक्रिय छन् । द्वन्द्वको स्मरण गर्न मात्रै होइन, त्यसलाई भुलेर शान्तिलाई स्थायित्व दिलाउने उनको ध्येय छ ।
सशस्त्र द्वन्द्वका क्रममा मुलुकमै सबैभन्दा धेरै मानवीय क्षति भएको जेलबाङमा जन्मिएका उनी एक दशकदेखि जिल्लाको नयाँ परिचय कायम गर्ने योजनामा तल्लीन छन् । ‘सशस्त्र द्वन्द्व सकिएको सार्वजनिक रूपमा महसुस गराउन जरुरी छ,’ उनले भने, ‘त्यसैले शान्तिप्रति प्रेम बढाउन यस क्षेत्रमा नयाँ गतिविधि आवश्यक छन् ।’ स्थानीयको आयआर्जनका लागि होम स्टे समेत सञ्चालन गर्न चाहन्छन् छन् । त्यसका लागि स्थानीय तहका जनप्रतिनिधि, पर्यटन क्षेत्रका अगुवा, बुद्धिजीवी र महिला तथा आमा समूहसँग सहकार्य गरिरहेका छन् । ‘विदेशबाट फर्केपछि म यहींको पर्यटकीय विकासमा लागिपरेको छु,’ उनले भने । उनी भारतको लद्दाक, हिमाचल, उत्तराखण्ड र अन्य हिमाली क्षेत्रमा लामो समय टुर गाइडका रूपमा कार्यरत थिए ।
सरकारले रोल्पा र रुकुमलाई जोड्ने लक्ष्यसाथ पूर्वको बेनीदेखि डोल्पाको दुनैसम्मका पर्यटकीय भागलाई गुरिल्ला ट्रेलका रूपमा विकास गर्ने योजना अघि सारेको थियो । त्यसै लक्ष्यसाथ गुरिल्ला ट्रेलको विकास गर्ने योजना बनाइयो । म्याग्दीको बेनीदेखि गुर्जाखानी, दुले, पेल्मा, मैकोट, गर, पद्मी, वीरगुम, तकसेरा, लुकुम, महत थबाङ, जलजला, गल्फुखोला, बाघटारे, जेलबाङलाई एउटै पदमार्गमा जोडेर गुरिल्ला ट्रेल बनाउने योजना पनि अघि सारिएको थियो । अहिले यी क्षेत्रमा मगर समुदायको बाहुल्य रहेको छ । यी क्षेत्रको विकास गर्न सके यहाँको ऐतिहासिकता संरक्षण गर्न राज्यको ध्यान पुग्ने बाल्कुरामले बताए । ‘अर्गानिक संस्कृति, खानाका परिकार, स्थानीयको व्यवहार र पर्यटकीय महत्त्वको विकास गर्न गुरिल्ला ट्रेलको विकास आवश्यक छ,’ उनले भने, ‘ट्रेल सञ्चालनमा ल्याउन ढिलाइ गरिनु हुन्न ।’
यसका साथै जिल्लाभित्र गुरिल्ला ट्रेल जत्तिकै महत्त्वको अर्को ट्रेल पनि छ । अहिले जलाकी ट्रेलका रूपमा चिनिने जलजला, जन्तरे, टीकाचुली, तिलाचन, पातिहाल्ना, खानीखोला, निस्याल्ढोर, ढोरपाटन क्षेत्रलाई जोडेर यस ट्रेललाई बुझ्ने गरिएको छ । गुरिल्ला ट्रेलले ८ देखि ११ जिल्ला जोड्छ भने जलाकी ट्रेलले बागलुङ, रोल्पा र रुकुम पूर्वका सुन्दर र ऐतिहासिक स्थान जोड्छ । यी क्षेत्रको विकास गरेर स्थानीय भाषा, संस्कृति, रहनसहन र सम्पदालाई संरक्षण गर्न स्थानीयदेखि प्रदेश र संघीय सरकारको भूमिका महत्त्वपूर्ण हुनेमा उनको विश्वास छ । ‘स्थानीय तहले प्राथमिकता दिन सके यस क्षेत्रको पर्यटकीय विकास गर्न मुस्किल छैन,’ उनले भने, ‘यी क्षेत्रलाई छोएर निर्माण भइसकेको मध्यपहाडी लोकमार्ग र निर्माण हुँदै गरेका अन्य सडक योजनाले यस क्षेत्रको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।’
गुरिल्ला ट्रेलअन्तर्गत पर्ने रुकुम पूर्वका महत, लुकुम, तकसेरा, मैकोट र रोल्पाका थबाङ र जेलबाङ गाउँ मगरबस्ती भएका गाउँ हुन् । बाक्लो बस्ती, मगर भाषा बोलिने र भिन्नै संस्कृति भएका यी गाउँमा विगतको सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादी विद्रोहीको बाक्लै प्रभाव परेको थियो । यस क्षेत्रको धार्मिक, पर्यटकीय, सशस्त्र द्वन्द्वकालीन सम्बन्ध भएका क्षेत्र र ऐतिहासिकतासँग जोडिएका क्षेत्रभित्र सम्भावनायुक्त गन्तव्य पहिचान गर्नु बाल्कुरामको मुख्य चासो हो ।
सदरमुकाममा पर्यटकीय चेतना विस्तार गर्ने कार्यालय खोलेर जिल्ला र क्षेत्रकै विकास गर्न उनलाई साथ दिन प्रदेश सांसद दिपेन्द्रकुमार पुनले स्थानीय तहसँग आग्रह गरेका छन् । ‘पहिले युद्ध लडेका क्षेत्रको संरक्षण गर्नु र विकास गर्नु महत्त्वपूर्ण कुरा हो,’ सांसद पुनले भने, ‘स्थानीय तहले त्यसतर्फ ध्यान दिनु आवश्यक छ ।’ बाल्कुरामले जिल्लाका पर्यटकीय सम्भावनायुक्त क्षेत्रमा हेली टुर गराउनका लागि गत वर्ष समन्वयसमेत गरेका थिए । ‘त्यस क्रममा लिबाङदेखि जलजलासम्म हेली टुर गर्दा यहाँको पर्यटकीय महत्त्व राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको थियो,’ बाल्कुरामले भने, ‘यो क्रम रोकिनु हुन्न भनेर लागेको छु ।’
