काठमाडौँ — सन् २०१९ मा आजकै दिन (जुन ३०) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली भूमिमा पुगेका थिए । उनी उत्तर कोरियाली भूमिमा पाइला टेक्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुन् ।
ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दुई कोरियालाई छुट्याउने पानमुनजोमस्थित गैरसैनिक क्षेत्रमा भेट भएको थियो । ट्रम्प दक्षिण र किम उत्तरतर्फ उभिएर हात मिलाएका थिए । त्यस क्रममा किमले ट्रम्पलाई भेटेर खुसी लागेको बताएका थिए । त्यसको जवाफमा ट्रम्पले उक्त क्षण निकै गज्जब भएको प्रतिक्रिया दिएका थिए ।
त्यसलगत्तै किमले आफ्नो देशतर्फ बोलाएपछि ट्रम्प सीमा पार गरेर करिब बीस पाइला जति उत्तर कोरियाली भूमिमा हिँडेका थिए । त्यसपछि दुई नेताहरूले गैरसैनिक क्षेत्रको सीमा कार्यालयमा करिब पौने घण्टा वार्ता गरेका थिए । वार्ताका क्रममा ट्रम्प र किमबीच उत्तर कोरियाली परमाणु कार्यक्रम र अमेरिकी नाकाबन्दीलगायतका विषयमा कुराकानी भएको थियो । ट्रम्प र किमबीच पहिलो पटक २०१८ को जुन १२ मा सिंगापुरमा भेटवार्ता भएको थियो ।
