ब्लास्ट रोगले संकटमा परेको जुम्ली मार्सी धानलाई रोग प्रतिरोधात्मक बनाउन दक्षिण एसियामै पहिलो पटक नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ । नार्क, वोङ्गर विश्वविद्यालय र जिमोन टेक्नोलोजी कम्पनी एलजीसीले संयुक्त रूपमा कास्प प्रविधि प्रयोगमा ल्याएका हुन् ।
विराटनगर — जुम्लाको छुमचौर मार्सी धान लगाइने संसारको सबैभन्दा उच्च स्थान हो । जुम्लाको चिसो हावापानीकै कारण त्यहाँको मार्सी एकदमै स्वादिलो, पौष्टिकतत्त्वले भरिपूर्ण र आडिलो हुन्छ । केही रातो रङको मार्सीमा अन्य भिटामिन पाइन्छ । जसका कारण यो धानको मूल्य नै किलोको सय रुपैयाँ पर्छ ।
यही मार्सी धान पछिल्लो समय ब्लास्ट रोगले संकटमा पर्न थालेपछि जुम्लावासीलाई चिन्ताले पिरोल्न थालेको थियो । तर अब भने उनीहरूको चिन्ता हट्ने देखिएको छ । कारण, जुम्ली मार्सी धानलाई रोग प्रतिरोधात्मक बनाउन दक्षिण एसियामै पहिलो पटक नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), बेलायतस्थित वोङ्गर विश्वविद्यालय र जिमोन टेक्नोलोजीसम्बन्धी कम्पनी एलजीसीले संयुक्त रूपमा नयाँ प्रविधि प्रयोगमा ल्याएका हुन् । कृषि अनुसन्धान कार्यालय जुम्लाका प्रमुख तथा वरिष्ठ वैज्ञानिक रेशमबाबु अम्गाईंले मार्सी धानलाई रोगप्रतिरोधी बनाउने अध्ययनका लागि कास्प प्रविधिको प्रयोग गरिएको बताए ।
‘यो प्रविधि दक्षिण एसियामै मार्सी धानमा पहिलो पटक प्रयोग गरिएको हो । अहिले अन्य बालीमा पनि प्रयोग गर्न थालिएको छ,’ अम्गाईले भने, ‘हामीले सफलतापूर्वक प्रयोग गरेका छौं । आगामी दिनमा यसले हाम्रो कृषि अनुसन्धान कम समय, कम खर्च र बढी प्रभावकारी रूपमा सम्पन्न गराउन सहयोग पुग्छ ।’ छुमचौरबाट सन् २००५ मा संकलन गरिएको मार्सीलाई खुमलटारस्थित जैविक प्रयोगशालामा अनुसन्धान गरिएको थियो । छुमचौर समुद्र सतहबाट २८ सय ५० मिटर उचाइमा छ ।
मार्सीमा देखिएको समस्याबारे सन् २०१० देखि नार्कमा अनुसन्धान हुँदै आएको थियो । ‘नार्कले यस विषयमा आफ्नै तरिकाले अनुसन्धान गरिरहेको थियो । तर पछि अन्य जोडिन आउनुभएको हो,’ अम्गाईले भने । अनुसन्धानमा वोङ्गर विश्वविद्यालयका प्राध्यापक जोन विट्कोम र क्याथरिन स्टिल तथा जिमोन्स लन्डनकी प्रमुख वैज्ञानिक दर्शना व्यास र नार्कबाट अम्गाईले नेतृत्व गरेका थिए ।
बालीको समस्याग्रस्त जिनोमलाई हटाउन वा थप्ने कार्य मोलिक्युलर मार्कर एसिस्टेन्ट सेलेक्सन (मास) विधिबाट गर्ने गरिन्छ । मासलाई पहिलो माइक्रोस्याटलाइट प्रविधिको प्रयोग गरेर त्यसको प्रभावकारिता जाँच गरिन्थ्यो । यसपटक मार्सीमा भने कास्प (कम्पिटेटिभ एलिल इस्पेसिफिक पोलिमर्पिक चेन रियाक्सन) को प्रयोग गरिएको हो । एउटा प्रजातिको बालीको जिनोम अर्कोमा सार्दा कति सफल भयो/भएन भन्ने विषयको अध्ययन यसले गर्छ । यो प्रविधि सन् २०१५ मा विकसित भएको हो । यसअघि माइक्रोस्याटलाइट प्रविधिको प्रयोग गर्ने गरिएको थियो ।
‘पहिलो प्रविधिमा ३ महिना कुर्नुपर्थ्यो । नयाँमा एक महिना नै परिणाम हेर्न सकिन्छ,’ अम्गाईले भने, ‘पहिलोको प्रविधिमा एक पटक प्रयोग गर्दा ५ डलर खर्च हुन्थ्यो अहिले १ डलर खर्च हुन्छ । नयाँ प्रविधिले सटीक जानकारी पनि दिन्छ ।’ धान फल्न मात्रै ६ महिना लाग्ने जुम्ली मार्सीमा ब्लास्ट रोग (मरुवा) को ठूलो संकट निम्त्याएको थियो । अनुसन्धानहरूले ब्लास्टको कारण जुम्ली मार्सीको उत्पादनमा २६ प्रतिशत कम हुने गरेको देखिएको छ । जुम्लामा २८ हजार हेक्टर जमिनमा धान खेती हुनेमध्ये आधामा किसानले मार्सी लगाउँदै आएका छन् । प्रिमयम मूल्य पाउने हुनाले किसानले बिक्री गर्दै आएका छन् । अहिले प्रतिहेक्टर १.८ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।
‘आगामी वर्षबाट किसानलाई धानको तीनवटा नयाँ बीउ उपलब्ध गराउने तयारी छ,’ अम्गाईंले भने, ‘परीक्षणका लागि गरिएको उत्पादनबाट किसानहरू सन्तुष्ट देखिनुभएको छ । हामीले गरेको अध्ययनले जुम्लाका किसानले मात्रै वार्षिक रूपमा साढे ६ करोड रुपैयाँ उत्पादन गुमाउँदै आउनुभएको छ ।’ जुम्लामा रहेका प्रमुख दुई उपत्यका सिंजा र खलंगामा मार्सी लगाउने गरिएको छ । नार्कले नयाँ उपलब्ध गराउनका लागि धानको नाम ‘काली मार्सी १८’, ‘काली मार्सी २०’ र ‘काली मार्सी २२’ राखेको छ ।
‘सबै गुण र चरित्र जुम्ली मार्सीजस्तै छ । तर रोग नलाग्ने बनाएका हौं । नार्कको जैविक प्रयोगशाला ५ हजार लाइन बनाएका थियौँ । त्यसमध्ये जुम्लामा प्रयोगशालामा ४२ लाइन जुम्ला लगियो र त्यहाँको पनि अनुसन्धान गरेपछि किसानलाई ६ वटा उपलब्ध गराएका थियौं,’ अम्गाईले भने, ‘त्यसमा किसानहरूले ३ वटा मात्रै मन पराउनुभयो ।’ उच्च भूभाग हुने, तर ब्लास्टले समस्या पारेको पीआई ३३ को जिनलाई मार्सीमा राखिएको अम्गाईले बताए ।
‘यसमा अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) बाट ल्याएको आईआर फिक्टिफोरको धानमा पीआई ३३ भन्ने ब्लास्ट प्रतिरोधी जिन राख्यौँ । त्यही गुणलाई हामीले जुम्ली मार्सीमा सार्न सक्यौँ भने त्यसले मार्सीलाई बचाउन पनि सक्छौं र किसानको आर्थिक अवस्था पनि सुधार्न सक्छौँ भनेर लागिपरेका हौं,’ अम्गाईंले भने ‘हामीले जुम्ली मार्सीलाई पोथी र आईआर ६४ लाई भाले बनाएर त्यसबाट निस्केको सन्ततिलाई छान्दै गएको हो । हामीले जुम्ली मार्सीको सबै गुण र एउटा मात्रै गुण आईआर ६४ मा आउने बनायौं । त्यसमा ४२ वटा निकाल्न सफल भएका थियौं ।’ त्यसलाई पनि घटाउँदै जुम्लाको प्रयोगशालाबाट ६ प्रकारको बिउ किसानलाई नार्कले बाँडेको थियो । चन्दननाथले १२ औं शताब्दीमा छुमचौरमा कश्मीरबाट धान भित्र्याएको बताइन्छ ।
