डेन्टिस्टको नयाँ ‘डेस्टिनेसन’

डेन्टिस्ट सन्ध्या कँडेलले चितवनबाट सुरु गरेको पोसाक भाडामा उपलब्ध गराउने व्यवसाय हेटौंडा, काठमाडौं हुँदै पोखरासम्म फैलिएको छ । कोभिड महामारीसँगै जागिर गुमाएपछि उनले सुरु गरेको ‘आवर क्लोसेट’ मा पास्नी, जन्मदिन, व्रतबन्ध, इंगेजमेन्ट, मेहन्दी/हल्दी तथा विवाहलगायत समारोहका लागि आवश्यक पर्ने पोसाक भाडामा पाइन्छन् । 

असार १४, २०८०

रमेशकुमार पौडेल

चितवन — दन्त चिकित्सक (डेन्टिस्ट) दिनचर्या सामान्यतः अस्पताल वा क्लिनिक पुगेर बिरामीको हेरचाह गर्दैमा बित्छ । तर डेन्टिस्ट सन्ध्या कँडेलका पाइला भने अस्पताल वा कुनै क्लिनिकमा नपरेका लामै समय भयो । खासमा कोभिड महामारीसँगैको लकडाउनले उनलाई फुर्सदिलो बनायो । त्यो बेला फुरेको नयाँ आइडियाले भने उनलाई फरक काममा निकै व्यस्त बनाएको छ । 

लकडाउनअघि उनी भरतपुरस्थित मालपोत चोकमा रहेको घरबाट निस्केर भरतपुर ब्यारेक आडको एलाइभ अस्पताल पुग्थिन् । तर, पछिल्लो समय भने उनको डेस्टिनेसन बदलिएको छ । घरबाट निस्केर बसपार्क चोक हुँदै केही पूर्वपट्टि रहेको कार्यस्थल पुग्छिन् । भर्खर बनेको तीनतले घरको दोस्रो तलामा चहलपहल छ । कँडेलको ‘आवर क्लोसेट’ मा ग्राहकहरूको ओहोरदोहोर चलिरहेको हुन्छ । कपडा सिलाउँदै गरेको मेसिनका आवाज सुन्न सकिन्छ । आएका ग्राहकलाई कपडा देखाउन मात्रै उनले ६/७ जना कर्मचारी खटाएकी छन् । लैजाने मात्र होइन, लगेका लुगा फिर्ता गर्न आउने पनि उत्तिकै हुन्छन् ।

‘आवर क्लोसेट’ ले तयारी पोसाक बिक्रीभन्दा पनि भाडामा पनि दिन्छ । अचेल गर्भवती भएपछि ‘बेबी सावर’ गर्ने चलन बढेको छ । जन्मेको ६ महिनामा पास्नी, हुर्कंदै गर्दा ‘बर्थ डे’ र ‘व्रतबन्ध’ गर्ने पुरानै चलन हो । तर, यी सबै अवसरलाई भव्य रूपमा मनाउन थालिएको छ । बिहे पनि पहिलाको जस्तै सामान्य कार्यक्रममा सीमित छैन । बिहेको ‘इंगेजमेन्ट’ अनि ‘मेहन्दी’, ‘हल्दी’ पनि भव्य नै हुन्छ । बिहेका दिन र त्यसपछि हुने भोजमा पनि आकर्षक पहिरन र गहना नलगाउने कोही हुँदैनन् । तर यस्ता तडकभडकमा ठाँटिन आर्थिक रूपमा सबैलाई कहाँ पुग्ला र ? त्यस्तो वर्गलाई ‘राहत’ दिन खुलेको हो ‘आवर क्लोसेट’ । 

बीस हजार रुपैयाँभन्दा बढी पर्ने बिहेको ‘लेहेङ्गा’ यहाँ ४५ सय रुपैयाँ भाडा तिरेपछि पाइन्छ । अन्य समारोहका लागि चाहिने आकर्षक र मूल्यवान् पोसाक भाडामा पाइने भएपछि सेवा लिन आउनेहरूको चाप बढ्दो छ । तीन वर्षअघि कँडेलले सुरु गरेको यो व्यवसाय अहिले काठमाडौं, हेटौंडा र पोखरासम्म पनि फैलिएको छ । कँडेलले यसरी व्यवसायमा व्यस्त भइएला भनेर सोचेकी भने थिइनन् । भरतपुरस्थित स्मल हेभन स्कुलबाट २०६६ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनले चिकित्सक बन्ने लक्ष्य लिएकी थिइन् । स्थानीय प्रेरणा कलेजमा विज्ञान विषयमा १२ कक्षा सकेपछि उनी दन्त चिकित्सक बन्न भरतपुरको पुरानो मेडिकल कलेजमा बीडीएसमा भर्ना भइन् । 

बीडीएस पूरा भएपछि एलाइभ अस्पतालमा काम सुरु गरेकी थिइन् उनले । तर, त्यहाँ काम सुरु गरेको दुई वर्ष नबित्दै कोभिड महामारी सुरु भयो । लकडाउनका बेला घरमै बस्दा उनले नयाँ कामबारे सोच्न थालिन् । चार वर्षअघि बिहे गरेकी उनी घुम्न जाँदा काठमाडौंमा भाडामा राम्रा पोसाकहरू पाउने थाहा पाएकी थिइन् । कँडेलले भरतपुरमै त्यस्तो व्यवसाय सुरु गर्नेबारे सोच बनाइन् । ‘सुरुमा मेरा आफ्नै कपडा जो एक/दुई पटक मात्रै प्रयोग भएका थिए ती राखें । साथीहरूका पनि त्यस्ताखाले कपडा मागें । दुई लाख रुपैयाँ जति खर्च गरेर नयाँ पनि सिलाएँ,’ कँडेलले सुनाइन् । 

अस्पताल आउने क्रममा गर्भवतीहरूले ‘बेबी सावर’ गर्नका लागि पोसाक खोज्दै उनको पसलमा छिर्न थाले । व्यापार सोचेभन्दा राम्रो भयो । मालपोत चोकमा ठाउँ साँघुरो भयो । महिना दिनपछि नै उनी फराकिलो ठाउँ खोज्दै भरतपुर केन्द्रीय बसपार्क नजिक आएकी हुन् । त्यसपछि उनले काठमाडौंसम्म पनि कपडा भाडामा पठाउन थालिन् । भरतपुरदेखि पठाउनभन्दा उतै सोरुम खोल्न सहज हुने ठानेर अघिल्लो वर्षको वैशाखमा सिनामंगलमा काम थालिन् । गएको मंसिरमा हेटौंडा टीसीएन रोडमा र माघमा पोखरा सिर्जना चोकमा पनि उनका ‘आउटलेट’ खुलेका छन् । तर, उनले भने बुटवल र विराटनगरसम्म सेवा दिने गरेकी छन् । सबैतिर गरेर उनले २५ जनाभन्दा बढीलाई रोजगारी दिएकी छन् ।

दुई लाख रुपैयाँबाट सुरु भएको उनको व्यवसायमा अहिले कामदार र कर्मचारीको तलब र घर भाडाका लागि मात्रै महिनाको चार लाख खर्च हुन्छ । खर्च कटाएर हुने आम्दानीबाट भने उनी सन्तुष्ट छिन् । चितवनमा भरतपुर नारायणगढ क्षेत्रमा यसरी कपडा भाडामा लगाउने चलन खासै थिएन । टेलर र बुटिकहरूले फाट्टफुट्ट नगरेका भने हैनन् । तर, बिक्रीमै जोड गर्थे, निकै गहिरिएर सोधखोज गरेपछि भाडामा पनि दिन सक्ने कुरा चुहाउँथे । यस्तो बेला कँडेलले सिधै भाडामा पहिरन दिने व्यवसाय सुरु गरेकी हुन् । 

व्यवसाय गर्ने नौलो सोचलाई प्रोत्साहित गर्नर् गत वर्ष चितवन महोत्सवमा उनलाई एक लाख रुपैयाँ नगदसहित पुरस्कृत गरियो । ‘अहिले पनि सिधै भाडामा दिने पसलहरू त खुलेका छैनन् । तर, केही बुटिकहरूमा फोटोकपी पेपरमा प्रिन्ट गरेर यहाँ पोसाकहरू भाडामा पाइन्छ भनेर लेखेको देखेकी छु,’ उनले भनिन् । जीवनको महत्त्वपूर्ण समारोहका लागि भाडामा कपडा लिनुको कारण पैसा नभएर मात्रै नभएको उनको भनाइ छ ।

‘रकम नभएकाहरू यस्ता कपडा भाडामा लिन आउँछन् भन्ने पनि हैन । मेरा ग्राहक राम्रो कमाइ हुने चिकित्सक, नर्स र बैंकका कर्मचारी पनि छन् । बिहे पक्कापक्की भयो तर सारा लुगाकपडा, गहना किन्न उनीहरूलाई समय कम छ । आम्दानी राम्रो भए पनि समय कम भएकाहरू ग्राहक छन्,’ कँडेल भन्छिन् । जीवनमा एक पटक मात्रै प्रयोगमा आउने पहिरनमा धेरै खर्च किन गर्ने भन्नेहरू पनि उनका ग्राहक छन् ।

सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने चलनले पनि उनको व्यापार बढाएको छ । ‘केवल भिडियो बनाउनका लागि मात्रै भाडामा खोज्न त कमै आउँछन् । तर, बेबी सावर, इंगेजमेन्ट, मेहन्दी, हल्दीलगायतका अवसरमा पहिरन लगाएर टिकटक बनाउने चलनले हाम्रो व्यापारलाई मद्दत नै गरेको छ,’ कँडेलको भनाइ छ । अरूले बिहे या अन्य समारोहमा प्रयोग गरेका पहिरन नकिने पनि उनले सोरुममा राख्ने गरेकी छन् । ती पहिरन भाडामा लागेको खण्डमा अनुपात मिलाएर रकम बाँडफाँट गर्ने गरेको उनी बताउँछिन् ।

कपडा सिलाएपछि ४ देखि बढीमा ६ पटकसम्म भाडामा लगाउने गरेको उनको भनाइ छ । कपडाको माग भएका नयाँ स्थानमा थप सोरुम खोल्नभन्दा पनि भएकैलाई राम्रोसँग चलाउने र राम्रो सेवा दिने उनको सोच छ । त्यसका साथै अस्पताल वा क्लिनिकमार्फत सेवा दिने योजना पनि बनाएकी छन् उनले । 

युवा ग्यालरी

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully