मिस्टर नेपालमा अन्तिम २० प्रतिस्पर्धी

असार १४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘मिस्टर नेपाल २०२३’ को अन्तिम स्पर्धाका लागि २० प्रतियोगी छानिएका छन् । देशभरबाट पहिलो चरणमा छानिएका तीन सय प्रतियोगीबाट अन्तिम २० छनोट गरिएको हो ।

अन्तिम २० मध्ये कतिपय चिकित्सक, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन्टलगायतका पेसाकर्मी छन् । आयोजक नेक्स्ट मोडेलस नेपालका अध्यक्ष रवि धमलाले छनोट भएका अन्तिम प्रतियोगीहरू केही दिनमा प्रशिक्षणमा जुट्ने बताए । प्रशिक्षणमा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाज सेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषय समावेश छन् ।

१६ वर्षदेखि ३२ वर्ष ननाघेका ५ फिट ८ इन्च माथि उचाइ भएका नेपाली युवाहरू सहभागी हुन सक्ने प्रतियोगिताका अडिसन राउन्ड विराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरा र काठमाडौंमा गरिएको थियो । प्रतियोगिताको शीर्ष विजेताले ५ लाख बराबरको पुरस्कारका साथै ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्न पाउँछन् । 

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता २००१ देखि आयोजना हुँदै आएको छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully