आजकै दिन : भर्सेलिजको सन्धि

असार १३, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९१९ मा आजकै दिन (जुन २८) मा ‘भर्सेलिजको सन्धि’ भएको थियो । उक्त सन्धिसँगै प्रथम विश्वयुद्ध आधिकारिक रूपमा अन्त्य भएको थियो । 

१९१४ को जुलाई २८ मा सुरु भएको विश्वयुद्ध १९१८ को नोभेम्बर ११ मा सकिएको थियो । त्यसको केही महिनामा भर्सेलिज दरबारको मिरर्स हलमा जर्मनी र बेलायत, फ्रान्स, अमेरिकालगायतका अलाइड पावर्सबीच सन्धिमा हस्ताक्षर भएको थियो । १९१९ मा फ्रान्समा आयोजित पेरिस शान्ति सम्मेलनका क्रममा सन्धिको मस्यौदा तयार पारिएको थियो । 

प्रथम विश्वयुद्धमा हालका लगभग ७० देशहरू संलग्न भएका थिए । ती देशमा त्यतिबेलाको करिब आधा जनसंख्या थियो । सुरुमा करिब एक दर्जन राष्ट्र मात्र युद्धमा होमिएका थिए, तर बिस्तारै अन्य देशहरूले आ–आफ्नो पक्ष लिएका हुन् । 

त्यतिबेलाका शक्तिशाली इटाली १९१५ र अमेरिका १९१७ मा युद्धमा सामेल भएका थिए । करिब दुई दर्जन देश भने तटस्थ रहेका थिए । प्रथम विश्वयुद्धमा ९७ लाख सैनिकको मृत्यु भएको थियो । तीमध्ये सबैभन्दा बढी जर्मन र रुसी सेना थिए । युद्ध र यसको प्रभावबाट करिब एक करोड सर्वसाधारणको ज्यान गएको अनुमान गरिन्छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully