सल्यान — बन्गाड कुपिण्डे नगरपालिका–१० की वर्ष २१ की गंगा पुरी शिवजन माविमा तीनवर्षे कृषि डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत छन् । बिहान ७ बजेदेखि ११ बजेसम्म उनी विद्यालयमा पढाइमा व्यस्त हुन्छिन् ।
शिक्षकले पढाएका कुरा अभ्यासमा उतार्न उनी बेलुकी ४ बजेपछि विद्यालयले आफ्नै जग्गामा बनाएको टनेलमा छिर्छिन् । त्यहाँ लगाएको तरकारी गोडमेल गर्छिन् । पानी र मल हाल्छिन् । फलेका तरकारी टिपेर बिक्री गर्छिन् । पछिल्लो समय उनको दैनिकी यसैगरी बित्न थालेको छ ।
यस्तै कृषि डिप्लोमा अध्ययनरत कपुरकोट गाउँपालिका–२ का बबि पुनको दैनिकी पनि पुरीको जस्तै छ । यी दुई मात्र नभई शिवजन माविका प्राविधिक धारअन्तर्गत पर्ने तीनवर्षे बाली विज्ञान (आई.एस.सी.ए.जी.) र १८ महिने कृषि जेटीए, भेटेनरी, वन प्राविधिक पढ्ने झन्डै ५० जना विद्यार्थीको पाँच समूहले पढाइसँगै तरकारी खेती गरेर आयआर्जन गर्दै आएका छन् । अधिकांशले पढाइ खर्च सजिलै जुटाउँछन् । समूहमा विभाजित विद्यार्थीले अहिले अध्ययन मात्र नभई एक सिजनमा मात्र प्रतिव्यक्ति ५ देखि ७ हजारसम्म कमाउने गरेका हुन् ।
कृषि डिप्लोमा पढ्दै आएका दार्मा गाउँपालिकाका विनोद पुनले पढ्दै अभ्यास स्वरूप तरकारी खेती गर्न थालेपछि पढाइ, कोठा भाडा र पकेट खर्च जुट्ने गरेको बताए । पढ्दै कमाउँदै कार्यक्रमबाट अध्ययन मात्र नभई खेतीपाती र व्यावसायिक कृषि पेसाबारे सिक्न पाइएको उनले बताए । ‘हाम्रो सात जनाको समूहलाई विद्यालयले एउटा टनेल उपलब्ध गराएको छ । त्यसमा तरकारीको बीउ उत्पादनदेखि खेती गर्दै आएका छौं । एक सिजनमा ४० देखि ८० हजारसम्म कमाइ हुने गरेको छ,’ उनले भने । आफ्नो समूहले अहिले काउलीलगायत विभिन्न तरकारीको बेर्ना उत्पादन गरेको र दैनिक हजारदेखि १५ सय रुपैयाँसम्मको बिक्री गरिरहेको बन्गाड कुपिण्डे–९ का छात्र रमेश रोकाले बताए । कार्यक्रमले पढाइसँगै आफूलाई व्यावसायिक बनाउन उत्साहित गरेको उनको भनाइ छ । अध्ययनकै क्रममा तरकारी खेतीको अभ्यासका कारण जागिरको चिन्ता गर्नु नपरेको शारदा नगरपालिका–८ की रक्षा श्रेष्ठ बताउँछिन् । ‘पढाइसँगै काम गर्ने अवसर मिल्दा शारीरिक व्यायाम पनि हुने रहेछ,’ उनले भनिन् ।
प्राविधिक धारअन्तर्गतका विद्यार्थीका लागि सरकारले पढाउँदै कमाउँदै कार्यक्रम लागू गरेर विद्यालयलाई १० लाख अनुदान उपलब्ध गराएको छ । त्यसबाट पछि फिर्ता गर्ने गरी एक समूहलाई २५ हजार दिँदै आएको विद्यालयका प्रधानाध्यापक हीरालाल नेपालीले बताए । उनका अनुसार उत्पादित वस्तु बिक्री गर्न विद्यालय परिसरमा बिक्री केन्द्र स्थापना गरिएको छ । ‘कार्यक्रम प्रभावकारी देखिएपछि विद्यालयमा ११ र १२ कक्षामा अध्ययनरत अन्य विद्यार्थीको पनि सहभागिता बढेको छ,’ उनले भने । यसरी विद्यार्थीले उत्पादन गरेका सबै तरकारी अर्गानिक भएकाले पनि बजारमा सहज रूपमा बिक्री भइरहेको कृषि प्राविधिक शिक्षक पुकार खनालले बताए । उनका अनुसार विद्यार्थीले तरकारी मात्र नभई बिरुवा र फूलका बेर्ना पनि उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।
