मध्यअमेरिकामा हिप–हप संगीत लोकप्रिय बनाउन एमिनेमको निकै ठूलो भूमिका छ । गीतमार्फत निम्न मध्यम वर्गका अमेरिकीको आवाज बोल्ने एमिनेम हिप–हप विधामा रहेको अश्वेतको वर्चस्व तोड्न पनि सफल भए । त्यसैले नयाँ पुस्तामा उनको प्रभाव अभूतपूर्व छ ।
काठमाडौँ — जति लोकप्रिय, उत्तिकै विवादास्पद पनि छ ‘ह्वाइट अमेरिका’ गीत । यसको सुरुमै भनिएको छ, ‘अमेरिकालाई हामी माया गर्छौं तर यो देशको नागरिक हुन पाएकामा कति खुसी छन् ?’ गीतको यति अंशले धेरै थोक भन्दैन त ? त्यसैले पनि यो लोकप्रिय भएको छ अनि विवादास्पद पनि ।
सन् २००२ मा रिलिज भएको यस र्याप/हिप–हप गीतका गायक हुन्, एमिनेम । उनी आफैंमा उत्तिकै विवादास्पद छन् । तर अरू धेरैभन्दा धेरै यो विधाका गायकभन्दा फरक छन् ।
उनको लोकप्रिय हुने र विवादमा पर्ने मापदण्ड नै फरक छ । हिप–हप संगीत भनौं अथवा र्याप, यो विधाको संगीतको इतिहास आफैंमा धेरै पुरानो छैन । सन् सत्तरीको दशकमा मात्र यसको सुरुआत भएको थियो । विशेषतः अमेरिकाको न्युयोर्कबाट । यो विधा मूलधारमा आउन अझ उत्तिकै समय लाग्यो । यो विधाको गीतलाई लोकप्रिय बनाउन अफ्रिकी अमेरिकीको ठूलो हात छ ।
यी अफ्रिकी अमेरिकीले हिप–हप हाम्रो आफ्नै संगीत पनि भन्न सक्छन् । अमेरिकामा हुने गरेको रंगभेद अनि त्यसैले सिर्जना गरेको सामाजिक असमानताप्रतिको आक्रोश पोखेर यो विधाका गीत गाउने गरिन्छ । अमेरिकामा यस्तै रंगभेद र सामाजिक असमानता श्वेतप्रति पनि त हुँदो हो । अमेरिकामा ती गोराका पनि आफ्नै समस्या हुँदा हुन् । एमिनेम गोरा र्यापर हुन् । उनको पूरा नाम हो, मार्सल ब्रुस । उनी हिप–हप संगीतको माध्यमबाट आफ्नो परिवेशलाई समेटेर एकखाले असहमतिको विचार पोख्ने गर्छन् ।
त्यसैले उनी र्यापरहरूमा धेरै–धेरै फरक छन् । उनलाई मध्य अमेरिकामा हिप–हप संगीत लोकप्रिय बनाउन सबैभन्दा ठूलो भूमिका खेलेको मानिन्छ । एमिनेमको सबैभन्दा ठूलो योगदान त यही रह्यो, यो विधामा रहेको अश्वेतको वर्चस्वलाई तोड्न सक्नु । उनका गीतले धेरै हदसम्म अमेरिकामा निम्न मध्यम वर्गको प्रतिनिधित्व गर्ने गरेको मानिन्छ । त्यसैले उनको प्रभाव नयाँ पुस्तामा धेरै रहेको मानिन्छ । ‘ह्वाइट अमेरिका’ त उदाहरण मात्रै हो । जस्तो, एमिनेमको सबैभन्दा चर्चित एउटा गीतमा पर्छ, ‘लुज एयरसेल्फ’ । यो गीत सन् २००२ को ‘एट माइल’ सिनेमाको हो । त्यस सिनेमाको मुख्य पात्र एमिनेममै रूपमा चित्रण गरिएको छ । पूरा सिनेमामा यो पात्र आफ्नो अलग परिचयका लागि संघर्ष गरिरहेका हुन्छन् । जस्तो, एमिनेम आफैंले एक हूल अश्वेत र्यापरबीच आफूलाई स्थापित गर्न संघर्ष गर्नुपरेको थियो ।
यो पात्रका आफ्नै धेरै समस्या हुने गर्छन् र अन्त्यमा उनले अन्य र्यापरबाट सम्मान पनि पाउने गर्छन् । यसलाई उनको सिग्नेचर सङ पनि भन्ने गरिन्छ । ‘स्टान’ यस्तै चर्चित अर्को गीत हो । यसलाई त अझ एमिनेमका अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट गीत मानिन्छ, कम्तीमा यस गीतमा बुनिएका शब्दको आधारमा । केहीले त यसलाई सांस्कृतिक कोसेढुंगा गीतसम्म पनि भनेका छन् । अनि केहीले यसलाई र्याप संगीतकै एक सर्वकालीन उत्कृष्ट गीत मान्छन् ।
यस पछाडिको कारण पनि स्पष्ट छ । सन् २००० मा जारी गरिएको यस गीत एमिनेमको तेस्रो एल्बमबाट हो । यो गीतमा तीन धार छन् । सुरुमै के स्वीकार गरिएको छ भने एमिनेम आफ्नो ड्रग्स प्रयोग गर्ने बानीबाट आजित छन् । यसबाट मुक्त हुन चाहन्छन् । आफ्ना गीतको माध्यमबाट उनी निकै चर्चित भए, ख्याति खुबै कमाए । यसबाट पनि समस्या त हुने रहेछ । यो गीतमा यिनै समस्याको पनि उल्लेख छ । अनि उनको प्रेम सम्बन्धबाट उत्पन्न भएका पारिवारिक तनावबारे पनि यस गीतमा लेखिएको छ ।
एमिनेमको उत्तिकै चर्चित अर्को एक गीत हो, ‘द वे आई एम’ । गीतको भावको अर्थमा यसको लगभग भाषा अनुवाद हुन्छ, ‘म जस्तो छु, त्यस्तै छु ।’ त्यसमा भनिएको छ, ‘म त्यस्तो होइन, जस्तो तिम्रा साथीले सोच्ने गर्छन् । म जस्तो छु, त्यस्तै छु ।’ यो गीत जारी हुँदाको समयमा पनि एमिनेम आफ्नो अलग परिचय बनाउन संघर्षरत थिए । यो भयो सन् २००० को सुरुतिरका कुरा । उनलाई त्यति बेला हिप–हप संगीतमा बाहिरिया मानिन्थ्यो र त्यहीअनुसार व्यवहार पनि गरिन्थ्यो ।
‘क्रिमिनल’ एमिनेमको एक अर्को सुन्नै पर्ने गीत हो । यो उनको सन् १९९९ को ‘द स्लिम साडी एलपी’ को गीत हो । यो गीतमा र्यापको हास्यरस रहेको मानिन्छ । र, थप एउटा गीतको प्रसंग र यो हो, ‘सिङ फर द मोमेन्ट’ । यो भने उनको चौथो एल्बम ‘द इमिनेम शो’ को मुख्य गीत हो । यो गीतको विशेषता भनेको यसमा प्रयोग भएका मीठा तर उत्तिकै सटीक शब्द हुन् । यो गीतको पृष्ठभूमिमा एरोस्मिथको ‘ड्रिम अन’ लाई पनि प्रयोग गरिएको छ, त्यसैले यो विशेष सुनिन्छ ।
यस्तै–यस्तै कारणले उनी ‘वेस्ट सेलिङ’ आर्टिस्ट पनि हुन् । केही संगीत पण्डितले उनलाई हिप–हप संगीतको एल्भिस प्रिस्ले पनि मान्छन् । अनि केहीले संगीतकै माध्यमबाट अमेरिकाका मध्यम वर्गलाई जागरुक बनाउने गायकका रूपमा पनि चित्रण गर्ने गर्छन् ।
उनीबारे बीबीसीले गरेको टिप्पणी अझ विशेष छ । बीबीसी भन्छ, एमिनेम उनको विधाको संगीतका आधुनिक सेक्सपियर हुन् । अझ बब ड्यालेनले सन् साठीको दशकमा जसरी आम मान्छेको धारणाले गीतमा पोखेका थिए, त्यही काम अहिले एमिनेमले गरिएका छन्, यस्तो पनि भनिन्छ । त्यसैले पनि उनका गीत र त्यसका शब्दलाई लिएर एकाडेमी रूपमा चर्चा गर्ने गरिन्छ । यस्तो चर्चाको आलोचना हुन्छ र सँगै प्रशंसा पनि । त्यसैले त उनी लोकप्रिय छन् । धेरै हदसम्म विवादास्पद पनि । र, साँच्चै फरक पनि ।
