नयाँ काम‚ नयाँ पहिचान

बैंकरबाट सौन्दर्य प्रतियोगिताको विजेता बनेपछि चर्चामा आएकी अनुष्का श्रेष्ठको परिचय पछिल्लो समय फेरिएको छ । त्यो हो, उनको नामसँग अहिले जोडिएर आउने ‘माक्कुसे’ । यही ब्रान्डमार्फत गुँदपाक र पुष्टकारीलाई नेपाली ‘डेजर्ट’ का रूपमा विश्वमाझ पुर्‍याउन लागिपरेकी छन् उनी । 

असार १३, २०८०

सीमा तामाङ

काठमाडौँ — उमेरले २७ वर्ष पुगेकी अनुष्का श्रेष्ठको परिचय समयसँगै फेरिइरहेको छ । बैंकरबाट सुन्दरी प्रतियोगिताकी विजेता बनेर चर्चामा आएकी श्रेष्ठले पछिल्लो समय भने उद्यमीका रूपमा पाइला चालिरहेकी छन् ।

अध्ययनका लागि अस्ट्रेलिया पुगेकी अनुष्काले २०१७ देखि एक वर्ष कमथवेल्थ बैंकमा काम गरिन् । त्यसपछि भने आफ्नै देशमा केही गर्ने सोच बनाएर नेपाल फर्केकी उनी सौन्दर्यको दुनियाँमा प्रवेश गरिन् । २०१९ को मिस नेपाल प्रतियोगितामा विजेता बनेपछि भने उनी मोडलिङ क्षेत्रमा परिचित बनिन् । केही समय यसैमा बिताइन् । 

पछिला केही वर्षयता भने उनको परिचय पूर्वबैंकर तथा पूर्वमिस नेपालबाट फेरिएको छ । कारण, उनको आफ्नै ब्रान्ड ‘माक्कुसे’ । माक्कुसे भनेको नेवारीमा मिठो परिकार हो । २०२० को नोभेम्बरमा माक्कुसे स्थापना गरेसँगै उनी मोडलिङको र्‍याम्पमा भन्दा काठमाडौंको पानीपोखरीस्थित कार्यालयमा भेटिन्छिन् । तर यो ब्रान्डसँग परिचय जोड्न भने उनले ठूलै संघर्ष र मिहिनेत गरेकी छन् । अस्ट्रेलियामा छँदाखाँदाको बैंकको जागिर छाडेर नेपाल फर्केपछि जसोतसो जुटाएर २५ लाखमा उनले आफ्नो व्यवसाय सुरु गरेकी हुन् । 

आफ्नो जोस र जाँगर लगानी गरिरहेकी श्रेष्ठले पछिल्लो समय ‘माक्कुसे’ कै सपना देख्न थालेकी छन् । र, उनको सपना हो, नेवारी समुदायको परम्परागत स्वाद पुष्टकारी र गुँदपाकलाई आधुनिक शैलीमा विस्तार गर्ने । त्यो पनि, अन्तर्राष्ट्रियस्तरमा । करिब तीन वर्षको यात्रामा उनले धेरै कुरा सिकेकी छन् । अनि उनी विश्वस्त भएकी छन्, ‘रैथाने उत्पादनलाई माक्कुसेका रूपमा अन्तर्राष्ट्रियस्तरमै स्थापित गर्न सकिन्छ भन्नेमा । 

गुँदपाक र पुष्टकारीको प्रयोग हराउँदै गएपछि चिन्तित अनुष्का यसलाई जोगाउँदै विश्वमाझ नेपाली ‘डेजर्ट’ का नाममा परिचित गराउने योजनामा लागिपरेकी हुन् उनी । त्यसैका लागि खटिइरहेकी उनले पुष्टकारी र गुँदपाकलाई ‘माक्कुसे’ का नाममा धेरैको मनमा पुर्‍याइसकेकी पनि छन् । तर कतियले भने माक्कुसेका उत्पादनलाई ‘महँगो’ ठानेका छन् । न्युरोडमा तीन सयमा पाउने पुष्टकारी पाँच सयमा बेच्दा महँगो भन्ने लाग्नु स्वाभाविक पनि होला । तर अनुष्का भन्छिन्, ‘गुणस्तरका आधारमा हेर्ने हो भने हाम्रा उत्पादन महँगा छैनन् ।’

त्यसका साथै, सामग्रीको स्वाद, प्याकेजिङ र ब्रान्डिङ सबैलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘नेपाली उत्पादन सबै सस्तै हुनुपर्छ भन्ने पनि त छैन,’ उनी भन्छिन्, ‘गुणस्तरीय भयो भने अन्य उत्पादनको तुलनामा केही बढी त पर्ने नै भयो ।’ प्याकेजिङ र गुणस्तरको कमीका कारण कोसेलीका रूपमा दिन हिचकिचाउने पुष्टकारी र गुँदपाक अहिले विभिन्न दूतावासले कोसेली पठाउन थालेको उनी खुसी पनि छन् । तर उनलाई एउटा चुनौती छ, माक्कुसेको एउटै स्वाद र गुणस्तर कायम राख्ने ।

सुरुवातमा पुष्टकारी र गुँदपाकका लागि ‘माक्कुसे’ को प्रतिस्पर्धी न्युरोडजस्तो मात्रै लाग्थ्यो अनुष्कालाई । तर त्यस्तो होइन रहेछ । दसैं–तिहार, भ्यालेन्टाइन्स डे, आमा औंसी, कुशेऔंसीलगायत चाडपर्वमा अन्तर्राष्ट्रिय चकलेटसँग ‘माक्कुसे’ को प्रतिस्पर्धा हुने रहेछ । अब नेपालीले विदेश जाँदासमेत के कोसेली लैजाने भन्दै सोच्नुपर्ने अवस्था ‘माक्कुसे’ ले अन्त्य गरिदिएको उनको दाबी छ । विदेशमा कोसेलीका रूपमा मात्रै होइन, नेपाली ब्रान्डका रूपमा उत्पादन नै त्यहाँ बेच्ने योजना पनि छ अनुष्काको । तर यसको ‘उपभोग्य समय’ कम हुँदा त्यसतर्फ पाइला चाल्न सकेकी छैनन् । अहिले स्वदेशीदेखि विदेशी प्राविधिकको सहयोगमा ‘उपभोग्य समय’ बढाउनेतर्फ काम भइरहेको छ । ‘हाम्रो उत्पादनको ‘सेल्फलाइफ’ जम्मा तीन साताको छ । एक/दुई वर्ष हुँदो हो त निर्यात थालिहाल्न पनि सक्थ्यौं होला,’ उनले भनिन् । 

यद्यपि, खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजान भने धेरै चुनौतीको सामना गर्नुपर्ने उनलाई थाहा छ । त्यसका लागि उनी तयार पछि छन् । ‘पहिले नेपालकै गुणस्तर चिह्न लिने प्रक्रियामा छौं । विस्तारै अन्तर्राष्ट्रिय बजारमा जाने हो,’ उनी भन्छिन् । नेपालमा खाद्य प्रविधि विषयमा मौलिक मिठाईबारे पाठ्यक्रममा नहुनु भने दुःखदायी कुरा ठान्छिन् उनी । जसका कारण उत्पादनको बजारीकरण, ब्रान्ड स्थापनालगायतका क्षेत्रमा काम गर्न अप्ठ्यारो भएको अनुष्का बताउँछिन् । 

‘मै पेस्ट्री सेफ हुँ भन्दा ग्ल्यामरस भयो । तर म पुष्टकारी बनाउँछु भन्दा वास्ता भएन,’ उनले भनिन्, ‘मलाई कतिपयले मिस नेपाल हलवाई बनी भने । यो कस्तो सोच होला ?’ नेपालमा यस्ता सीपको पुस्तान्तरण पनि कमै हुने गरेको उनको बुझाइ छ । ‘छिमेकी देश भारतमा नै हलवाई व्यवसाय निकै ठूलो छ,’ उनले भनिन्, ‘भारतमा पुस्तौंपुस्तादेखि सिकाउने र ज्ञान साट्ने प्रक्रिया जारी छ, जुन हाम्रोमा छैन ।’ माक्कुसे सुरु गरेदेखि नै अहिलेसम्म जनशक्ति र प्राविधिक क्षमता मुख्य समस्या बनेको उनको अनुभव छ ।

सुन्दरी प्रतियोगिताहरूमा स्टेजमा प्रस्तुति दिँदा बाहिरी स्वरूपसँगै भित्री गुणस्तरमा विशेष ध्यान दिने भएकाले त्यसको प्रभाव ‘माक्कुसे’ का परिकारमा पनि पोखिएको उनको दाबी छ । ‘पहिले खानेकुरा मुखको स्वादका लागि अथवा भोक मेटाउन मात्र हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले हेर्न, अनबक्सिङ अनि मात्र खान र स्वादतर्फ केन्द्रित हुने गरेको छ ।’ माक्कुसेका परिकार फेन्सी देखाउन सजाइएका हरेक सामग्रीमा छुट्टै कारण रहेको उनको भनाइ छ । ‘गुँदपाक र पुष्टकारीलाई नेपाली लोक्ताबाट बनेको बट्टा, तामाको चम्चा र सिसाको जारमा हालेर बेच्छौं,’ उनले भनिन्, ‘हरेक सामान पुनः प्रयोग गर्न मिल्छ, तामाका भाँडा पूजाका लागि प्रयोग गरिन्छ, त्यसैले तामाको चम्चा राखेका छौं ।’ खानेकुराको स्वाद, गुणस्तर र बाहिरको प्रस्तुतिको संयोजन बराबर हुनुपर्ने उनी बताउँछिन् । 

अनुष्काका अनुसार ‘माक्कुसे’ का परिकार बनाउन मुख्य त खुवा चाहिन्छ । यसका लागि काभ्रेबाट दुध ल्याउने गरेकी छन् । ‘त्यहाँको दूधबाट मिठो खुवा बन्ने भएकाले एक ठाउँको मात्र दूध प्रयोग गर्छौं,’ अनुष्काले भनिन्, ‘माक्कुसेका परिकार बनाउन थोरै मात्र कच्चापदार्थ आवश्यक पर्छ ।’ गुँदपाक नखानेका लागि कुकिजका माध्यमबाट त्यसको स्वाद चखाउने गरेको उनले बताइन् । ‘माक्कुसे’ ब्रान्डको पुष्टकारी, गुलाबजल र पिस्तासहितको गुँदपाक, मोका कफी मिश्रित गुँदपाक, चकलेट र गुँदपाकबाट बनेका कुकिज, ओटमिल र पम्किन सिडबाट बनेका कुकिज बजारमा छन् । सुगर फ्री बनाउन नसके पनि पोषणविद्सँग सल्लाह गरेर डाइबिटिज फ्रेन्डली बनाएकी छन् उनले ।

काठमाडौं उपत्यकाबोहक चितवन, पोखरा र हेटौंडामा डिलरसिप सुरु भइसकेको छ । त्यसका साथै, ठमेलमा हालै मात्र ‘माक्कुसे डेजर्ट बार’ पनि सञ्चालनमा आइसकेको छ । अनुष्काका अनुसार बारमा माक्कुसेका उत्पादनसँगै रैथाने स्वादका डेजर्ट पाइन्छन् । जेरीस्वारी, गुँदपाक टार्ट, गुँदपाक चिज केक, गुँदपाक चकलेट स्लाइस र पुष्टकारी चिप आइसक्रिम बारमा छन् । सबैतिर गरेर माक्कुसेले प्रत्यक्ष रूपमा १७ र अप्रत्यक्ष रूपमा ३५ जनाभन्दा बढीलाई रोजगारी दिइरहेको छ । वर्षको एक दिन नारी दिवसका दिन सामाजिक सञ्जालमा स्ट्याटस् वा ब्लग लेखेर मात्रै महिलाहरूले अवसर नपाउने धारणा राख्ने उनले माक्कुसेमा आधाभन्दा बढी कर्मचारी महिला नै राखेकी छन् ।

युवा ग्यालरी

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully