आईपीसीसीमा पहिलो पटक नेपालको उम्मेदवारी

असार १४, २०८०

गोविन्द पोखरेल

काठमाडौँ — जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी) को सातौं अध्ययन प्रतिवेदन निर्माण समितिका लागि हुने चुनावमा नेपालले पहिलो पटक उम्मेदवारी दिएको छ ।

अगामी जुलाई २५ देखि २८ सम्म आईपीसीसीको ५९ औं बैठकमा सातौं अध्ययन प्रतिवेदनका लागि समिति गठन हुँदै छ । वैज्ञानिक एवं अनुसन्धानकर्ताहरू रहने समितिमा आईपीसीसीका पक्ष राष्ट्रका प्रतिनिधिले मतदान गर्नेछन् ।

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) का प्राध्यापक शोभाकर ढकाल र जर्मनस्थित रिसर्च इन्स्टिच्युट फर सस्टेनएबिलिटीमा कार्यरत वैज्ञानिक महेश्वर रुपाखेतीलाई नेपालले उम्मेदवार बनाएको हो । ढकाललाई को–चेयर र वर्किङ ग्रुप–३ को भाइस चेयरको रूपमा नेपालले उम्मेदवार बनाएको हो । यस्तै, वर्किङ ग्रुप–१ को भाइस चेयरका लागि रुपाखेतीलाई उम्मेदवार बनाइएको हो ।

चुनावले आईपीसीसीको नयाँ ब्युरो गठन हुने छ । जसमा ब्युरो अध्यक्ष, सह–अध्यक्ष, उपाध्यक्ष, कार्यगत समूहका उपाध्यक्ष र टास्क फोर्स ब्युरोमा सदस्यहरूको चुनिने छन् । ब्युरोले आईपीसीसीले निकाल्ने विभिन्न प्रतिवेदन लेखका लागि विज्ञ तथा अनुसन्धानकर्तालाई समावेश गराउँछ । नेपालले उम्मेदवार बनाएको प्राध्यापक ढकाल आईपीसीसीका लागि भने नयाँ होइनन् । उनले यअसघि आईपीसीसीको पाँचौं र छैटौं अध्ययन प्रतिवेदनको कार्यगत समूह–३ को मुख्य लेखक भएर काम गरिसकेका छन् । 

‘नेपालको वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनको विषयलाई विश्वमाझ लैजानका लागि नेतृत्व तहमा उम्मेदवारी दिन खोज्नु एकदमै सकारात्मक पाटो हो,’ प्राध्यापक ढकालले कान्तिपुरसँगको कुराकानीमा भने । नेपालले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता जनाएको छ । यो अन्य देशहरूको तुलानामा केही प्रो–एक्टिभ निर्णय भए पनि समाधान्मुख विज्ञान आवश्यक रहेको प्राध्यापक ढकालले आफ्नो मनोनयन पत्रमा लेखेका छन् । जलवायु परिवर्तनसम्बन्धी दक्षिण एसियामा हुने वैज्ञानिक खोज र अनुसन्धानको सीमितताबीच आफूले कम विकासित मुलुकहरूको प्रतिनिधित्व हुने गरी उम्मेदवारी दिन पाउनु सुखद रहेको उनको भनाइ छ । ‘आईपीसीसीका जलवायु परिवर्तनसम्बन्धीका मूल्यांकन र व्यवस्थित समीक्षा गर्दै उच्च मापदण्डहरू निर्धारण गर्न आवश्यक पनि छ । समाधान–उन्मुख दृृष्टिकोणको माग पनि छ,’ ढकालले भने । 

यस्तै, रुपाखेती दक्षिण एसियाको वायु प्रदूषणमा केन्द्रित भएर अनुसन्धान गरिरहेका वैज्ञानिक हुन् । हिमाली क्षेत्रमा वायु प्रदूषणले पार्ने प्रभाव र असरसँगै जलवायु परिवर्तनको भौतिक विज्ञानको अनुसन्धानमा उनको दख्खल छ । सरकारले नेमिनेसन गरेर आफूलाई उम्मेदवार बनाउँदा खुसी लागेको बताउँदै वैज्ञानिक रुपाखेतीले यो अवस्थाले नेपाली वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय स्तरमा दर्बिलो उपस्थिति देखिने बताए । रुपाखेतीले यो अवसर आफूले मात्रै नभएर विश्व मञ्चमा नेपालको समेत उपस्थिति रहेको बताए । रुपाखेतीका अनुसार नेपालमा हालसम्म आईपीसीसीको एसेसमेन्ट रिपोर्ट तयार गर्नका लागि भनेर यसअघि उम्मेदवारी दिइएको थिएन । 

आईपीसीसले हरेक एसेसमेन्ट रिर्पाट बनाउनका लागि छुट्टै प्यानल निर्माण गर्ने गर्छ । छौटौं एसेसमेन्ट रिपोर्ट निर्माण सम्पन्न भएपछि अब सातौं रिपोर्ट बनाउने तयारी छ । त्यसका लागि एउटा छुट्टै आईपीसीसी ब्युरोको गठन हुने प्रावधान छ । जसमा वैज्ञानिकहरू समावेश हुन्छन् । उक्त ब्युरोमा आईपीसीसीको चेयर र भाइस चेयर हुन्छन् । तीनवटा कार्यगत समूहका लागि दुई/दुई जना जना को–चयर र सात/सात जना भाइस चेयर चुनिने गरिन्छ । यस्तै तीनवटा कार्यगत समूहपछि एउटा छुट्टै टास्क फोर्स हुन्छ । उनीहरूको पनि चुनाव हुने गर्छ ।

त्यस्तै, आईपीसीसीको कार्यगत समूहमा एक जना चेयर, ३ जना भाइस चेयर र ६ जना को–चेयर हुने वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलले बताए । हरेक वर्किङ ग्रुपमा ७/७ जना भाइस चेयर हुने गर्छन् । यसरी ३१ जनालाई आईपीसीसीका पक्ष राष्ट्र मुलुकका प्रतिनिधिले भोट दिने उनले बताए । जलवायु महाशाखा प्रमुख पौडेलका अनुसार चुनावमा सबै देशका फोकल व्यक्तिहरू सहभागी हुन्छन् । 

युवा ग्यालरी

गोविन्द पोखरेल विज्ञान, वन, वातावरण, प्रविधि लगायतका क्षेत्रमा कलम चलाउँछन् ।

Link copied successfully