कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
आजकै दिन

जापानी सेना सिंगापुरमा

काठमाडौँ — सन् १९४२ मा आजकै दिन (फेब्रुअरी ८) मा जापानले सिंगापुरमा आफ्ना सेना उतारेका थियो । त्यसपछिको एक साता लामो भीषण संघर्षपछि जापानी फौजले सिंगापुरलाई आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो ।

जापानी सेना सिंगापुरमा

फेब्रुअरी १५ मा बेलायतको नेतृत्वको सेनाले अन्ततः तोमोयुकी यमासिता कमान्डको जापानी सेनासमक्ष आत्मसमर्पण गरेको थियो । युद्धका क्रममा बेलायती सेनाको कमान्ड लेफ्टिनेन्ट जर्नेल आर्थर ई पर्सिभलले सम्हालेका थिए ।

पहिलो विश्वयुद्ध (१९१४–१९१८) को अन्त्यसँगै बेलायतले जापानी सेनाबाट खतरा महसुस गरेसँगै सिंगापुरमा प्रतिरक्षा निर्माण गर्न थालेको थियो । फलस्वरूप सेम्बावाङमा जलसेनाको सैन्य शिविरसमेत बनाइनुका साथै सम्भावित आक्रमण रोक्ने उद्देश्यले तटीय क्षेत्रमा भारी हतियारसहितका सेना तैनाथ गरिएको थियो ।

तत्कालीन समयमा सिंगापुरमाथि विजय हासिल गर्न सम्भव नभएको कतिपयको दाबीबीच पहिलो आक्रमणका रूपमा जापानी सेनाले सन् १९४१ को डिसेम्बर ८ मा जहाजबाट पहिलो बम खसालेको थियो । घटनामा ६१ जनाको ज्यान जानुका साथै करिब डेढ सय घाइते भएका थिए ।

पछि १९४२ को फेब्रुअरी ८ मा जापानले सिंगापुरको तटीय क्षेत्रमा गोलाबारी गरेपछि युद्ध सुरु भएको थियो । फेब्रुअरी १३ मा जापानले थप सैनिक सिंगापुरमा उतारेको थियो । यद्यपि, जापानका जम्मा ३५ हजार मात्र सैनिक थिए । तर पनि बेलायतको नेतृत्वका ८५ हजार सेनाले पराजय स्वीकार्दै आत्मसर्मपण गरेका हुन् । यो बेलायती नेतृत्वको सेनाले गरेको इतिहासकै सबैभन्दा ठूलो आत्मसमर्पण हो ।

पछि सन् १९४५ मा जापानी सेनाले आत्मसमर्पण गरेपछि सिंगापुर ब्रिटिस सैन्य प्रशासनलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि १९४६ देखि सिंगापुर ब्रिटिस उपनिवेशका रूपमा रह्यो । १९५९ मा आफ्नै सरकार गठन हुनुपर्ने आन्दोलनसँग गराइएको पहिलो चुनावमा ली कुआन यु प्रधानमन्त्री बनेका थिए । १९६३ मा मलाया, सिंगापुर, सरवाक र उत्तरी बोर्नियो (हालको सबह) मिलाएर मलेसिया बनेको थियो । तर उक्त एकीकरण असफल भएपछि १९६५ को अगस्ट ९ मा सिंगापुर स्वतन्त्र र सार्वभौम राष्ट्र बनेको हो ।

प्रकाशित : माघ २५, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?