कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘नाटु नाटु’ लाई गोल्डेन ग्लोब

संगीतका सुपरस्टार रिहाना, टेलर स्विफ्ट, लेडी गागाहरुलाई पछाडि पार्दै पाएको सफलताले यो महिनाकोअन्तिममा घोषणा हुने ‘अस्कर’ मनोनयनमा पनि ‘नाटु नाटु’ को उपस्थिति हुनेमा आशा बढाइदिएको छ ।
रीना मोक्तान

काठमाडौँ — ‘बाहुबली’ निर्देशक एसएस राजमौलीलाई थाहा थियो– एनटीआर जुनियर र राम चरण दुवै नृत्यमा अब्बल छन् । तेलुगु फिल्म उद्योगलाई पहिल्यै यी दुईले आफ्नो नृत्य प्रतिभा पस्किसकेका थिए ।

‘नाटु नाटु’ लाई गोल्डेन ग्लोब

यी दुईलाई एकै फ्रेममा नाच्दै गरेको हेर्दा दर्शकले पाउने मनोरञ्जनको स्तर कल्पना गर्दै एकदिन राजमौलीले संगीतकार एमएम किरावानीकहाँ गीतको आइडिया राखे । 'म यस्तो एउटा गीत गर्न चाहन्छु जहाँ यी दुई डान्सर एकअर्कासँग प्रतिस्पर्धा गर्दै नृत्य गरुन्,'राजमौलीले भनेको सम्झन्छन्, किरावानी ।

त्यसलगत्तै किरावानीले तेलुगू फिल्म गीतकारहरुमा आफ्नो मनपर्दो चन्द्रबोसलाई गीत लेख्न लगाए । दुई कलाकार नाच्दै गर्दा जोस र उत्साह निकाल्ने खालको गीत लेख्नुपर्ने किरावानीको सल्लाह थियो । 'तपाईं जस्तो चाहनुहुन्छ त्यस्तै गीत लेख्नुस् । तर, यो फिल्म १९२० तिरको घटनामा आधारित छ । त्यसैले शब्दहरु त्यही समयको होस् भन्नेचाहिँ ख्याल राख्नु होला,'चन्द्रबोसलाई किरावानीले भनेको कुरा बीबीसी हिन्दीले उल्लेख गरेको छ । सन् २०२० को जनवरी १७ तिर राजमौली, किरावानी र चन्द्रबोस मिलेर नयाँ गीतमाथि काम गरे । 'आरआरआर' फिल्मका लागि लेखिएको त्यही नाटू नाटू(हिन्दी-नाचों नाचों) गीतले अहिले तेलुगू फिल्म उद्योगमा इतिहास रचेको छ । प्रतिष्ठितमध्येको एक गोल्डेन ग्लोब अवार्डको 'उत्कृष्ट ओरिजिनल गीत'तर्फको विधामा किरावानीले अवार्ड उचालेसँगै भारतीय फिल्म उद्योगले उल्लास मनाइरहेको छ ।

संगीतका सुपरस्टार रिहाना, टेलर स्विफ्ट, लेडी गागाहरुलाई पछाडि पार्दै पाएको सफलताले यो महिनाको अन्तिममा घोषणा हुने 'अस्कर' मनोनयनमा पनि 'नाटू नाटू'को उपस्थिति हुनेमा आशा बढाइदिएको छ । अस्करको १५ सर्टलिस्टमा यो गीत परिसकेको छ । यो फिल्म ९५ औं अस्करका लागि उत्कृष्ट गैरअंग्रेजी(नन इंग्लिस) विधामा पनि मनोनयनमा परेको छ । फिल्मले यो विधामा जित हासिल गर्ने पक्का छैन । भारतले यो फिल्मलाई गैरअंग्रेजी फिल्मको विधाका लागि आधिकारिक छनोट गरेको होइन । गुजराती फिल्म छेल्लो शो (द लास्ट शो)लाई द फिल्म फेडरेसन अफ इन्डियाले यो विधाका लागि सिफारिस गरेको हो । बलिउड स्टार अजय देवगन, आलिया भट्टलगायतको अभियन रहेको 'आरआरआर' भने २०२२ को मार्च २५ मा प्रदर्शनमा आएको थियो ।

गोल्डेन ग्लोबको जितसँगै 'आरआरआर'ले हलिउड अवार्डको दौड सुरु गरेको छ । 'यो अवार्डको दाबेदार अरु कोही नै छ, म होइन । यो अवार्ड मेरो भाइ, फिल्मका लेखक एसएस राजमौलीको हो,'अवार्ड उचाल्दै गर्दा किरावानीले भनेका थिए ।

गत आइतबार लस एन्जलसको चाइनिज थिएटर(हल)मा अमेरिकाका फिल्मकर्मीबीच 'आरआरआर' देखाइयो । 'नाटू नाटू' बज्दा भीड स्टेजमै गएर नाचेको थियो । फिल्म प्रदर्शनताका भारतका मात्रै नभइ नेपालका हलहरुमा पनि दर्शक यो गीत आउँदा स्टेजमा गएर नाचेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । गीतले यस्तो प्रतिक्रिया पाउला भन्ने किरावानीले सपनामा पनि सोचेका थिएनन् । 'गीतले यस्तो प्रतिक्रिया पाउला भन्ने मैले सपना पनि सोचिनँ । तर विरोधाभास कुरा गर्ने हो भने यसले मेरो सपना पूरा भएको आभास गराएको छ,'भराइटीलाई केही दिनअघि मात्रै किरावानीले भनेका थिए । ग्लोडेन ग्लोब जितिसकेपछि ब्याकस्टेजमा किरावानी भन्दै थिए,'यो उत्सव मनाउने गीत हो । हामी यो गीतमा सारा इनर्जी र स्टामिना देखाउन चाहन्थ्यौं ।'

यस्तो उर्जाशील गीत चन्द्रबोसले कसरी लेखे होला ? अहिले सबैले गर्ने प्रश्न यही हो । चन्द्रबोसको दिमागमा किरावानी र राजमौलीले खोजेको गीतको निर्देशन घुसिसकेको थियो । एकदिन जब उनी कार चलाउँदै जुब्ली हिल्स पुगे, हात स्टेयरिङमा थियो दिमाग गीततिर । त्यहीबेला गीतको हुकलाइन फुर्‍यो,'नाटू नाटू' । ६/८ को ताल(बिट)मा उनले गीत लेख्न सुरु गरे । किरावानीलाई यो ताल एकदमै मनपर्छ भन्ने उनलाई थाहा थियो । किरावानी जोस भर्ने गीत गर्न रुचाउँथे ।

द्रुत गतिमा अगाडि बढ्ने नृत्य, भिडियो र गायनले मात्रै नभइ ६/८ को यही बिटले गीतलाई चर्चामा ल्याइदिएको किरावानी बताउँछन् । '६/८ को बिट पश्चिमाहरुले खासै सुन्दैनन् । भारत, अफ्रिकालगायत केही देशहरुमा मात्रै यस्तो बिटको गीत सुनिन्छ,'उनले भराइटीलाई भनेका छन्,'खासमा भन्ने हो भने यो दक्षिण भारतमा चल्ने शैलीको गीत हो । उत्तर भारतमा पनि यस्तो गीत खासै सुनिदैन । सायद पश्चिमा देशका दर्शकको ध्यान तान्नमा यो कुराले भूमिका खेलेको हुनुपर्छ ।'

नाटू-नाटूमा ‍दुई प्रमुख कलाकारले फिल्मभित्रै पनि आफ्नो नृत्य कौशलता देखाइरहेका हुन्छन् । दुई दिनमै चन्द्रबोसले तीन अन्तरा लेखे । उनले आफ्नो मनपर्ने अन्तरा भने अन्तिममा किरावानीलाई सुनाएका थिए । त्यसअघि २ अन्तरा सुनाएका थिए । हुन त गीतको ९० प्रतिशत गीत २ दिनमै बनेको थियो । तर गीतमा फेरबदल, सम्पादन गर्दाको समय हिसाब गर्दा १९ महिनामा 'नाटू नाटू'को अन्तिम स्वरुप तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

संगीतकार किरावानीको सल्लाह अनुसार नै चन्द्रबोसले गीतमा सन् १९२० तिरका शब्दहरु पनि मिसाइदिए । मसलन 'मिरापा टोक्कु'(रातो खुर्सानीको धुलो) 'दुमुकुल्लदतम'(तलमाथि दौडनु) जस्ता तेलङ्गामा प्रचलित शब्दहरु गीतमा सुन्न सकिन्छ । कालभैरव र राहुल सिपलीगुंजको स्वरमा तयार भएको यो गीतका लागि कोरियोग्राफर प्रेम रक्षितले ९५ वटा स्टेपहरु तयार पारेका थिए । सिग्नेचर स्टेपका लागि त ३० वटा भर्सन नै तयार पारेका थिए । उनी दुईले हात समातेर नाच्ने दृश्यका लागि उनले यी भर्सनहरु तयार पारेका थिए । यो स्टेप गर्नलाई १८ पटकसम्म टेक लिइएको चर्चा यसअघि भएको थियो ।

निर्देशक राजमौलीले भने गीतको स्टेपहरु आम दर्शकले पनि गर्न सक्ने खालको हुनुपर्ने सोचेका रहेछन् । 'जुनियर एन्टिआर र रामचरण त नृत्यमा उत्कृष्ट भइहाले । अरुले गर्न नसक्ने खालको गाह्रो स्टेप नहोस् भन्ने नै चाहन्थें,'राजमौलीले अन्तर्वार्तामा सञ्चारमाध्यमलाई भनेका छन्,'दुईजना होस् या साथी, आमा र छोरी, बाबु र छोरा, दुई दाजुभाइ अथवा दुई दिदीबहिनीले यो गीत हेरिसकेपछि 'लेट्स ट्राई' भनोस् भन्ने चाहन्थें । त्यस्तै भयो, लाखौं दर्शकले यो स्टेप पच्छ्याउँदै नाचेको दृश्य सामाजिक सञ्जालमा पोस्ट्याउन थाले । जब गीत सार्वजनिक गर्‍यौं त्यसले फिल्मप्रतिको दर्शकको चाहना बढाइदियो ।'

गीतको भिडियो युक्रेनको राष्ट्रपतिको भवनको पृष्ठभूमिमा गरिएको थियो । छायांकनका दौरान किरावानी र राजमौलीले फिल्मको अन्तिम अन्तरामा केही फेरबदल गर्ने निर्णयमा पुगेका थिए । त्यतिबेला चन्द्रबोस 'पुष्पा'को छायांकनमा व्यस्त थिए । त्यसैले त्यही फेरबदलले गीत पूरा हुनलाई १९ महिना लाग्यो । अन्तिम अन्तरालाई चन्द्रबोसले १५ मिनेटमै लेखेर दिए । यही गीतमाथि अहिले सर्जकदेखि कलाकारहरु गर्विलो महसुस गर्दैछन् । फिल्मका कलाकार जुनियर एन्टिआरले त किरावानीलाई बधाई दिँदै लेखेका छन्,'मेरो करिअरमा मैले थुप्रै गीतहरुमा नाचें तर नाटू-नाटू सधैं मेरो ह्रदयको नजिक हुनेछ ।'

प्रकाशित : पुस २८, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?