काठमाडौँ — सन् १९६४ मा आजकै दिन (जनवरी ११) ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको अमेरिकाको न्यु मेक्सिकोमा जन्म भएको थियो । अमेजनका पूर्वप्रमुख कार्यकारी अध्यक्ष रहेका बेजोसले सन् २०२१ देखि उक्त पद त्यागेका थिए ।
हाल कार्यकारी अध्यक्ष रहेका बेजोससँग कम्पनीको १० प्रतिशतभन्दा केही कम सेयर छ । बेजोस वासिङ्टन पोस्ट र रकेट निर्माण कम्पनी ब्लु ओरिजिन लगायत कम्पनीका मालिकसमेत हुन् ।
बेजोसले उनले सन् १९९४ मा एक बैंकको जागिर छाडेर अमेरिकाको सियाटलमा अमेजनको स्थापना गरेका थिए । भर्चुअल बुकस्टोरका रूपमा सुरु गरेको अमेजन हाल विश्वकै ठूलो रिटेलर कम्पनी हो । बेजोस विश्वको पाँचौं धनी हुन् । सन् २०२३ को जनवरीको तथ्यांकअनुसार उनीसँग हाल ११३.१ बिलियन डलर सम्पत्ति छ । उनी परोपकारी कार्यका लागि ठूलो रकम दान दिने धनाढ्यमध्येमा पर्छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अुनसार उनले सन् २०२० मा जलवायु परिवर्तनका असरहरूसँग जुध्नका लागि १० बिलियन अमेरिकी डलर सहयोग गर्ने बताएका थिए । त्यसअघि उनले घरविहीनलाई सहयोग गर्न र प्रारम्भिक शिक्षाका लागि २ बिलियन दान दिएका थिए ।
सन् २०१९ मा आफ्नो २५ वर्षको वैवाहिक सम्बन्धलाई विच्छेद गरेका बेजोसले कम्पनीको सेयरमध्ये एक चौथाइ सेयर आफ्नी पूर्वपत्नी म्याकेन्जी टटललाई नामसारी गरिदिएका थिए । उनीसँग बेजोसले सन् १९९३ मा विवाह गरेका थिए ।
फोर्ब्स तथा ब्लुमबर्थका अनुसार उनी सन् २०१७ देखि २०२१ सम्म विश्वका धनीहरूको सूचीमा एक नम्बरमा थिए । त्यसयता भने टेस्ला तथा स्पेसक्राफ्ट कम्पनीका मालिन इलन मस्क विश्वका धनीहरूको सूचीमा एक नम्बरमा छन् ।
