बेल र लोरिसको संन्यास

एपी

पेरिस — विश्व फुटबलका दुई ठूला हस्तीले संन्यास घोषणा गरेका छन् । त्यसमध्ये गारेथ बेलले सबै खाले फुटबलबाटै संन्यास लिएका हुन् । हुगो लोरिसको संन्यास भने अन्तर्राष्ट्रिय फुटबलबाट मात्रै रह्यो ।

बेलले ३३ वर्षको उमेरमा फुटबलबाट बिदा लिएका हुन् । उनी बेलायती फुटबल इतिहासकै सबैभन्दा सफल खेलाडी हुन् । त्यसमा उनले ५ युरोपेली च्याम्पियन्स लिग जितेका छन् भने वेल्सका लागि विश्वकप खेलेका छन् ।

सन् २०१३ मा उनी सबैभन्दा महँगा खेलाडी भएका थिए । त्यो पनि क्रिस्टियानो रोनाल्डोसँगै । रियल म्याड्रिडले उनलाई १३ करोड २० लाख करोड डलरमा किनेको थियो । यसको एउटै कारण थियो, उनी निकै आक्रामक रूपमा गति लिन सक्थे र त्यसकै फाइदा उठाएर गोल गर्न सिपालु थिए, अझ त्यो पनि बायाँ खुट्टाको प्रहारमा । गत वर्षसँगै सन् २०१४, २०१६, २०१७ र २०१८ मा उनले रियलकै लागि च्याम्पियन्स लिग जितेका हुन् ।

पछिल्लो समय उनका लागि सबैभन्दा ठूलो समस्या एकपछि अर्को चोट रह्यो । देशका लागि उनी नै उत्कृष्ट खेलाडी रहे । उनले वेल्सका लागि कीर्तिमान १ सय ११ खेल खेले । त्यसमा कीर्तिमान नै रहेको ४१ गोल पनि गरे । उनको सबैभन्दा ठूलो योगदान वेल्सलाई ६४ वर्षयता पहिलो पटक विश्वकप छनोट गराउनु रह्यो ।

संन्यास घोषणा गर्नेक्रममा बेलले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलले मलाई सबथोक दिएको छ, यसले मेरो जीवन मात्र परिवर्तन गरेन, म आफैं को हुँ, त्यो नै परिवर्तन गरेको छ ।’

लोरिसले भने फ्रान्सका लागि १ सय ४५ पल्ट खेलेका छन् । उनी सन् २०१८ मा विश्वकप विजेता फ्रान्सका प्रमुख खेलाडी थिए अनि उनकै नेतृत्वमा फ्रान्सले कतार विश्वकप खेलेको थियो । फाइनलमा फ्रान्स अर्जेन्टिनाको हातबाट पराजित भएको हो । उनले फ्रान्सका लागि सन् २००८ मा डेब्यु गरेका थिए उरुग्वेविरुद्ध ।

टोटेनहमका ३६ वर्षीय गोलरक्षकले आफ्नो सम्पूर्ण ध्यान क्लब फुटबलमै केन्द्रित हुने बताएका छन् ।

प्रकाशित : पुस २७, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

हिमालयन शेर्पा विजयी

सुवास विडारी

मकवानपुर — हिमालयन शेर्पा क्लब मकवानपुरमा जारी पाँचौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । हिमालयनले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्‍यो ।

अब टोलीको भेट भुटनिज युथ क्लब अमेरिकासँग हुनेछ । वाग्मती गाउँपालिका–८ स्थित जनता माविको मैदानमा खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि नतिजा टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा हिमालयनका गोलरक्षक दीप कार्कीले आर्मीको दुई पेनाल्टी रोकेपछि टोलीको जित सम्भव भयो । उनी म्यान अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । टाइब्रेकरमा शेर्पाका विकास लामा, सत्यम शर्मा, विश्वास श्रेष्ठ र इरिक बेलीले गोल गरे । आर्मीबाट टेकबहादुर बुढाथोकी र भरत खवासले मात्र गोल गरे । दिनेश हेम्जन र कमलबहादुर थापाको पेनाल्टी प्रहार गोलरक्षक दीपले बचाए ।

निर्धारित समयमा आर्मीका लागि नवयुग श्रेष्ठ र हिमालयनका विदेशी खेलाडी प्रिन्सले गोल गरेका थिए । खेलको २२ औं मिनेटमा नवयुगले पेनाल्टीमा गोल गर्दै हिमालयनलाई अग्रता दिलाए । उनलाई विपक्षी डिफेन्डर अमृत श्रेष्ठले बक्सभित्र लडाएपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पेनाल्टीको मौका दिएका थिए ।

पहिलो हाफमा एक गोलले अगाडि रहे पनि दोस्रो हाफमा आर्मीले निकै फितलो प्रदर्शन गर्‍यो । खेलको ६० औं मिनेटमा हिमालयनका प्रिन्सले हेडिङमा गोल गर्दै खेल बराबरीमा ल्याए । उनले विश्वास श्रेष्ठको कर्नरमा हेड गरेका थिए । खेलको ७२ औं मिनेटमा उनै विश्वासको फ्रिकिक प्रहार आर्मीका गोलरक्षकले मुस्किलले बचाए । आर्मीका फरवार्ड नवयुग, भरत खवास र टेकबहादुर बुढाथोकीले राम्रो मौका सिर्जना गर्न सकेनन् । फलस्वरुप आर्मी सिजनको दोस्रो नकआउट प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिन पुग्यो । यसअघि पोखरामा सम्पन्न आहा–रारा पोखरा गोल्डकपमा पनि आर्मी पहिलो खेलमै पराजित भएको थियो । शेर्पाले तीन विदेशी खेलाडी मैदानमा उतारेको थियो । उनीहरूको प्रदर्शनमा आर्मीले दबाबमा खेल्नुपरेको थियो । बुधबार मछिन्द्र र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : पुस २७, २०७९ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×