संयुक्त राष्ट्रसंघको पहिलो महासभा

पुस २६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९४६ मा आजकै दिन (जनवरी १०) मा बेलायतको राजधानी लन्डनस्थित वेस्टमिनिस्टर सेन्ट्रल हलमा संयुक्त राष्ट्रसंघको पहिलो महासभा सुरु भएको थियो । उक्त महासभामा ५१ देशका प्रतिनिधिहरू सहभागी थिए ।

त्यसको एक सातापछि राष्ट्रसंघीय सुरक्षा परिषद्को पहिलो बैठकले यसका नियम तथा प्रक्रियाहरू स्थापित गरेको थियो । महासभाले जनवरी २४ मा पहिलो प्रस्ताव पारित गर्दै परमाणु ऊर्जाको शान्तिपूर्ण उपयोग हुनुपर्ने आह्वान गर्दै आम विनाशकारी परमाणु हतियारको उन्मूलनको पक्षमा निर्णय गरेको थियो । १ सय ९३ सदस्य रहेको राष्ट्रसंघले हाल विश्वमा शान्ति र सुरक्षा, मानवअधिकारको संरक्षण र सम्वर्द्धन, मानवीय सहयोग तथा दिगो विकास र जलवायुलगायत क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । राष्ट्रसंघीय बडापत्रअनुसार सबै सदस्य राष्ट्रहरू सार्वभौमिक सत्तासम्पन्न र समान रहेका र कुनै पनि सदस्य राष्ट्रले अरू राष्ट्रको प्रदेश तथा राजनीतिक स्वतन्त्रताविरुद्ध शक्तिको प्रयोग वा धम्की नगर्ने उल्लेख छ । 

महासभा, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, जिम्मा जमानी परिषद्, सचिवालय र आर्थिक तथा सामाजिक परिषद् राष्ट्रसंघका मुख्य अंगहरू हुन् । यीमध्ये महासभा मुख्य विचार विमर्श गर्ने थलो हो । महासभामा सबै सदस्य राष्ट्रहरूको प्रतिनिधित्व हुन्छ र यसले शान्ति र सुरक्षा, नयाँ सदस्यता प्रदान र बजेटसम्बन्धी विषयको टुंगो लगाउने गर्छ । 

अमेरिका, चीन, बेलायत, फ्रान्स र रुस राष्ट्रसंघको अर्को महत्त्वपूर्ण अंग सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । यी राष्ट्रहरूमध्ये सबैले पालैपालो अल्फाबेटका आधारमा परिषद्को अध्यक्षता गर्ने गर्छन् । परिषद्मा अन्य दस सदस्य राष्ट्रहरू दुई/दुई वर्षका लागि मनोनीत रहने व्यवस्था छ । अल्बानिया, ब्राजिल, इक्वेडर, गाबोन, घाना, जापान, माल्टा, मोजाम्बिक, स्विट्जरल्यान्ड र यूएई अस्थायी सदस्य हुन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully