आईफोन-१६ मा अन्डर-डिस्प्ले फेस आईडी- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईफोन-१६ मा अन्डर-डिस्प्ले फेस आईडी

एजेन्सी

क्यालिफोर्निया — मोबाइल निर्माण कम्पनी एप्पलले आगामी सिरिजको ‘आईफोन–१६’ मा अन्डर-डिस्प्ले फेस आईडी राख्ने भएको छ । डिस्पेलाई थप सुरक्षित बनाउन फोनमा नयाँ ढाँचाको प्रविधि राख्न लागिएको कम्पनीले जनाएको छ । यसले फोनको प्रयोग सहज र प्रभावकारी हुने कम्पनीको दाबी छ । 

हाल बजारमा एप्पलको पछिल्लो सिरिजका रूपमा ‘आईफोन–१४’ उपलब्ध छ । यसैवर्ष बजारमा आउने ‘आईफोन–१५’ का भने विभिन्न विशेषताहरू सार्वजनिक भइरहेका छन् । तर, आईफोन–१५ मा भने उक्त विशेषता हुनेछैन । यी सिरिजका सबै फोनमा आईफोन–१४ प्रो र प्रो म्याक्समा जस्तै डाइनामिक आइल्याण्ड उपलब्ध हुने छ ।

पछिल्लो जानकारीअनुसार एप्पलले चीनमा आइफोन–१५ परीक्षण सुरु गरिसकेको छ । त्यसका साथै, सन् २०२४ देखि बजारमा आउने एप्पलका उत्पादनमा अन्डर डिस्प्ले फेस आईडी अथेन्टिकेसन सिस्टम राखिने जनाइएको छ ।

प्रकाशित : पुस २८, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

सुन्दरताको जैविक जरा

जैविक रूपमा सुन्दरता त्यो हो जसलाई मानवमस्तिष्कले मन पराउँछ वा चाहन्छ किनभने त्यसले मानिसलाई सुखानुभूति दिन्छ । र, कुरूपता त्यो हो जसलाई मानवमस्तिष्कले दुत्कार्छ वा छल्न खोज्छ किनभने त्यसले मस्तिष्कमा दुःखानुभूति दिन्छ ।
उत्तमबाबु श्रेष्ठ

पछिल्लो साता नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित भैरव सामुदायिक वनभित्रको सहिद पार्कमा बनाइएको बाघको मूर्ति भाइरल बन्यो । उक्त मूर्ति भाइरल बनेसँगै देशभरिका स्थानीय निकायहरूले विभिन्न ठाउँमा बनाएका बंगुर, बिरालो, दुम्सी, चराचुरुंगी, मानिस र देवीदेवताका उस्तै आकृतिका फोटाहरूले सञ्जाल रंगियो ।

‘सुर्खेतको बाघ’ लगायतका पछिल्लो समयमा बनाइएका सिमेन्टका मूर्तिहरू भाइरल बन्नुका पछाडि मूलतः दुई कारण थिए । एउटा, त्यस मूर्तिसँग जोडिएको लागत रकम, जुन १३ लाख रुपैयाँ भनिएको थियो र त्यसमा भ्रष्टाचार भएको आम आशंका । अर्को, मूर्तिको सौन्दर्य, जसले आम मानिसको सौन्दर्यचेतमा ठेस पुर्‍याएको थियो । हुन त ‘कुनै वस्तुको सुन्दरता वस्तुमा होइन, त्यसलाई हेर्नेहरूका आँखामा निर्भर हुन्छ’ भन्ने गरिन्छ; सुन्दरताबारे भिन्न हेराइलाई पुष्टि गर्न नेपाली गीत ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ उद्धृत गर्ने गरिन्छ; तर कवितामा गरिने सौन्दर्यको वर्णन र सौन्दर्यको वास्तविकता नितान्त फरक हुन्छन् ।

सौन्दर्यको सार्वभौमिकता

सुन्दरताप्रतिको यस्तो विविधतायुक्त मानवीय बुझाइ, व्याख्या र दृष्टिकोण बन्नमा मानिस जन्मेको आर्थिक–सामाजिक परिवेश, उसको संस्कार, उसले अपनाएको धर्म–संस्कृतिजस्ता सामाजिक पक्षहरूको प्रभाव हुन्छ । त्यस्ता सामाजिक बनोट (सोसल कन्स्ट्रक्ट) का आधारमा निर्मित विविध खाले मान्यता, आस्था, नीतिनियम र भ्रमले एउटै कुरालाई पनि सुन्दर–कुरूप, राम्रो–नराम्रो, मिल्ने–नमिल्ने, त्याज्य–प्रिय, शुभ–अशुभजस्ता एकअर्काका परस्पर विपरीत वर्गमा वर्गीकरण गरिदिएका हुन्छन् । त्यसका आधारमा मानिसमा सौन्दर्यचेतनाको निर्माण भएको हुन्छ । उदाहरणका लागि, कट्टर हिन्दु मान्यता बोकेको व्यक्तिलाई कसैले भोजनका रूपमा गाईको मासु ग्रहण गरेको दृश्य कुरूप लाग्न सक्छ । त्यसै गरी, कुनै परिवारमा कुकुर शब्दलाई निकृष्ट गालीका रूपमा प्रयोग गरिन्छ त कुनैमा यही नामको जनावरलाई परिवारको सदस्यका रूपमा स्वीकार गरिएको हुन्छ । एउटै रंगदेखि रूखसम्म, एकै ग्रहदेखि पन्छीसम्मलाई एक समुदायले शुभ मान्छ त अर्कोले अशुभ । त्यसकारण एकै वस्तुलाई सुन्दर वा कुरूप ठान्ने मान्यताको निर्माणमा यस्ता सामाजिक बनोटको भूमिकालाई नकार्न मिल्दैन ।

यो पंक्तिकार गत जेठमा ‘भाइरल बाघ’ को मूर्ति राखिएको सुर्खेतको सहिद पार्क पुगेको थियो । त्यति बेला भाइरल बाघको मूर्ति बनिसकेको त थिएन तर त्यहाँ बनाइएका भौतिक संरचनाहरूले मेरो सौन्दर्यचेतमा ठेस पुर्‍याएका थिए । लगत्तै त्यस पार्कको फोटोसँगै सुर्खेतकै काँक्रेविहारको फोटो राखेर फेसबुकमा मैले लेखेको थिएँ— बाह्रौं शताब्दीदेखि एक्काइसौं शताब्दीसम्म आइपुग्दा हाम्रो कलाकारिता र सुन्दरताको परिभाषा फेरिएछ । आफ्नो सौन्दर्यचेतमा ठेस पुगेको करिब सात महिनापछि त्यहाँको बाघको मूर्ति भाइरल भएको देख्दा मलाई लाग्यो— वस्तुको सुन्दरता हेर्ने आँखामा मात्रै सीमित हुन्थ्यो भने यो मूर्ति किन हाँसोठट्टाको वस्तु बन्थ्यो ? सुन्दरताप्रतिको मेरा दृष्टिकोणसँग कैयौं मानिसको हेराइ मिल्छ र कैयौंका दृष्टिकोणसँग मेरो । त्यसैले वस्तुको सुन्दरता वा कुरूपताको महसुस व्यक्तिपरक अनुभव वा सामूहिक बनोटका आधारमा मात्रै तय हुँदैन, वस्तुको अन्तर्निहित गुणले पनि निर्धारण गर्छ । सौन्दर्यचेतको निर्माणमा व्यक्तिगत वा समुदायनिर्मित मान्यताहरूसँगै सर्वस्वीकार्य वस्तुपरक (अब्जेक्टिभ) कुराहरू पनि हुन्छन्, जसले सौन्दर्यलाई सार्वभौमिक (युनिभर्सल) बनाउन मदत गरेका हुन्छन् ।

सुन्दरताप्रतिको त्यही सार्वभौम वस्तुपरक चेतनाका कारण संसारका अधिकांश मानिसलाई एकै किसिमको प्राकृतिक भूदृश्य, मानवनिर्मित संरचना र मानवीय सृजनाहरू मन पर्छन् । नेपालको हिमालदेखि अमेरिका–क्यानडा सीमामा पर्ने नायग्रा फल्ससम्म, पेरिसको आइफल टावरदेखि इजिप्टको पिरामिडसम्म र अस्ट्रेलियाका फराकिला समुद्री तटदेखि भेनिसका साँघुरा गल्लीहरूसम्म अधिकांशलाई सुन्दर लाग्छन् । त्यस्ता दृश्य देख्दा वा त्यहाँ पुग्दा मन प्रसन्न हुन्छ । त्यसैले मानिसहरू त्यस्ता सुन्दर ठाउँ वा वस्तु हेर्न पैसा खर्च गरेर र खतरा मोलेर आउने–जाने गर्छन् । त्यति मात्रै होइन, बिथोवनदेखि बिटल्ससम्मका गीत–संगीत, शेक्सपियरका नाटक, भिन्चीका चित्रदेखि म्याराडोना र मेस्सीसम्मले गरेका गोलहरू संसारभरका मानिसहरूलाई सुन्दर लाग्छन् र मन पर्छन् । थप, सुन्दरताप्रति मात्रै होइन, कुरूपताप्रति पनि मानिसहरूबीच केही सर्वस्वीकार्य चेतना पाइन्छ । जस्तै— सिनो देख्दा सबैले नाक खुम्च्याउँछन् र त्यसलाई मन पराउँदैनन् । त्यसकारण मानवीय सौन्दर्यचेत व्यक्तिपरक मान्यता र वस्तुपरक गुणहरूको गठजोडबाट निर्मित हुन्छ । व्यक्तिपरक मान्यताहरू समाजले निर्माण गर्छन् भने वस्तुपरक गुण ठम्याउने चेतना मानिसले उद्विकासका क्रममा हासिल गरेको हुन्छ । अर्थात्, सौन्दर्य चेतना सामाजिकभन्दा बढी जैविक विषय हो ।

सुन्दरता आँखामा होइन, दिमागमा हुन्छ

प्लेटोले ‘वस्तुको सुन्दरता हेर्ने आँखामा हुन्छ’ (ब्युटी लाइज इन द आइज अफ द बिहोल्डर) भनेर सुन्दरतालाई बुझ्न र व्याख्या गर्न खोजेको प्रयासदेखि हालसम्म आधुनिक विज्ञानले सौन्दर्यको रहस्य खोतल्नसम्ममा धेरै उपलब्धि हासिल गरिसकेको छ । विशेष गरी स्नायु विज्ञान, उद्विकास विज्ञान र मानव व्यवहार विज्ञानमा भएका पछिल्ला अनुसन्धानहरूले सुन्दरता हेर्नेका आँखामा होइन, हेर्नेको मस्तिष्कमा हुन्छ भन्ने देखाएका छन् । युनिभर्सिटी कलेज लन्डनका अध्येताहरू तोमिहिरो इसिजु र सिमेर जेकीले एउटा अनुसन्धानका क्रममा २१ मानिसलाई ३० चित्र देखाउँदा र ३० संगीतका टुक्रा सुनाउँदा उनीहरूका मस्तिष्कमा हुने परिवर्तनलाई एमआरआई मेसिनबाट हेरे । ती मानिसहरूलाई उनीहरूले देखेका ती चित्र र सुनेका छोटा संगीतलाई ‘सुन्दर,’ ‘तटस्थ’ र ‘कुरूप’ भनेर वर्गीकरण गर्न लगाए अनि उनीहरूको वर्गीकरणलाई एमआरआई स्क्यानको नतिजासँग तुलना गरे । ‘सुन्दर’ भनेर वर्गीकरण गरिएका चित्र हेर्दा र संगीत सुन्दा मानिसको मस्तिष्कको विशेष भाग (मेडिएल अर्बिटो फ्रन्टल कर्टेक्स : एमओएफसी) मा चरम प्रतिक्रिया उत्पन्न भएको पाए, जुन ‘तटस्थ’ र ‘कुरूप’ भनिएका चित्र हेर्दा र संगीत सुन्दा उत्पन्न भएको थिएन ।

इसिजु र जेकीपछिका धेरै स्नायु अध्येताले गरेका यस्तै अध्ययनहरूले सुन्दरता आँखामा होइन, दिमागमा हुन्छ भनेर थप पुष्टि गरेका छन् । स्नायु वैज्ञानिकहरूले सुन्दरतालाई महसुस गर्ने मानवमस्तिष्कको त्यस्तो भागलाई सर्वसाधारणले बुझ्ने भाषामा सुन्दरताको केन्द्र (ब्युटी सेन्टर) नामकरण गरेका छन् । केही वर्षअघि छिंग्वा विश्वविद्यालयका अध्येताहरूले मानवमस्तिष्कमा त्यस्ता केन्द्रहरू धेरै हुने र सुन्दरताको अनुभव गर्दा दिमागका थुप्रै भागमा एकै पटक प्रतिक्रिया देखिने पत्ता लगाएका थिए । थप, सुन्दर भनिएका वस्तुलाई देख्दा, ठाउँमा पुग्दा, गीत–संगीतलाई सुन्दा, चित्र/सिनेमा/खेल हेर्दा मानिसको मस्तिष्कको दुःख र सुख महसुस गर्ने भाग — जुन मस्तिष्कको एकै ठाउँमा हुन्छ — मा पनि प्रतिक्रिया उत्पन्न हुने अध्ययनहरूले देखाएका छन् । अर्थात्, खाना खाँदा, लागूऔषधको सेवन वा यौनसम्पर्क गर्दा मस्तिष्कको जुन भागमा प्रतिक्रिया उत्पन्न भई मानिसलाई चरम सन्तुष्टिको अनुभव हुन्छ, सुन्दरतालाई अनुभव गर्दा पनि मस्तिष्कको त्यही भागमा प्रतिक्रिया उत्पन्न भई मानिसलाई आनन्द मिल्छ । र, कुरूपताको अनुभव गर्दा मस्तिष्कको त्यही भागमा प्रतिक्रिया उत्पन्न भई मानिसलाई त्यसले कष्टको महसुस गराउँछ । त्यसकारण जैविक रूपमा सुन्दरता त्यो हो जसलाई मानवमस्तिष्कले मन पराउँछ वा चाहन्छ किनभने त्यसले मानिसलाई सुखानुभूति दिन्छ । र, कुरूपता त्यो हो जसलाई मानवमस्तिष्कले दुत्कार्छ वा छल्न खोज्छ किनभने त्यसले मस्तिष्कमा दुःखानुभूति दिन्छ ।

उद्विकासका क्रममा हरेक जीवले बाँच्ने सिलसिलामा आफूमाथि आइपर्ने बाधा, व्यवधान र असहजतालाई पन्छाउन सक्ने गुणहरू बोकेको हुन्छ । त्यस्ता गुणहरू बोकेको अनुवंश (जिन) आफ्ना सन्तानहरूमा पुस्तान्तरण गरिरहेको हुन्छ । प्रकृतिले बाँच्नका लागि चाहिने त्यस्ता अनुकूल गुणहरूको छनोट गरेरै जैविक संसार चलेको हुन्छ, जसलाई चार्ल्स डार्विनले प्राकृतिक छनोटको सिद्धान्तमार्फत लिपिबद्ध गरे ।

सुन्दरताको जरोदेखि यौनिक छनोटसम्म

तर चार्ल्स डार्विन विभिन्न जनावरमा विद्यमान सुन्दर भनिने रासायनिक (वासना), श्रवणीय (आवाज) र शारीरिक (पुच्छर, सिङ, आकार) गुणहरूको रहस्य बुझ्न र व्याख्या गर्न नसकेर हैरान थिए । विशेष गरी भाले मयूरको सुन्दर पुच्छर — जसले मयूरलाई सिकारी जनावरको पन्जामा पार्न सघाउँथ्यो — देखेर डार्विन बेचैन थिए । किनभने बाँच्नका लागि प्रतिकूल त्यस्ता गुणहरूको निर्माण र सन्तानमा त्यसको हस्तान्तरणको कुरा उनको प्राकृतिक छनोटको सिद्धान्तविपरीत थियो । डार्विनको प्राकृतिक छनोटको सिद्धान्त अनुसार, जीवहरूमा बाँच्नका लागि अनुकूल गुणहरू मात्र संरक्षित हुन्छन् र त्यो पुस्ताहरूमा हस्तान्तरण हुँदै जान्छ । आफ्नो सिद्धान्तसँग बाझिने कुरालाई व्याख्या गर्न नसक्दा डार्विनले हैरान भएर लेखेका थिए, ‘जब म भाले मयूरको पुच्छरलाई एकतमासले हेर्छु, त्यसमा जडित प्वाँखहरूले मलाई बिरामी बनाउँछन् ।’

डार्विनले सौन्दर्यचेतनाको उत्पत्ति सम्बन्धी आफ्नो अज्ञानतालाई लामो समयसम्म रहन दिएनन् । उनले भाले मयूर लगायतका जीवहरूमा विद्यमान सौन्दर्यको रहस्यलाई ‘द डिसेन्ट अफ म्यान एन्ड सेलेक्सन इन रिलेसन टु सेक्स’ भन्ने पुस्तकमार्फत व्याख्या गरेका छन् । उक्त पुस्तकमा अघि सारिएको यौनिक छनोटको सिद्धान्त अनुसार, जीवहरूमा सुन्दर गुणहरू संरक्षित हुनुका पछाडि प्राकृतिक छनोटको भन्दा यौनिक छनोटको भूमिका बढी प्रभावकारी हुन्छ । आकर्षक पुच्छर भएको भाले मयूरलाई पोथी मयूरले यौनसम्पर्कका लागि रोज्ने भएकाले भालेमा सुन्दर पुच्छरको विकास भएको हुन्छ, चाहे त्यसले बाँच्नका लागि (उड्न, दौडन) प्रतिकूलता सृजना गरेकै किन नहोस् । विभिन्न जनावरमा पाइने पुच्छरदेखि सिङसम्म, अनुहारदेखि आवाजसम्मका ‘सुन्दर’ गुणहरू विपरीतलिंगीलाई, विशेष गरी भालेले पोथीलाई यौनसम्पर्कका लागि आफूलाई छनोट गरोस् भनेर आकर्षित गराउने संकेतका रूपमा उद्विकास भएका हुन्छन् ।

त्यसकारण, उद्विकासको कोणबाट हेर्दा आकर्षक हुनु अर्थात् सुन्दर देखिनु भनेको आफू स्वस्थ, शक्तिशाली र रोगविहीन छु भन्ने संकेत विपरीतलिंगीलाई दिनु हो । जीवहरूमा भालेले पोथीलाई सुन्दर लाग्ने गुणहरू बोकेर वा त्यसको प्रदर्शन गरेर आफू यौनसम्पर्कका लागि उपयुक्त भएको दाबी गर्छ र पोथी पनि सबैभन्दा उपयुक्त (सुन्दर, सुरिलो स्वरको धनी, शक्तिशाली र ठूलो इत्यादि) गुण भएको भालेसँग यौनसम्पर्क गरेर आफ्नो जीन स्वस्थ जिनसँग मिसाएर सन्तान उत्पादन गर्न लालायित हुन्छे । जनावर जगत्मा सन्तान उत्पादनमा जसको बढी ऊर्जा खर्च हुन्छ, उसैलाई यौनिक छनोट गर्ने अवसर प्राप्त हुन्छ भन्ने वैज्ञानिक राय छ । त्यसैले सन्तान जन्माउन र हुर्काउन पोथीले बढी ऊर्जा खर्च गर्नुपर्ने भएकाले यौनसम्पर्कका लागि उपयुक्त भालेहरू छान्ने अवसर पोथीलाई मात्रै प्राप्त हुन्छ । जसरी प्रकृतिमा फेरिँदो वातावरणले जीवहरूलाई त्यसमा अनुकूलन हुन दबाब सृजना गरेको हुन्छ र त्यस्तो दबाबले अनुकूलन (अड्याप्टिभ) हुन सहयोगी गुणहरूको संरक्षित र पुस्तामा प्रसारित हुने अवस्था बनेको हुन्छ, त्यसरी नै यौनसाथीको रोजाइमा पर्नुपर्ने (नत्र आफ्नो जिन सन्तानमा सार्न नपाइने) दबाबले जीवहरूमा सुन्दर भनिने गुणहरूको उत्पत्ति र विकास भएको हुन्छ । त्यसकारण मानव लगायतका जीवहरूमा विकसित सार्वभौम सौन्दर्यचेतना मूलतः जैविक विषय हो ।

प्रकाशित : पुस २८, २०७९ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×