एप डेभलपमेन्ट : सिर्जनशील आम्दानी

नेपालीले बनाएका एपमा हाम्रो पात्रो, नेपाली पात्रो, ई–सेवा, फुडमान्डु, भोजडिल्स, लुडोलगायत चलेकामध्येमा पर्छन् । टिकटक, पबजी मोबाइल, कलब्रेक, क्लास अफ क्लान्स, पठाओ भने धेरै डाउनलोड हुने विदेशी एप हुन् ।
सजना बराल

काठमाडौँ — पछिल्ला दिनमा नेपाली युवाहरू व्यावसायिक र सोखका रूपमा एप डेभलपमेन्टतर्फ आकर्षित भएको देखिन्छ । विभिन्न कलेजहरूमा औपचारिक रूपमै पढाइ हुने र एप सफल हुँदा करियरको राम्रो विकल्प बन्ने भएकाले यसमा आकर्षण बढेको हो ।

एप डेभलपमेन्ट : सिर्जनशील आम्दानी

कतिपयले त औपचारिक अध्ययन नै नगरी युट्युब भिडियो ट्युटोरियल वा अनलाइन सिकाइ प्लाटफर्महरूबाट ज्ञान बटुल्दै यस क्षेत्रमा लागेका उदाहरण पनि छन् । उनीहरूले कम्पनी खोलेर इन–हाउस एप (आफ्नै लागि निर्मित एप) बनाउने वा फ्रिलान्सरका रूपमा देश/विदेशका ग्राहकको आवश्यकताअनुसार विभिन्न प्रयोजनका लागि मोबाइल एप्लिकेसनहरू बनाउने गरेका छन् ।

झापा, बिर्तामोडका प्रदीप अधिकारी विगत ६ वर्षदेखि वेब डेभलपमेन्ट, एप डेभलपमेन्ट, गेम स्ट्रिमिङलगायत क्षेत्रमा आबद्ध छन् । उनको कम्पनी टेक सञ्जालले झापाकै एक शिक्षकका लागि बनाइदिएको ‘योर अल नोट्स’ नामक एन्ड्रोइड एप विद्यार्थीहरूमाझ लोकप्रिय छ । यसमा कक्षा ९ देखि १२ सम्मका विभिन्न विषयका नोटहरू राख्ने गरिन्छ । ती नोट निकै उपयोगी भएको प्रतिक्रिया दिँदै इशुधी दाहालले उक्त एपलाई गुगल प्लेस्टोरमा फाइभ रेटिङ दिएका छन् । ‘यो एपमा लगभग सबै विषयका नोटहरू छन्,’ उनले लेखेका छन्, ‘धेरै भद्दा नोट छैनन् । हामीजस्ता विद्यार्थीलाई उपयोगी हुने एप बनाइदिएकामा धन्यवाद दिन चाहन्छु ।’

टेक सञ्जालले नै केही समयअघि बनाएको रिजल्ट एपचाहिँ विद्यालयहरूको परीक्षाका बेला बढी डाउनलोड र प्रयोग हुने गरेको प्रदीपको भनाइ छ । उक्त एपमा विद्यालयका एडमिनले रिजल्ट पोस्ट गरेपछि शिक्षक, विद्यार्थी र अभिभावकले हेर्न सक्छन् । हाल प्रदीप र उनका साथीहरू एक राइड सेयरिङ एप निर्माणमा व्यस्त छन् । ‘आजभोलि सबैको हातमा मोबाइल छ, सबैले एपबाटै आफूलाई चाहेको कुरा खोज्न थालेकाले एपको माग बढेको छ,’ प्रदीप भन्छन्, ‘एपका लागि धेरै जिज्ञासाहरू आउँछन् तर रमाइलो कुरा के छ भने ५० लाख रुपैयाँ पर्ने एप देखाएर ५/१० हजारमै बनाइदेऊ भन्नुहुन्छ । एउटा सामान्य एप बनाउन कम्तीमा २० हजार रुपैयाँ लाग्छ ।’

हिजोआज एप व्यवसाय कसरी फस्टाउँदै गएको भने हामीकहाँ विभिन्न सरकारी निकायका कार्यालयले आफ्ना शाखापिच्छे छुट्टाछुट्टै एप बनाउने गरेका छन् । निजी क्षेत्रका संघसंस्था मात्रै नभएर विभिन्न पेसा तथा व्यवसायमा सम्बद्धहरूले पनि आफ्ना ग्राहक वा अनुयायीसम्म पुग्न मोबाइल एप्लिकेसन बनाउने गरेको देखिन्छ । डिजिटल संवादका लागि एप सबैभन्दा सहज माध्यम मानिने भएकाले विश्वभरमै स्मार्टफोन र एपको प्रयोग द्रुत गतिमा बढिरहेको छ ।

भविष्यमा हरेक थोक एपमा उपलब्ध हुने भएकाले वेब सर्चको आवश्यकता नै नपर्ने प्रविधि क्षेत्रका विश्लेषकहरू बताउँछन् । २०२२ को नोभेम्बरसम्ममा गुगल प्ले स्टोरमा ३५ लाख ५० हजार र एप्पल एप स्टोरमा १६ लाख वटा एपहरू उपलब्ध रहेको बजार र उपभोक्ताबारे आर्थिक विवरणहरू तयार पार्ने स्टाटिस्टाले जनाएको छ । फोर्ब्स टेक्नोलोजी काउन्सिलका सदस्य रोल्यान्ड पोल्जिनका अनुसार एक व्यक्तिले औसतमा प्रतिदिन ४.२ घण्टा एप चलाएर बिताउने गर्छन् ।

‘पछिल्लो समय सबै कुरा मोबाइल फर्स्ट भन्नेमा गएकाले चाहिने/नचाहिने सबै कुराका लागि मोबाइल एपहरू बनिरहेका छन्,’ नेपालमा आर्थिक प्रविधि क्षेत्रको अग्रणी, एफ वान सफ्ट समूहका निर्देशक सुवास शर्मा भन्छन्, ‘भर्खर–भर्खर सिक्ने वा फ्रिलान्सरहरूले पनि आ–आफ्नो तरिकाले एप बनाइरहेका छन् । पहिला वेबसाइटका लागि जस्तो क्रेज थियो अहिले एपका लागि त्यस्तै क्रेज छ ।’

शर्माका अनुसार नेपालमा कुनै व्यावसायिक समस्या (बिजनेस प्रब्लम) समाधान गर्नभन्दा पनि मनोरन्जन वा सानातिना प्रयोजनका लागि एप बनाउने चलन छ । त्यसरी नै बनाइएका कतिपय एप असाध्यै लोकप्रिय भई डेभलपरले उल्लेख्य प्रगति गरेको देखेर पनि युवाहरू एप मेकिङमा लागिपरेका छन् । तर, एप बनाउनासाथ सबै सफल र बनेकाजति सबै एप लोकप्रिय हुन्छन् भन्ने छैन ।

सुरुमा सोख र प्रयोगका लागि बनाइएका हाम्रो पात्रो, नेपाली पात्रो, लुडो, कलब्रेकजस्ता एपहरू अहिले ठूलो परिणाममा डाउनलोड र प्रयोग भएका छन् । पोखराको गेमिङ कम्पनी, यार्सा ल्याब्सले सन् २०१९ मा बनाएको लुडो एप गुगल प्लेस्टोरमा १० करोडभन्दा बढी डाउनलोड भएको छ ।

यार्साले नै बनाएका कलब्रेक, नेपाल ड्राभिङ लाइसेन्स, धुम्बल, म्यारिज, स्नेक एन्ड ल्याडर गरी ९ वटा गेमिङ एपको कुल डाउनलोड १५ करोडभन्दा बढी रहेको ल्याब्सका प्रमुख गेम डेभलपर प्रेरक गिरी बताउँछन् । ‘हाम्रो एपमा दैनिक सक्रिय र नियमित प्रयोगकर्ताको संख्या ७० हजारदेखि १ लाख नाघ्ने गरेको छ,’ उनी भन्छन्, ‘भारत, बंगलादेश, पाकिस्तानजस्ता दक्षिण एसियाली देशमा हाम्रा एप लोकप्रिय छन् ।’

यार्साका संस्थापक एनजे सुवेदी र राहुल सुवेदीको समूहले जम्मा दुई दिनमा तयार गरेको लुडो एप यति सफल भयो कि कुनै बेला यो दिनमै ५ लाख पटकसम्म डाउनलोड हुने गरेको संस्थापकहरूको दाबी छ । यसकै सफलतापछि यार्साले पोखरा र काठमाडौंमा कार्यालय स्थापना गरी हाल ५० जनालाई रोजगारी दिएको छ ।

एप बनाएर सफलता हासिल गरेका अन्य कम्पनी, तिनका संस्थापक र कर्मचारीहरूको पनि आर्थिक जीवनशैली फेरिएको छ । हामीकहाँ चलेका स्थानीय एपहरूमा लुडो, हाम्रो पात्रो, नेपाली पात्रो, ई–सेवा, कलब्रेक, टुटल, फुडमान्डु, भोजडिल्सलगायत छन् । धेरै डाउनलोड हुनेमा चाहिँ टिकटक, पबजी मोबाइल, क्लास अफ क्लान्स, पठाओजस्ता विदेशी एपहरू छन् ।

कसरी हुन्छ आम्दानी ?

फोर्ब्समा हालै प्रकाशित फोर्ब्स टेक्नोलोजी काउन्सिलका सदस्य पोल्जिनको विश्लेषणअनुसार सन् २०२६ सम्ममा विश्व एप अर्थतन्त्र ६१४ बिलियन डलर पुग्ने अनुमान गरिएको छ । हालसम्म सबैभन्दा धेरै ग्राहकमार्फतको आयले एप उद्योगमा दबदबा कायम गरिरहेको भए तापनि अबका दिनमा एप मनिटाइजेसनको मोडल परिवर्तन हुने उनले उल्लेख गरेका छन् । उनका अनुसार सन् २०१४ देखि २०१७ सम्ममा गुगल प्लेका एपहरूको सब्स्त्रिप्सन दस गुणाले बढेका थिए । सन् २०२१ मा आइपुग्दा एन्ड्रोइड एपको सब्स्क्रिप्सन १२ प्रतिशत र आईओएसको १६ प्रतिशतले घटेको स्टाटिस्टाको तथ्यांकले देखाउँछ ।

‘अबका दिनमा सब्स्क्राइब गरेर वा पैसा तिरेर मात्रै चलाउन मिल्ने एप बनायो भने प्रयोगकर्ता पाउन गाह्रो छ,’ पोल्जिनले लेखेका छन्, ‘एप मनिटाइजेसनको हाइब्रिड मोडल अपनाउनु उपयुक्त हुन्छ । यसमा एपभित्र विज्ञापन समावेश गर्ने, एपभित्रै विभिन्न प्याकेजहरू किन्न मिल्ने सुविधा (इन–एप पर्चेज) राख्ने जस्ता विकल्प अपनाउन सकिन्छ ।’ हामीकहाँ सब्स्क्रिप्सन मोडल चल्तीमा छैन । फुडमान्डु, दराज, सस्तो डिल, पठाओजस्ता एपले आफ्नो ‘प्लेटफर्म’ प्रदान गरेबापत निश्चित कमिसन लिएर आम्दानी गर्ने गरेका छन् ।

हाम्रोबजार जस्ता एपले विज्ञापनमार्फत आम्दानी गर्छन् भने हाम्रो पात्रो जस्ता एपले गुगलको एडमब नेटवर्कमा जोडिएर मासिक रूपमा आम्दानी गर्ने गरेका छन् । ग्राहकका लागि एप बनाइदिएर पनि आम्दानी गर्ने गरिएको छ । यस्तो काम गर्नेहरूमध्ये केहीले मासिक ७ लाख रुपैयाँसम्म आर्जन गर्ने गरेको एप डेभलपरहरू बताउँछन् । फ्रिलान्स सेवाका लागि बनेका फाइभर, उपवर्कजस्ता ग्लोबल मार्केटप्लेसहरूमा जोडिएर युवाले विदेशी ग्राहकको मागअनुरूप मोबाइल, डेस्कटप एप्लिकेसनहरू बनाउने गरेका छन् । यस्ता मार्केटप्लेसमा कति नेपाली आबद्ध छन् र तिनले कति आम्दानी गरिरहेका छन् भन्नेबारे कुनै विवरण छैन । यसबारे आफूहरूले अध्ययन गरिरहेको अर्थशास्त्री स्वर्णिम वाग्लेले हालै आयोजित एक कार्यक्रमा बताएका थिए ।

एपको नशा

हामीकहाँ गेमिङ वा मनोरन्जनसम्बन्धी एप धेरै बन्ने गरेका भए पनि केही युवाले चाहिँ समस्या समाधान र सामाजिक रूपमा उपयोगी हुने एपसमेत निर्माण गरिरहेका छन् । उदाहरणका रूपमा खेतीपातीसम्बन्धी खेती फार्म, कृषि गुरु, स्मार्ट कृषिजस्ता एपलाई लिन सकिन्छ । कृषिप्रधान देशमा सफल हुनुपर्ने यस्ता एपले भने व्यावसायिक रूपमा उल्लेख्य छाप छोड्न सकेको देखिँदैनन् । तथापि, युवाहरूले आफ्ना एपमार्फत किसानको दैनिकी र व्यवसाय सहज बनाउन मद्दत गरिरहेका मात्रै नभएर किसानलाई सरकारी कार्यक्रम, बैंक तथा वित्तीय संस्था र उपभोक्तासँग जोड्ने प्रयत्न जारी राखेका छन् ।

‘हाम्रा किसानहरूलाई बीउबिजन किन्नदेखि कृषिसम्बन्धी जानकारीमूलक सेवा लिन, आफ्ना उत्पादनको बजारीकरण गर्न, सरकारी निकाय वा बैंक तथा वित्तीय संस्थाबाट सहयोग लिन समस्या भइरहेको देखेर हामीले खेती फार्म र खेती फुड एप बनाएका थियौं,’ खेती फार्मका चिफ टेक्नोलोजी अफिसर सुवास भट्टराई भन्छन्, ‘किसानलाई चाहिने सबै कुरा हामीले एउटै एपमा ल्याएका छौं । अहिले २२ हजारभन्दा बढी किसानले एप डाउनलोड गर्नुभएको छ । १० हजार जना किसान आफैं आबद्ध भएर नियमित रूपमा एप चलाइरहनुभएको छ ।’ एपलाई सक्दो धेरै किसान र उपभोक्तासम्म पुर्‍याउन आफूहरूले बेलाबेलामा डिजिटल साक्षरतासम्बन्धी कार्यक्रम गर्दै आएको उनले बताए ।

मनोरन्जनात्मक एपको तुलनामा अन्य एपका प्रयोगकर्ता कम हुनु स्वाभाविक हो । यस्ता एपमा सीमित वर्गलाई मात्रै रुचि र आवश्यकता हुने भएकाले ठूलो परिणाममा प्रयोग नहुने सुवासले बताए । ‘पछिल्लो समय विशेषतः मनोरन्जनात्मक एपले प्रयोगकर्ताको रुचि, आनीबानी अध्ययन गरेर कन्टेन्ट र फिचरहरू समावेश गरी एप रिलिज गर्ने गरेका छन्,’ उनी भन्छन्, ‘प्रयोगकर्ताले त्यसमा प्रशस्त समय बिताउने भएकाले धेरै उपात्दनशील समय र ऊर्जा खेर गइरहेको छ ।’

प्रकाशित : पुस २८, २०७९ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?