टोंगामा पहिलो पटक कोरोना संक्रमण

कार्तिक १४, २०७८

एजेन्सी

मुआ — प्रशान्त महासागरस्थित टापु राष्ट्र टोंगामा कोभिड–१९ को महामारी सुरु भएयताकै पहिलो संक्रमण पुष्टि भएको छ । शुक्रबार संक्रमण पुष्टि भएसँगै टोंगाका नागरिकहरू कोभिड खोप लगाउन हतारिएका छन् ।

अधिकारीका अनुसार कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लगाएका एक मानिसमा संक्रमण पुष्टि भएको हो । ती नागरिक हालै न्युजिल्यान्डबाट जहाजमा टोंगा आएका थिए । टोंगाका प्रधानमन्त्री पोहिभा तुएनिटोआले मुख्य द्वीप टोंगा टापुमा अर्को सातादेखि लकडाउन हुन सक्ने बताएका छन् ।

एक लाखको हाराहारीमा जनसंख्या रहेको टोंगा न्युजिल्यान्डबाट उत्तर पश्चिममा पर्छ । त्यहाँका एकतिहाइ नागरिकले खोपको पूर्ण मात्रा लिइसकेको जनाइएको छ । तर त्यहाँको राष्ट्रिय खोप कार्यक्रम संयोजकले खोप लगाउन हजारौं मानिसहरू केन्द्रहरूमा जम्मा भएको बताएका छन् ।

बीबीसीका अनुसार न्युजिल्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २ सय १५ जनामध्येका एक यात्रुमा संक्रमण पुष्टि भएको हो । टोक्यो ओलिम्पिक्सयता न्युजिल्यान्डमा रोकिएको टोंगाको ओलिम्पिक्स टोली पनि उक्त उडानमा देश फर्केको थियो । 

न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले आफ्नो देश छाड्ने बेलामा ती व्यक्तिमा कोभिड नदेखिएको जनाएको छ । तर टोंगाका अधिकारीहरूले नियमित परीक्षणका क्रममा संक्रमण पुष्टि भएको जनाएका हुन् । टोंगाका स्वास्थ्य मन्त्रालयका प्रमुख कार्यकारीका अनुसार संक्रमित व्यक्तिले अक्टोबरमा खोप लगाएका थिए । जसका कारण उनी गम्भीर बिरामी नहुने ठानिएको अधिकारीहरूले जनाएका छन् ।

कोभिड–१९ का कारण विश्वभर २४ करोड ६१ लाख ७८ हजार ५ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ४९ लाख ९२ हजार ४ सयभन्दा बढीको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

कोरोना भाइरस

एजेन्सी

Link copied successfully