कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बालबालिकालाई कोरोना खोप दुई महिनाभित्रै !

अतुल मिश्र

काठमाडौँ — बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप दुई महिनाभित्र लगाउन सुरु गर्ने सरकारले दाबी गरेको छ । हाल खरिद प्रक्रियामा रहेको फाइजरको ६० लाख डोज खोप डिसेम्बरदेखि मार्चभित्र आउन सक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

बालबालिकालाई कोरोना खोप दुई महिनाभित्रै !

कोभाक्स सुविधामार्फत ‘कस्ट सेयरिङ’ अन्तर्गत खरिद गरिने ४० लाख डोज मोडर्ना पनि मार्चभित्र आउने सरकारी दाबी छ । औषधि व्यवस्था विभागले शून्यभन्दा तलको तापक्रममा भण्डारण गर्न सकिने फाइजरलाई ५२ दिनअघि र मोडर्नालाई ४५ दिनअघि आकस्मिक उपयोगका लागि अनुमति प्रदान गरिसकेको छ ।

‘ठ्याक्कै मिति नतोकिए पनि नोभेम्बर–डिसेम्बरदेखि सन् २०२२ को मार्चसम्म फाइजर र मोडर्नाको सबै खोप भित्रिने अपेक्षा गरिएको छ,’ प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार प्राडा आरपी बिच्छाले भने, ‘कुनै असामान्य घटना नभए डिसेम्बरको अन्त वा नयाँ वर्षदेखि अप्रिलको अन्त्यसम्म १२ देखि १७ वर्षका करिब ३५ लाखलाई खोप लगाइनेछ ।’ सरकारी तथ्यांकअनुसार मुलुकभर उक्त उमेर समूहमा ३४ लाख २५ हजार ४ सय ८ जना छन् ।

हाल शून्यभन्दा कम ६० देखि ९० डिग्री सेल्सियस ‘अल्ट्रा लो टेम्परेचर स्टोरेज’ क्षमता भएको फ्रिजमा करिब १ लाख डोज फाइजरको खोप राख्न मिल्ने गरी ४ वटा फ्रिज खोप शाखासँग छ । खोप लगाउने बेलामा भने यसलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राखिन्छ । गाभीका अनुसार नखोलिएको खोपको भाइललाई २ देखि ८ डिग्री तापक्रमको सामान्य रेफ्रिजेरेटरमा ५ दिनसम्म राख्न सकिन्छ । मोडर्ना खोप शून्यभन्दा कम २५ डिग्री सेल्सियस तल्लो तापक्रममा राखिने भएकाले त्यति समस्या नभए पनि हाल शून्यभन्दा तल्लो तापक्रममा खोप राख्न मिल्ने फ्रिज पथलैयामा आएको मन्त्रालयका सहप्रवक्ता दाहालले जानकारी दिए ।

अत्यन्त न्यून तापक्रममा राख्नुपर्ने मोडर्ना र फाइजरको खोप एकैपटक नल्याई आवश्यकताअनुसार क्रमशः आपूर्ति हुने भएकाले भण्डारणमा खासै समस्या नहुने सरकारको भनाइ छ । डिसेम्बरसम्म एकदेखि दुई लाख डोज आउन सक्ने स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बताए । ‘मोडर्ना आएको दुई साताभित्र बालबालिकालाई लगाउन सकिन्छ,’ उनले भने ।

१२ वर्षभन्दा माथि उमेर समूहमा कोभिड रोकथाम गर्न फाइजर खोप प्रभावकारी छ । यो खोप लिएको दुईदेखि तीन सातापछि कोभिडविरुद्ध शरीरमा सुरक्षा उत्पन्न हुन थाल्छ । फाइजरको दुई डोज ३ देखि ६ साताको अन्तरमा लगाउनुपर्छ । यो खोपमा कुनै जीवित भाइरस हुँदैन । मोडर्ना खोप भने ४–६ साताको अन्तरालमा दुई डोज लगाउनुपर्छ । यसमा पनि कोभिडको जीवित भाइरस हुँदैन ।

दुई वर्षमाथिकालाई खोप ल्याउने तयारी

सरकारले दुई वर्षमाथिका बालबालिकालाई लगाउन मिल्ने खोपसमेत ल्याउने तयारी थालेको छ । यस्ता खोपमध्ये दुईदेखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्ने भारतको कोभाक्सिन खोपलाई उच्च प्राथमिकतामा राखिएको छ । ‘२ वर्षदेखि १७ वर्ष उमेर समूहका लागि उपयोग गर्न सकिने धेरै खोप हाल ट्रायल फेजमा छन्,’ डा. बिच्छाले भने, ‘भविष्यमा २ वर्षमाथिका बालबालिकाको खोपका लागि पनि सोचेका छौं ।’ विज्ञहरूका अनुसार भारतमा बनेको कोभाक्सिन खोपलाई २ वर्षमाथि उमेर समूहका लागि उपयोग गर्नका लागि मान्यता प्रदान गर्न विश्व स्वास्थ्य संगठनमा निवेदनसमेत दिइएको छ ।

यस्तै, फाइजरलाई ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिका लागि समेत उपयोग गर्न अमेरिकास्थित एफडीएले मान्यता दिएको छ । त्यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले पनि मान्यता दिए मात्र यो प्रयोगमा ल्याउन मिल्छ । ‘भारतको कोभाक्सिन खोपले २ वर्षमाथिका बालबालिकामा उपयोग गर्ने अनुमति जनवरी–फेब्रुअरीमा पाउन सक्ने सम्भावना छ,’ डा. बिच्छा भन्छन्, ‘यो खोप हाम्रो पहिलो प्राथमिकतामा रहन्छ ।’ खोप शाखाको तथ्यांकअनुसार मुलुकमा २ देखि ११ वर्ष उमेर समूहका ५८ लाख १६ हजार ६ सय ३६ जना छन् ।

प्रकाशित : कार्तिक १३, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×