कोरोनाजस्तै लक्षणका बिरामी घरघरमै

गन्ध र स्वाद हराउने, रूघाखोकी लाग्ने, जीउ दुख्ने भए पनि घरै बसेर निको हुँदै

कार्तिक १३, २०७८

दुर्गालाल केसी, सन्जु पौडेल

लुम्बिनी, दाङ — दसैंका बेला ज्वरो आयो, टाउको र आँखा दुख्न थाल्यो । शरीर फतक्क गल्ने र खान मन नलाग्ने भयो । रूपन्देहीको सिद्धार्थनगरकी कविता शर्माले विस्तारै गन्ध र स्वाद थाहा पाउन छाडिन् । दुई साताभन्दा लामो समय यस्तो भएपछि उनले आफूलाई कोरोना संक्रमणको आशंका गरिन् । सतर्कता अपनाइन् तर जचाउन भने गइनन् ।

परिवारका अरू सदस्यलाई पनि त्यस्तै भयो । कोरोनाविरुद्धका खोपको दुवै मात्रा पूरा गरेकाले संक्रमणले नगलाउने आत्मविश्वास थियो । उनीसँगै परिवारका सबै निको भए । थकान भने अझै महसुस भइरहेको शर्माले बताइन् । ‘खोपले काम गरेको हो कि जस्तो लाग्छ,’ उनले भनिन्, ‘लक्षण कोरोनासित मिल्दोजुल्दो थियो, घरमै आराम गरियो, निको भयो ।’ 

बुटवल–११ की शर्मिला पाण्डेयले लामो समय ज्वरो आएर रुघा लागे पनि कोरोना जाँच गराइनन् । नजिकैको मेडिकलमा जाँच्दा उनलाई निमोनियाको संकेत देखियो । एक्सरे गराएपछि निमोनिया प्रमाणित भयो । घरमै सुप, आयुर्वेदिक र निमोनियाको औषधि खाएपछि सन्चो हुँदै गएको उनले बताइन् । गत भदौमा बिरामी परेकी उनी अहिले पनि पूर्ण स्वस्थ भने भइसकेकी छैनन् । औषधि सेवन गर्दै रहेकी उनले कोरोना जाँचेको भए निश्चित नै पोजिटिभ आउने गरी बिरामी परेको बताइन् । ‘चाडबाड आएका बेला परीक्षण गर्न मन लागेन,’ उनले भनिन्, ‘निमोनिया भइसकेको रहेछ, अहिलेसम्म पनि हल्का घ्यारघ्यार छ, औषधि खाइरहेकी छु ।’ मेडिकल सञ्चालकले पनि कोरोना जाँचको सल्लाह नदिएको भन्दै उनले सुरुमा निमोनिया भएकाले असर नगरेको हुन सक्ने बताइन् ।

स्वास्थ्यमा आवश्यकताअनुसार रेखदेख गरिरहेको उनको भनाइ छ । भारतमा अध्ययन पूरा गरेर घर फर्किएका तिलोत्तमा–५ का दीपक पाण्डे १५ दिनसम्म थला परे । भारतमा खोपको दुवै मात्रा नै लगाउन पाएका उनले गन्ध र स्वाद नपाए पनि सुरुमा अन्य लक्षण भने थाहा पाएनन् । १० दिन कटेपछि ज्वरोले थलिए । स्थानीय मेडिकलबाट ज्वरोको औषधि किनेर खाए । स्वाद आउने छाँट नै नभएपछि उनलाई कोरोना भएको हुन सक्ने अनुभव भयो । ज्यान दुखाइ र ज्वरोसँगै स्वाद नभएपछि उनले आराम गरे । १५ दिनपछि उनी निको हुँदै गए । ‘जाँच गर्न जानै मन लागेन,’ उनले भने, ‘खोप लगाएको थिएँ, कोरोना होइन कि जस्तो लाग्यो ।’ तर कोरोनाबारे पढ्दा आफ्नो मुख्य लक्षण स्वाद नपाएकाले कोरोना नै भएको हो कि भन्ने लागेको उनले बताए ।

यी केही उदाहरण हुन् । रूपन्देहीमा पछिल्लो पटक परीक्षणको दायरा घट्दै जाँदा संक्रमण पुष्टि हुने लक्षण देखिएका बिरामी पनि घरघरमै बसी उपचार गर्ने र विस्तारै निको हुने गरेका छन् । अस्पतालमा संक्रमित संख्या घटिहालेको नभए पनि पहिलेजस्तो हाउगुजी गरिहाल्नुपर्ने स्थिति भने नरहेको चिकित्सक बताउँछन् । खोप लगाएका मानिसले परीक्षण नै नगरी समाजमा घुलमिल भइदिँदा उनीहरूलाई समस्या नपरे पनि सार्ने सम्भावना धेरै रहने लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए ।

यस्ता लक्षण भएकाले अनिवार्य जाँच गराई आइसोलेटेड हुनुपर्ने उनको भनाइ छ । चाडबाडका बेला आफन्तजनसँगको जमघटमा रमाएकाले मास्क र दूरी कायम नगर्ने परिपाटीले पुनः संक्रमण बढ्ने संकेत देखिएको उनले बताए । ‘तथ्यांक स्थिर रहेकाले मानिस निष्फिक्री बिनास्वास्थ्य मापदण्ड हिँडिरहेका छन्,’ उनले भने, ‘यसले वृद्धवृद्धा र कुनै अन्य रोग भएकाहरूलाई असर गर्न सक्छ ।’ नागरिकको लापरबाहीले नै संक्रमण बढ्ने वा घट्ने कुरा निश्चित हुने उनी बताउँछन् । अहिले नयाँ भेरियन्ट आइनसकेको भए पनि विश्वमा फैलिएको महामारी भएकाले कतिबेला यो बढ्छ र फैलन्छ भन्ने थाहा नहुने र यसले केही हानि गर्दैन भनेर ढुक्क हुने अवस्था नरहेको थापाले बताए । 

गम्भीर बिरामी घट्दै

दाङको घोराही–३ की लक्ष्मी चौधरी एक सातासम्म बिरामी परिन् । रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्याबाट पीडित चौधरीले यसलाई मौसमी ज्वरोका रूपमा लिइन् । कोरोना जाँच गराइनन् । विस्तारै उनलाई ठीक भयो । दंगीशरण–२ का लालबहादुर नेपाली पनि लामो समय बिरामी परे । उनले शंका लागेर कोरोना जाँच गराए तर रिपोर्ट नेगेटिभ आयो । ‘लक्षण उस्तै भए पनि कोरोना देखिएन तर एक साता बिरामी परियो,’ उनले भने, ‘गाउँमा यस्ता बिरामी धेरै छन् । कोरोना जाँच त कसैले पनि गर्दैनन् ।’ मानिसहरू बिरामी परे पनि यसलाई गम्भीर रूपमा लिन छाडिएको छ । 

कोरोना विशेष अस्पतालमा पनि बिरामीहरू घट्दै गएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । ‘अहिले अस्पतालमा दुई जना मात्रै बिरामी छन् । दिनदिनै बिरामी घट्दै गएका छन्,’ उनले भने, ‘कोरोनाका बिरामी घट्दै गएका छन् । खोप लगाएका कारण पनि यसको असर कम देखिएको छ ।’ कुनै बेला दैनिक सयौं बिरामी हुने अस्पताल अहिले खालीखाली भएको वलीले बताए । मानिसहरूमा लापरबाही बढे पनि कोरोनाका बिरामीको संख्या घट्दो क्रममा नै रहेको उनले बताए । ‘पहिले जस्तो मानिसहरूमा डर त्रास छैन । बजारमा भीडभाड बढेको छ । स्वास्थ्य सुरक्षा मापदण्डमा लापरबाही छ,’ उनले भने, ‘पहिलेजस्तो गम्भीर समस्या भने देखिएका छैनन् ।’ 

अहिले कोरोनाका बिरामीका लागि आवश्यक सबै संरचना तयार भए पनि बिरामीको संख्या भने घटिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘अहिले अस्पतालमा बालबालिकाका लागि एनआईसीयू बेडसमेत तयार छन् । अक्सिजन प्लान्टहरू जडान भएका छन्,’ उनले भने, ‘कोरोनाका बिरामी भने घट्दै गएका छन् । अहिले गम्भीर समस्या छैन ।’

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या तीनमात्रै रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए । ‘बिहीबार कोरोनाका बिरामीको संख्या शून्य थियो । शुक्रबार तीन जना बिरामी देखिएका छन्,’ उनले भने, ‘बिरामी भएर समस्या भएपछि जाँच गर्न आइहाल्छन् । अहिले त्यस्तो समस्या देखिँदैन ।’ गाउँगाउँमा बिरामी भएको सुनिए पनि जाँच गर्दा कोरोना पोजिटिभ देखिने संख्या निकै कम रहेको उनले बताए । ‘जाँच गरेकामध्ये पनि कोरोना पोजिटिभ संख्या कम नै छ,’ उनले भने, ‘त्यसकारण कोरोनाको प्रकोप नै भएजस्तो देखिँदैन ।’

कोरोना खोपकोरोना भाइरस

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully