कोभिडको खोपले बेलायतमा संक्रमण र मृत्युदर घट्दै गएको वैज्ञानिकहरुको विश्‍वास

एजेन्सीहरु

लन्डन — बेलायतमा कोरोना भाइरसको संक्रमण नघटे पनि ओरोलो लाग्दै गरेको तथ्यांकले देखाएका छन् । निकै संक्रामक मानिएको डेल्टा भाइरस कोरोनाविरुद्धको खोप र स्वास्थ्यका मापदण्ड अपनाएमा कम हुने वैज्ञानिक तथा चिकित्सकले विश्वास व्यक्त गरेका छन् ।

कोभिडको खोपले बेलायतमा संक्रमण र मृत्युदर घट्दै गएको वैज्ञानिकहरुको विश्‍वास

बेलायतमा बुधबार २९ हजार ६१२ जना कोरोनाका नयाँ संक्रमित थपिए भने १०४ जनाको मृत्यु भएको थियो । सात दिनमा १ लाख ९७ हजार ३४७ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए ।

बेलायतमा डेल्टा भेरियन्ट अरु पश्चिमा देशहरुभन्दा अगाडि देखिएको थियो । अमेरिका लगायत अरु देशको तुलनामा भने बेलायतका धेरै नागरिकले कोरोना विरुद्धको खोप पाएका छन् ।

पहिलो र दोस्रो डोज खोप पाएका बेलायती वयस्कमा ९० देखि ९४ प्रतिशत रोगसँग लड्ने क्षमता विकास भएको रगतको नमुना परीक्षण गर्दा भेटिएको छ । खोप कार्यक्रमले अस्पतालमा भर्ना हुने बिरामी तथा मृत्यु हुने सम्भावना कम गरेको छ । साथै विद्यालय बिदा, गर्मी मौसम तथा अरु कारकहरुले पनि संक्रमणलाई पछाडि धकेलेका छन् ।

अस्पताल भर्ना हुनेको संख्या घट्दै

डेल्टा भेरियन्ट देखिएपछि संक्रमणमा पनि वृद्धि आएको थियो । कोरोनाको यो भेरियन्ट सबैभन्दा बढी संक्रामक मानिएको छ जुन मानिसमा छिटो सर्ने गर्दछ । अहिले भने अस्पतालमा बिरामी भर्ना हुनेको संख्या पनि ओरोलो लाग्दै गरेको देखिन्छ । जनवरीमा दैनिक ४ हजार २०० जना बिरामी भर्ना हुने गरेकामा जुलाईमा दैनिक ९०० मा झरेको थियो । अहिले पछिल्लो तथ्यांक हेर्ने हो भने ७६० जना भर्ना हुनेको संख्या देखिन्छ । त्यसैगरी जनवरीमा दैनिक १२०० मृत्यु हुने गरेकोमा हाल ९० जनाको हाराहारीमा मृत्यु भइरहेको छ ।

बेलायतका लगभग ९० प्रतिशत ज्येष्ठ नागरिकहरुले खोपको पहिलो डोज लगाइसकेका छन् भने ७५ प्रतिशतले दुवै मात्राको खोप पाएका छन् । त्यसैगरी ८९ प्रतिशत वयस्कले पहिलो डोजको खोप पाएका छन् भने ७५ प्रतिशतले दोस्रो डोजको खोप पाइसकेको अवस्था छ ।

मृत्युदर पनि घट्यो

युनिभर्सिटी अफ क्याम्ब्रिजको मेडिकल रिसर्च काउन्सिल बायोस्ट्याटिस्टिक्स युनिटका वैज्ञानिकहरुको अनुसार बेलायतमा संक्रमणबाट मृत्यु हुने दर पनि घट्दो देखिन्छ । जस्तै जनवरीमा मृत्यु दर १.८६ प्रतिशत पुगेकोमा अहिले ०.१४ प्रतिशतमा झरेको छ । त्यसैगरी ७५ वर्षमाथिका ज्येष्ठ नागरिक जो सिकिस्त हुने जोखिममा हुन्छन् उनीहरुमा पनि मृत्यु हुने दर २० प्रतिशत नजिक पुगेकोमा २.३ प्रतिशतमा ओरालो लागेको तथ्यांकले देखाएका छन् ।

अहिलेको अवस्थामा हेर्दाखेरी १८ देखि ३४ वर्ष उमेर समूहका व्यक्तिहरु अस्पताल भर्ना हुने क्रम बढेको देखिन्छ । जनवरीमा ५ प्रतिशतले यी उमेर समूहका व्यक्तिहरु भर्ना हुने गरेकोमा हाल राष्ट्रिय सेवाको तथ्यांकका अनुसार अगस्टको पहिलो साताको तथ्यांकले २१ प्रतिशतले भर्ना हुने बढेको देखाएको छ ।

डेल्टा एकदमै संक्रामक मानिए पनि ज्येष्ठ नागरिकमा जस्तै जोखिम युवाहरुमा पनि हुने भनेर प्रमाण नभएको वैज्ञानिकहरुको भनाइ छ । त्यसो भए युवाहरु अहिले किन बढी संक्रमित हुन पुगिरहेका छन् त ? किनकी ज्येष्ठ नागरिकहलाई खोपको पहिलो प्राथमिकता राखियो ताकि गम्भीर लक्षण तथा मृत्युबाट बचाउन सकियोस् । साथै युवाहरु अलि बढी सामाजसँग घुलमिल हुनाले पनि संक्रमणको घेरामा पर्न सक्छन् ।

युनिभर्सिटी अफ लेस्टरमा फिजिसियन तथा प्राइमरी केयर डिजिज एन्ड भास्कुलर मेडिसिनका प्रोफेसर डा. कमलेश खुन्तीका अनुसार अहिले भर्ना भइरहेका बिरामी युवाहरु छन् र निको पनि भइरहेका छन् । ‘कोभिडबाहेक अरु कारणले बिरामी भर्ना भएकोमा उनीहरुलाई पनि पोजेटिभ देखिएको छ,’ उनले भने ।

प्रकाशित : श्रावण २८, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?